काठमाडौँ । मुलुकको राजनीति गर्मागर्मी हुँदै जाँदा नेपाली काँग्रेसका सभापति गगन थापाले सोमबार एक फेसबुक स्टाटस लेखेर भने, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’ तर गगनको यो स्टाटसको प्रमुख कारण र उदेश्य के थियो ? भन्ने प्रष्टता तत्काल हुन सकेन । यद्यपि अघिल्लो दिन प्रधानमन्त्री बालने शाहले पनि एक स्टाटस लेखेकाले गगनको संकेत सरकारतर्फनै थियो भन्ने अनुमान गरियो । गगनको स्टाटस अघि बालेनले फेसबुकमै भनेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’ अहिले यी दोहोरीपूर्ण स्टाटसको रहस्य विस्तारै खुल्दै गएको छ । गगन थापाले मंगलबार गुण्डुमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल अघि बढाउनु र उही दिन प्रहरी हिरासतमा रहेका इनम सापकोटाले गगन थापालाई नै पोल्नेगरी दिएको वयानले स्टाटसको रहस्य खुलासा गरेको छ ।
इनमले वयानमा काँग्रेसको आधिकारिकता आफ्नो पक्षमा फैसला गराउन १८ करोड बुझाएको भनेर वयान दिएपछि गगन झस्किएका छन् । यो प्रकरणले कसैले तर्साउने प्रयास गरेपनि तर्सने बानी नपरेको भनेका गगनमाथि थप गम्भीर आशंकाको तीर सोझिएकोे छ ।
ओलीसँग भेट अझै रहस्यमा !
एकाएक गुण्डु पुरेर गगनले ओलीसँग के–के विषयमा छलफल गरे ? भन्ने विषयको प्रमुख रहस्य अझै खुलेको छैन । किनकी बाहिरी रुपमा ओलीसँग मधेश प्रदेश सरकार गठन र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको दावी गरिएको छ । तर ओली–गगनबीचको छलफल यतिमा मात्रै सिमित रहेकामा विश्वस्त हुनसक्ने आधार छैनन् । किनकी अन्य प्रदेशमा ओली र गगनबीच राजनीतिक समझदारी नभएकै कारण गठबन्धन टुटेको अवस्था छ । यस्तो अवस्थामा एकाएक संवादमा पुगेका गगनले ओलीसँग केवल प्रदेश सरकार गठनको विषयमा मात्रै छलफल गरे भन्ने दावी स्वीकार्न सकिँदैन । यो कारण पनि ओली–गगन संवादको थप रहस्य अझै खुल्न सकेको छैन ।
गगनले बिगारे इमेज !
गगन थापालाई नेपाली राजनीतिमा वैकल्पिक नेतृत्वको रुपमा लिइन्छ । पुराना दल र आफ्नै नेताको पछि नलागी काँग्रेसमै विद्रोह गरेर नयाँ धार निर्माण गरेका कारण पनि उनको वैकल्पिक राजनीतिको दाबेदारी बलियो बनेको थियो । तर पछिल्लो पटक उनले सरकारसँग थालेको सिगौँरी र राजनीतिक रुपमा बदनामी भिरेका ओलीसँगै साँठगाठ गर्न थालेपछि गगनप्रतिको जनताको धारणा पनि बदलिने अवस्था आएको छ । किनकी जेनजी आन्दोलनपछि गगनले ओलीप्रति खासै सहनुभूति राखेका थिएनन् । निर्वाचन अघि पार्टीमै विद्रोह गरेका गगनले पुराना राजनीतिक दलहरुको कार्यशैली भन्दा फरक धार निर्माण गर्ने उद्घोष गरेका थिए । तर पछिल्लो राजनीतिक गतिविधिमा गगन आफ्नो अडानमा स्थिरता देखएका छैनन् । हिजोका विवादित र आलोचित पात्र ओलीसँगकै राजनीतिक हिमचिमका कारण गगन आज थप आलोचित बन्ने स्थितिमा पुगेका छन् । यो घटनाले उनको सभापति पदसमेत धरापमा पुगेको छ ।
इनम प्रकरणमा काँग्रेसको काउण्टर
सरकारले गगनलाई निशाना र इनमको वयानले झस्काई रहँदा काँग्रेस भने त्यसको काउन्टरमा लागेको छ । इनमको वयानको प्रकरणममा बोल्दै काँग्रेस महामन्त्री डिला संग्रौलाले सत्ताको दुरुपयोग भएको आरोप लगाएकी छन् । फेसबुक स्टाटस लेख्दै उनले उक्त वयान सत्ताको दुरुपयोग भएको घामजस्तै छर्लङ्ग टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् ? भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन, छाडातन्त्र हाबी भएका उदाहरणहरू देखिन थालेका छन् । हेक्का रहोस् लोकतन्त्रको सतत पहरेदार नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको छ, तर सत्ताले गरेका गल्तीहरूको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ ।’
काँग्रेसले प्रहरी हिरासतमा रहेका इनमको मोबाइल फोनलाई फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएको विषयमा पनि छानविन गर्नुपर्ने माग राखेको छ । सरकारमाथि उठेको प्रश्नका विषयको जवाफ सत्ता पक्षले दिनुपर्ने कि प्रतिपक्षले दिनुपर्ने ? भन्दै काँग्रेसले प्रश्नसमेत उठाएको छ । यी सबै प्रकरणले अहिले काँग्रेस र सरकारबीच गम्भीर दरारता देखाएको छ । इनमको वयान प्रकरणलाई लिएर सरकारले तर्साउँदैमा नतर्सिने टिप्पणी गरेका गगनसमेत अहिले गम्भीर नैतिक संकटले घेरिएका छन् । यो विवादको गाम्भिर्यता अब कहाँसम्म पुग्ने र कसरी सामान्यीकरण हुने भन्ने विषयमा अहिले नै केही भन्न सकिने अवस्था छैन ।


