काठमाडौँ । देशकै सबैभन्दा घना आवादीयुक्त र ऐतिहासिक राजधानी शहर काठमाडौँ पछिल्लो समय अन्धाधुन्ध मानवीय अतिक्रमण, नदी किनारको कब्जा र अव्यवस्थित बसोबासका कारण गम्भीर वातावरणीय तथा शहरी संकटबाट गुज्रिरहेको छ । पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाको धनी यो शहरमा शहरी बाढी, डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण र पानीका स्रोत सुक्ने समस्या विकराल बन्दै गएका छन् । यही पृष्ठभूमिमा जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण र जलवायु उत्थानशील शहर निर्माणका लागि छलफल तथा सहकार्य गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाको आयोजनामा ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ सोमबारदेखि सुरु भएको छ ।
क्षति हुनुअघि नै सचेत बन्न अन्य शहरलाई आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अनियन्त्रित शहरीकरण, नदी अतिक्रमण र जलाधार विनाशले काठमाडौँले भोगिरहेको संकटबाट पाठ सिक्न देशभरका अन्य शहर तथा स्थानीय तहलाई आग्रह गरे । समस्या विकराल बनेपछि पछुताउनुभन्दा नदी, पोखरी, खुला क्षेत्र र पानीका मुहान सुरक्षित छँदै जोगाउन अहिल्यै कदम चाल्नुपर्नेमा उनले जोड दिए । काठमाडौँ महानगरपालिकाले पछिल्लो चार वर्षमा लोपोन्मुख ढुङ्गेधारा (हिटी) र राजकुलो पुनर्जीवनका लागि गरेको प्रयासको प्रशंसा गर्दै उनले यस्ता प्रणालीले भूमिगत जलस्रोत पुनर्भरण गर्न र शहरलाई शीतल राख्न सघाउने बताए । आगामी मनसुनअघि नै जोखिमयुक्त नदी क्षेत्रमा हस्तक्षेपकारी काम सुरु गर्ने, प्रकृतिमैत्री नदी व्यवस्थापन गर्ने र शहरी बाढीको पूर्वसूचना प्रणाली विकास गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।
बस्ती स्थानान्तरण र हाइड्रोको ‘मग’ व्यवस्थापन
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी किनार र नदी बेसिनमा रहेका बस्ती तथा भौतिक संरचना स्थानान्तरण गर्नु तीनै तहका सरकारको साझा जिम्मेवारी भएको बताए । भोटेकोशीको महाविपत्ति र भदौ १० गतेको बाढीको सन्दर्भ जोड्दै उनले त्रिशूली नदीमा रहेका सातवटा जलविद्युत् आयोजनाका सुरुङबाट निस्किएको ‘मग’ नदीमा थुप्रिँदा बाढीसँगै लेदो र कंक्रिट बगेर ठूलो क्षति पुगेको औँल्याए । अब परियोजनालाई स्वीकृति दिँदा नदीमा मग जम्मा नहुने र खोलानालाको बहाव क्षेत्र साँघुरो नहुने गरी वातावरणीय अध्ययन (ईआईए) तथा नियमन गर्नुपर्नेमा उनले जोड दिए । पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट कटौती गरेर करिब ५ अर्ब रुपैयाँको कोष तयार गरिरहेको जानकारीसमेत उनले दिए ।
जलवायु परिवर्तन : पृथ्वीकै साझा चुनौती
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तन काठमाडौँ वा नेपालको मात्र नभई सिंगो पृथ्वीकै साझा विषय भएको बताइन् । भौगोलिक सीमा, क्षेत्र वा लिङ्ग नछुट्याई हरेक पुस्ता र भूगोललाई प्रभावित पार्ने यो संकटबाट हिमाल पग्लिने, हिमताल फुट्ने र मौसमी चक्र बदलिने क्रम तीव्र भएको उनले उल्लेख गरिन् । यसको प्रत्यक्ष असर नदी, कृषि, जनजीवन र लाखौँ नागरिकको जीविकामा परेकाले सबैले साझा प्राथमिकताका साथ असर न्यूनीकरणमा जुट्नुपर्ने उनको भनाइ छ ।
काठमाडौँको दुर्दशाले अव्यवस्थित विकास र प्राकृतिक स्रोतको दोहनले निम्त्याउने दीर्घकालीन मूल्यलाई स्पष्ट पारेको छ । अन्य शहरले काठमाडौँकै बाटो पछ्याउनुको साटो खुला क्षेत्र, जलाधार र नदी प्रणाली जोगाउने नीति अहिल्यै कार्यान्वयन गर्नुपर्छ । साथै, जलवायु न्यायको माग अन्तर्राष्ट्रिय मञ्चमा राख्दै गर्दा आफ्नै देशभित्रको वातावरणीय सुशासन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिन सके मात्र सुरक्षित र बस्नयोग्य शहरको भविष्य सुनिश्चित गर्न सकिन्छ ।


