News 24 Television
दिपक समीरको कथा ‘आहत उजेलीहरू’ नयाँ शैलीमा मञ्चन हुँदै

काठमाडौँ । सञ्चारकर्मी तथा साहित्यकार दिपक समीरको कथा ‘आहत उजेलीहरू’ नयाँ शैलीमा मञ्चन हुने भएको छ । कथा वाचन, मौन अभिनय र प्रत्यक्ष संगीतको संयोजनमा यसलाई रंगमञ्चमा प्रस्तुत गर्न लागिएको हो ।

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा असोज १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रममा कथाकार समीर स्वयंले ‘आहत उजेलीहरू’ वाचन गर्नेछन् । कला निर्देशक सुमन सागरजंग केसीको नेतृत्वमा कलाकारहरूले कथाअनुसार मौन अभिनय प्रस्तुत गर्नेछन् ।

वाचन र अभिनयलाई थप प्रभावकारी बनाउन संगीतकर्मी विकल खड्काको नेतृत्वमा संगीत समूहले लाइभ संगीत प्रस्तुत गर्नेछ । कार्यक्रममा गायिका सुनिता कार्कीको स्वरमा गीतसमेत प्रस्तुत गरिनेछ ।

829724981_1622368099341853_4453651293663960936_n-1790854656.jpg
‘कथालय’ नाम दिइएको कार्यक्रम ब्रोडिजी ग्रुपको आयोजनामा हुन लागेको हो । पत्रकार विमल नेपालले संयोजन गरेको कार्यक्रमका सञ्चारकर्मी भोजबहादुर विश्वकर्मा सल्लाहकारका रूपमा छन् ।

‘आहत उजेलीहरू’ दिपक समीरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’मा समेटिएको कथा हो । कथाले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव र त्यसबाट सिर्जित सामाजिक तथा पारिवारिक अवस्थालाई विषय बनाएको कथाकार समीरले बताएका छन् ।

कथालाई नाटकका रूपमा मञ्चन गर्ने अभ्यास रहे पनि वाचन, मौन अभिनय र लाइभ संगीतलाई एकसाथ जोडेर प्रस्तुत गर्न लागिएको यो कार्यक्रम नेपाली रंगमञ्चमा फरक प्रयोगका रूपमा अघि सारिएको आयोजकको दाबी छ ।

825311167_1623766395790727_8597735778236355885_n-1790854644.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update