काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको टोली चीन भ्रमणमा जाने भएको छ। भारतमा मन्त्रीहरुको लर्कोपछि चीन झस्किएको देखिन्छ। तय भएको रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण अन्तिममा स्थगित भएदेखि नै चीनले रास्वपाका २० सांसदलाई लैजाने रणनीति लिएको देखिन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणमा राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद चीन भ्रमणमा जाने भएका छन् । रास्वपा महामन्त्री तथा सभापति रवि लामिछाने निकटका विपिन आचार्यको नेतृत्वमा २० सांसद चीन जाने भएका हुन्।
सांसदहरुको ग्रुपमा नै आचार्यले चीन जाने इच्छा भएकाहरुको नामावली संकलन गरिरहेको बताइन्छ । यस्तोमा आचार्यले नै अन्तिम टुंगो लगाउने गरि सांसदहरुको सूची तय गरिदैछ। रास्वपा सांसदहरु कात्तिक २९ गते चीन जाने र उनीहरु १० दिने भ्रमणपश्वात नेपाल फर्किने कार्यतालिका तय भएको बताइएको छ ।
अन्तिममा रोकिएको थियो रविको चीन भ्रमण
रास्वपा सभापति चीन भ्रमण जाने अन्तिम तयारीमा जुटेका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङसंग भेटवार्ताका निम्ति तानातान गर्दा गर्दै भोटेकोशी बाढी आयो, त्यसपछि रविको भ्रमण स्थगितप्राय बन्न पुग्यो। चिनियाँ पक्षले रविको भ्रमण गराउन चाहेपनि रविको व्यवस्तता अन्यत्रै देखिदा भ्रमण नभएको रास्वपाको तर्क छ । तर, चिनियाँहरुले सीसंगको भेट निश्चित नहुँदा भ्रमण रोकिन पुगेको बताइन्छ।
जे होस, भारतमा उच्च सम्मान पाएका रविले चीनमा पनि यस्तै खाले सत्कार चाहनु स्वभाविक थियो। जसअनुसार माहोल बन्दै गर्दा विथोलिएको माहोलकाबीच रविले भारतका विभिन्न धार्मिक स्थलको अवलोकन गरे। भारतीय संस्थापन पक्षलाई खुशी पार्ने गरि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अभिव्यक्ति दिनु र रविको भारतका विभिन्न क्षेत्रमा रहेका धार्मिक स्थलमा तीर्थाटन हुनुलाई समेत चासोका साथ हेरिएको छ। यद्यपी विपिन नेतृत्वको सांसदको टोलीले चीन भ्रमणपश्वात रविको चीन भ्रमणको गृहकार्य अघि बढ्न सक्ने दाबी गरिएको छ ।
भारत जानेको लर्को
पछिल्लो समय मन्त्रीहरु धमाधम भारत भ्रमण गरिरहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र गृहमन्त्री सुधन गुरुङजस्ता मन्त्रीहरुले भारत भ्रमण गरिसकेका छन् ।
सम्भवत प्रधानमन्त्री वालेन्द्र शाहले पनि छिट्टै भारत भ्रमण गर्नेछन्। दुबै देशले भ्रमणको आन्तरिक तयारी अन्तिम चरणमा पु¥याएपनि सार्वजनिक रुपमा भारत भ्रमणको विषयमा जानकारी भने दिइएको छैन्। यस्तोमा भारत जाने नेता तथा मन्त्रीको लर्को लाग्दा चीनमा शिशिर खनालबाहेकका मन्त्रीले भ्रमण गरेका छैनन्। यस्तोमा चीनले २० सांसदलाई बोलाएर चीन भ्रमण गराउने भएको हो ।
यसले अब नेपाली सत्ता राजनीतिमा दुबै देशले चासोपूर्वक अनेक प्रयासहरु गर्ने देखिन्छ। उसोतः यस्ता भ्रमणले दुबै देशको सम्बन्ध र पार्टी–पार्टीको सम्बन्ध समेत विस्तार हुने विश्वास गरिएको छ ।
यसअघि रास्वपाका सांसदहरुले चीन भ्रमण गर्दा गर्दै सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा पक्राउ पर्ने हुँदा भ्रमण छोट्याएर फर्किएका थिए। त्यसपछि यो भ्रमण नै ठूलो र भव्य हुने भनिएको छ ।
पार्टी–पार्टी सम्बन्ध विस्तार
चिनियाँ कम्युनिस्ट पार्टीले नेपालबाट वामपन्थी पार्टीलाई नै धेरै महत्व दिने गरेको आरोप लाग्ने गथ्र्यो। अहिले सत्तामा वामपन्थी दलहरुको प्रभाव घटेपछि निर्वाचनपछि ठूलो संख्यामा रास्वपा सांसदलाई आमन्त्रण गरेर सम्बन्ध विस्तारको प्रयास गरेको छ। चिनियाँहरु रास्वपासंग प्रष्ट जानकार नहुँदा समेत देखिएको उल्झन हल हुने कतिपयको विश्वास देखिन्छ।
अझं, चीन भ्रमणमा जाने सांसदहरुले चीनको विकास, उनीहरुका सांस्कृतिक सत्कारदेखि धेरै कुराहरुको अवलोकन गराएर पार्टी–पार्टी सम्बन्ध विस्तारको अभ्यास गरिनेछ। यता, रास्वपाले पनि चिनियाँ कम्युनिस्ट पार्टीसंसको सम्बन्ध र आपसी लाभबारे कसरी आफूलाई उभ्याउछ भन्ने विषयको चासो बढाइदिएको छ ।


