काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारमाथि महिला हिंसा र ब्ल्याकमेलिङको गम्भीर आरोप लागेपछि राजनीतिक वृत्तमा हलचल मच्चियो ।
सार्वजनिक भएको एक अडियोलाई आधार बनाएर पार्टीको अनुशासन आयोग छानबिनमै छ । सांसद सुनार भने प्रहरी प्रमुख माथि आफूले प्रश्न उठाएपछि आलोचित बनाउने कोसिस गरिएको दाबी गरिरहेका छन् । सुनवार र प्रहरी महानिरीक्षकबीचको पुरानो टकराव र छानवीन समितिले कसरी छानबिन गरिरहेको छ त ?
महिला हिंसाको आरोपमा पार्टीका केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारमाथि अनुसन्धान थालेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अनुशासन आयोगले अडियोको प्राविधिक परीक्षणलगायत थप तथ्य र प्रमाण खोज्ने काम गरिरहेको छ ।
आयोगले सुनारका सम्बन्धमा अनुसन्धान गर्नुपर्ने भनी पार्टीबाट पत्र आएपछि समिति गठन गरेको थियो । समितिले सुनारलाई पत्र पठाएर सार्वजनिक रूपमा उठेका प्रश्न र लागेका आरोपबारे स्पष्टिकरण सोधेको थियो ।
उक्त अडियो आफ्नो नभएको र आफूमाथि षडयन्त्र भएको इन्कारी बयान सुनारले समितिलाई दिएका छन् । प्रहरी प्रमुख माथि आफूले प्रश्न उठाएपछि आक्रमण गरिएको उनको तर्क छ ।
सार्वजनिक अडियोमा महिलालाई अश्लिल गाली गरि पैसा माग्नुका साथै मार्नेसम्मको धम्की दिइएको छ । सांसद सुनारले ती महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो र तस्बिर बनाएर ब्ल्याकमेल गरेको समेत अडियोमा सुनिन्छ ।
अडियो बाहिरिएपछि रास्वपाले सुनारलाई पार्टी केन्द्रीय सदस्य र सांसदको पदीय हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दियो । अनुशासनले आयोगले हरिश्चन्द्र भट्टराईको संयोजकत्वमा गठन गरेको छानबिन समितिमा रामचन्द्र कार्की, सुशीला सिम्खडा, सन्तोष आचार्य,सन्तोष विशुंके र उपेन्द्र नन्दन तिमिल्सिना सदस्य छन् ।
समितिले जनआस्थाबाट लिक भएको अडियोका साथै न्यूज २४ टेलभिजनले अडियोमा कुराकानी भएको भनिएकी महिलासँग गरेको कुराकानीको अडियो संकलन गरि छानबिन गरिरहेको छ । आहिले नै दोषी को हो भन्नेर छुटाउन सक्ने आधार तय भइनसकेको छानबिन समितिको भनाई छ । न्युज २४ मा पिडितले बोलेको कुरा होस्टायल भएको हो कि भन्ने आंशका छानवीन समितिले गरेको छ ।
सुनारको इन्कारी जवाफ आएपछि प्राविधिक परीक्षण गर्नुपर्ने बारेमा पनि समितिका सदस्यहरूबीच अनौपचारिक छलफल गरिरहेको समिति कात्तिक २२ सम्म प्रतिवेदन तयार गरि पार्टीलाई बुझाउने तयारीमा छ ।
भदौ २२ गते प्रतिनिधि सभाका बैठकमा बोल्दै सांसद सुनारले तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजामा कमिसन लिएको भन्दै आइजीपी कार्कीलाई बर्खास्त गर्न माग गरेका थिए । सार्वजनिक लेखा समितिको बैठकमा पनि सुनारले आइजीपीमाथि जथाभावी बोल्दै भ्रष्टाचारी करार गरेका थिए ।
कसरी शुरु भयो सुनार र आइजीपी कार्कीको टसल ?
गत कात्तिक ९ गते सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी गरेको थियो। खगेन्द्रसँगै अन्य तीन जना पनि मन्त्री बन्ने सूचीमा थिए।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सुनारको भागमा थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री गणपतिलाल श्रेष्ठको नाम सिफारिस भएको थियो।तर पछि गणपतिलाल श्रेष्ठले पर्यटन मन्त्रालय नपाए अन्य मन्त्री नबन्ने भनेपछि उनको नाम हटाईएको थियो । त्यतिबेला गैरआवसीय नेपालीको नामसमेत मन्त्रीका लागि सिफरिस भएको थियो । जो विदेशमा कालोसूचमा परेको जानकारी प्रहरीले सरकारलाई दियो ।
मन्त्रीको लिष्टबाट त्यो नाम पनि काटिएको थियो । त्यसपछि भने प्रहरीले दिने सूचनालाई प्रधानमन्त्री कार्यालयले गम्भीरताका साथ लिन थाल्यो । हालका प्रहरी महानिरक्षक दानबहादुर कार्की तत्कालीन अवस्थामा काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा एआइजीका रुपमा कमाण्ड सम्हालेका थिए ।
प्रधानमन्त्री कार्यालयले मन्त्री हुने व्यक्तिको पृष्ठभूमिबारे कार्कीलाई नै सोधिएको थियो । प्रहरी हेडक्वार्टरको क्रिमिनल रेकर्ड सिस्टम सीआरएसमा खगेन्द्र सुनारको तीन जिल्लामा मुद्दा रहेको देखियो । काभ्रे र सुर्खेतबाट पक्राउ पुर्जी समेत जारी भएको देखियो ।
खगेन्द्रको आपराधिक रेकड सबै आईजीपी कार्कीले नै प्रधानमन्त्री सचिवालयमा पठाईदिएका थिए । त्यहीबेला खगेन्द्रको काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबारसम्बन्धी मुद्दामा समेत बयान चलिरहेको थियो ।
जसका कारण सुशीलाको अन्तरिम सरकारमा मन्त्रीको लिष्टबाट हटाइए । खगेन्द्रले आईजीपी कार्कीकै कारण आफ्नो मन्त्री पद गुमेको अभिब्यक्ति नै दिएका थिए । तर फागुन २१ को निर्वाचनमा भने रास्वपाबाट टिकट लिएर खगेन्द्र बाँके क्षेत्र नम्बर ३ निर्वाचित भए । आफूलाई दलित अभियन्ता बताउने खगेन्द्रको राजनीतिक यात्रा शुरु भयो ।
प्रहरी विद्यालयमा छोरालाई निःशुल्क पढाउन पाएनन्
गत बर्षको चैतमा खगेन्द्र सुनवारले सुर्खेतस्थित प्रहरी विद्यालयमा ५ कक्षामा अध्ययनरत छोरालाई निःशुल्क पढाउन प्रहरीलाई भनेका थिए । तर प्रहरी महानिरीक्षक कार्कीले सांसद भएकै हैसियतमा उनका छोरालाई निःशुल्क पढाउन नसकिने जवाफ दिए ।
आईजीपी कार्कीले वडाबाट विपन्नको कागजपत्र बनाएर ल्याउन समेत भनेका थिए । खगेन्द्रले त्यो जुटाउन सकेनन्। अहिले खगेन्द्रका छोरा सुर्खेतको प्रहरी स्कुलमा शुल्क तिरेर पढिरहेका छन् ।
खगेन्द्रको अभिब्यक्तिले चिढियो प्रहरी संगठन
गत वैशाखमा जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा एक दलित युवकको मृत्यु भएपछि धर्ना दिन पुगेका खगेन्द्रको अभिव्यक्तिले सिंगो प्रहरी संगठन चिढियो । त्यो अभिव्यक्तिपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी समेत गरेको थियो । माथिल्लो निकायले सांसद भएका सुनारलाई पक्राउ गर्ने निर्देशन समेत दियो । तर, सांसद भएका व्यक्तिलाई प्रतिनिधिसभामा जानकारी नदिई पक्रन तल्लो तहका प्रहरीले हिम्मत गरेनन् ।
यसले सुनार र कार्कीबीचको व्यक्तिगत इगोजस्तो देखिन्छ । सार्वजनिक लेखासमितिमा सुनार र कार्कीबीचको आरोप–प्रत्यारोपले त्यसलाई बल समेत दिएको छ । तर गृहमन्त्री सुधन, प्रधानमन्त्रीका सल्लाहकार वेन र आइजीपी कार्कीबीच भएको छलफलले मिस अन्डरस्ट्यान्डिङ समेत हटेको थियो। त्यसको केही समय सुनार पनि कार्कीका बारेमा शान्त नै थिए । तर, उनले फेरि संसदमा कार्कीको चर्को आलोचना गरे ।
आईजीपी कार्की र रास्वपा सांसद सुनारबीचको खटपटले खगेन्द्र मात्र होइन, आइजीपी कार्कीको समेत संकट चुलिएको छ ।


