News 24 Television
रवि र गगनलाई बालेनको क्षेप्यास्त्र प्रहार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको एउटा तीरले दुई निशाना बनाएको छ । एकातिर आफ्नै पार्टीका सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापा !

हिजोसम्म देश बनाउने दाबी गर्ने बालेन आखिर किन ओर्लिए देश जोगाउने विन्दुमा ? के बालुवाटार र पार्टी मुख्यालयबीचको शीतयुद्ध अब वारपारको लडाइँमा परिणत भएकै हो ? 

बिहीबार राति १० बज्नै लाग्दा सामाजिक सञ्जालमा आएको प्रधानमन्त्री बालेनको स्टाटस सामान्य आक्रोश मात्र थिएन । यो थियो योजनाबद्ध राजनीतिक क्षेप्यास्त्र । प्रधानमन्त्रीले लेखे तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन् । 

फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ । यो स्टाटस सार्वजनिक हुनासाथ राजनीतिक वृत्तमा प्रश्न उठ्यो, आखिर कसलाई लंकार्दैछन् प्रधानमन्त्री ?

पहिलो निशाना कांग्रेस सभापति गगन थापा 

पछिल्लो एक सातादेखि गगन थापाको इनम सापकोटासँग कनेक्सन रहेको चर्चा र आरोप लागिरहेको छ । कांग्रेसको आरोप छ–यो षड्यन्त्रको तानाबाना बालुवाटारबाटै बुनियो । यस विषयमा प्रहरीले गगन थापालाई पक्राउ गर्दै भन्ने हल्ला बाहिरिएपछि कांग्रेसमा हलचल मच्चियो । 

केपि ओलीको मुख समेत हेर्दिन भन्ने थापा बुधबार साँझ ओली निवासमै भेट्न पुगे । विहिबार  दिनभर कांग्रेस कार्यकर्ता सडक र सामाजिक सञ्जालमा सरकारविरुद्ध खनिँदा बालेनले गगनलाई संकेत गर्दै कटाक्ष गरे कार्यकर्ता लड्ने नेता हाँस्ने, अर्थात् देशको चिन्ता होइन, पार्टी जोगाउने खेलमा मात्र सीमित भए गगन थापा । तर बालेनको प्रहार बाहिर मात्रै होइन आफ्नै घरभित्र अझ निर्मम देखियो । दोस्रो र मुख्य निशानामा परे आफ्नै पार्टी रास्वपाका सभापति रवि लामिछाने । 

आईजीपी दानबहादुर कार्कीलाई हटाउने बालुवाटारको एकलौटी निर्णयपछि सत्ता र दलबीचको दरार सडकमा छताछुल्ल भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीकै सुझावमा आईजीपी हटाइएको दाबी गरे । 

तर लगत्तै चितवन पुगेर पार्टी सभापति रवि लामिछानेले प्रतिवादपूर्ण अभिव्यक्ति दिदै भने आईजीपी हटाउनुको पुष्टि सरकारले गर्ला । अब यो पनि सुन्नुहोस । 

यस्तै रास्वपा प्रवक्ता जगदीश खरेलले त झन् निर्णयबारे पार्टीमा कुनै छलफन नै नभएको पनि बताए । उनले कुनै व्यक्ति राख र हटाउ भनेर पार्टिले भनेको छैन र यस विषयमा पार्टिमा कुनै छलफल नभएको उनको भनाइ छ । 
सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको अभिव्यक्तिको ठीक उल्टो जवाफ आयो । 

रवि–बालेनबीचको यो दूरी आजको होइन । यही टकराबका कारण १७ दिनसम्म मन्त्रिपरिषद् बैठक बस्न सकेन । प्रधानमन्त्री बालेन चार घण्टा लामो गफका लागि केहि दिन अगाडि रविकै निवास पुगेका थिए । 

त्यति मात्र होइन, सञ्चारगृहमा प्रहरी पसेर पत्रकार आतंकित पार्दा पार्टीले विरोध ग¥यो भने प्रधानमन्त्री सचिवालय र प्रहरीबीच दोषारोपणको नाटक मञ्चन भयो । 

प्रधानमन्त्रीको सचिवालय भन्छ हामीलाई थाहा छैन, प्रहरी भन्छ बालुवाटारकै निर्देशन हो । आफ्नै गृहतन्त्रमाथिको यो अविश्वास र पार्टी सभापतिको असहयोगले आजित बालेनले रविलाई लक्षित गर्दै व्यंग्य हाने, हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन । 

बालेनले भने जस्तै पार्टि भित्र आन्तरिक विवाद रहेपनि देश बनाउनेमा जनता अझै आशावादि रहेका छन् । हिजो देश बनाउने सपना बाँडेका बालेन आज देश जोगाउने रक्षात्मक रणनीतिमा पुग्नुले के संकेत गर्छ ?

के प्रधानमन्त्री चौतर्फी घेराबन्दीमा छन ? आफ्नै दलभित्र अविश्वासको भुमरी, सुरक्षा संयन्त्रमाथि संशय र प्रतिपक्षसँग शत्रुतापूर्ण सम्बन्ध बालुवाटारको यो फेसबुकिया आक्रोश सत्ताको मजबुति हो कि पतनको पूर्वसंकेत ? 

सिंहदरबारको कुर्सीबाट सुरु भएको यो लडाइँले देश जोगाउँछ कि सरकार नै सिध्याउँछ, त्यो भने समयले बताउने छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update