News 24 Television
कांग्रेसको घरझगडामा विचौलियाको प्रवेश ! तनावमा गगन

काठमाडौं । गत वर्षको जेनजी आन्दोलनपछि पार्टीको विशेष महाधिवेशन गराएर पार्टी नेतृत्व हत्याएका गगन थापा पार्टीको नियमित १५ औं महाधिवेशनबाट पार्टी सभापति छन् । निर्वाचन आयोगदेखि अदालतबाट समेत वैधानिकता पाएर गएको संसदीय निर्वाचनमा भाग लिएको कांग्रेस यतिबेला गम्भीर विवादमा मुछिएको छ । यो विषय मंसिर २१ मा छुट्टै महाधिवेशनको तयारी गरेका इतर पक्षका लागि झनै ठूलो मसला बनेको छ । 

विशेष महाधिवेशनबाट नियमित महाधिवेशन हुँदै नेपाली कांग्रेसको नेतृत्वमा रहेका गगन थापा यतिबेला ठूलो विवादमा मुछिएका छन् । तत्कालिन विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत मान्यता दिएको थियो । जसले गगन नेतृत्वलाई अस्वीकार गर्दै आएको इतर समूह निरिह भई गगनकै हातबाट टिकट लिएर निर्वाचनमा होमिएका थिए । परिणाम कांग्रेसको पोल्टामा आएन । 

निर्वाचनको परिणामपछि विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको समूहले पुनः सर्वोच्चमा पुनरावेदन गर्यो । तर विवादकाबीच संस्थापन समूहले पार्टीको नियमित १५ औं महाधिवेशन गर्यो । नियमित महाधिवेशनसमेत बहिष्कार गर्दै छुट्टै महाधिवेशनमा होमिएको इतर समूह भने मंसिर २१ देखि २३ गते काठमाडौंमा नै १५ औं महाधिवेशन गर्ने तयारीमा छन् । महाधिवेशन प्रक्रिया अन्तर्गत वडा, क्षेत्रीय हुँदै जिल्ला अधिवेशनसमेत गरिसकेको शेरबहादुर देउवा समूह महाधिवेशनको सन्निकटमा छ । 

पार्टीको बैधानिकताका विषयलाई लिएर सर्वोच्च पुगेको देउवा समूहले जसरी संस्थापनले पाएको बैधानिकतामाथि प्रश्न उठाएको थियो, त्यसरी यतिबेला विचौलिया प्रकरण छताछुल्ल भएको छ । जसले कांग्रेस सभापति गगन थापाको निद हराम गरिदिएको छ । पार्टीको बैधानिकताको लागि न्यायाधीसलाई सेटिङ मिलाएर १८ करोड दिएको भनी विचौलिया इनम सापकोटाको अडियो बाहिरिएपछि कांग्रेस संस्थापन समूह झमेलामा फसेको छ । 

पार्टीको बैधानिकताको लागि आर्थिक चलखेल गरेको अडियो सार्वजनिक हुनुलाई कांग्रेसले सरकारबाट प्रायोजित भनेको छ । बुधबार आकस्मिक पत्रकार सम्मेलन गरि कांग्रेस बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापतिमाथि लागेको आरोपको अस्वीकार गरेका छन् । 

कांग्रेसमाथि लागेको आरोप अस्वीकार गर्दै शर्माले पछिल्लो समय आमसञ्चार माध्याममा भएको हस्तक्षेपदेखि पत्रकारमाथिको धरपकडको श्रृंखला पनि यसैको कडिको प्रस्तुत गरेका थिए । 

पार्टीको वैधानिकतामाथि उठेका प्रश्नहरुको कांग्रेस नेताहरुले सामाजिक सञ्जालबाटै प्रतिवाद गर्ने गर्ने कतिपय नेताहरु साइबर अपराधमा मुछिने संकेत देखिएको छ । विहीबार मात्रै कांग्रेस सहमहामन्त्री अजयबाबु शिबाकोटीलाई साइबर ब्यूरोले बोलाएको थियो ।  

भिडियो सन्देशमार्फत गगनको प्रष्टीकरण 

सर्वोच्चका न्यायाधीसदेखि राजनीतिक दलका नेताहरुको विचौलियाहरुसँगको साँठगाँठको अनुसन्धान जारी नै छ । अन्तिम निरुपण हुन बाँकी रहे पनि कांग्रेसको आधिकरिताको लागि चलखेल गरिएको विषयले आफ्नै पार्टीका १४ औं महाधिवेशन पक्षधरलाई मसला बनेको छ । त्यसैले पार्टीको आधिकारिकताको लडाईमा कुनै आर्थिक चलखेल नभएको पार्टी सभापति थापाले भिडियो सन्देश मार्फत प्रष्टीकरण दिएका छन् । 

उनले राम्रो अनुसन्धान गर्न पनि चुनौति दिएका छन् । गगनले राम्रो अनुसन्धान होस् भन्ने आफूले चाहेको भन्दै अनुसन्धानले दूधको दूध पानीको पानी छुट्टिने बताएका छन् । आफू निश्पक्ष अनुसन्धानको प्रतिक्षामा रहेको थापाको भनाई छ । 

पार्टीको आधिकारिकताका लागि आर्थिक चलखेल गरेको अडियो सार्वजनिक भएकैबेला बुधबार मात्रै कांग्र्स सभापति थापा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु पुगेका थिए । 

जेनजी आन्दोलनपछि आफ्नै प्रतिवद्धता विपरित ओली निवास गुण्डु पुगेको भनेर पनि थापाको आालोचना सामाजिक सञ्जालमा निकै भइरहेका छ । उनको सामाजिक सञ्जालबाट चर्को आलोचना भएपछि ओलीसँगको भेटबारे पनि भिडियो सन्देशबाट प्रष्टयान चाहेका छन् । 

कांग्र्स सभापति थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको प्रस्ट पारेका छन् । उनले आफ्नो हातमा दाग नभएको र मनमा कुनै कालो नभएको बताइरहँदा आफ्नै पार्टीका पूर्ववत सहकर्मीहरु नै यो कुरा मान्न तयार छैनन् । 

संस्थापन पक्षले गरेको १५ औं महाधिवेशन बहिष्कार गरि छुट्टै महाधिवेशन गर्न लागिरहेको इतर समूह नै संस्थापनको पार्टी वैधानिकताको विषय झनै बढी उछाल्ने निश्चित छ ।

 यसको बाछिटा शुरु भइसकेको छ । तर यसको अन्तिम न्याय निरुपण कसरी हुन्छ त्यो भने सबैको चासो र प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update