काठमाडौं । घरेलु क्रिकेटको मेरुदण्ड मानिने काठमाडौँको तल्लो र माथिल्लो मुलपानी मैदानसंग इतिहास जोडिएको छ । तल्लो मैदान २ दशकदेखि निर्माणाधिन भएपनि निर्माण सम्पन्न हुन सकेको छैन ।
माथिल्लो मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएपनि विस्तार र विकास हुन सकेको छैन । मंसिर ५ गते प्रधानमन्त्री बालेन्द्र शाहले कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय मैदान सहित अन्य रंगशाला निर्माणको घोषणा गरे । तर नेपाली क्रिकेटको इतिहस बोकेका मुलपानी मैदानको भविष्यबारे चिन्ता सुरु भएका छन् ।
नेपाली क्रिकेटको मेरुदण्ड मानिने काठमाडौँको मूलपानीस्थित तल्लो र माथिल्लो दुवै क्रिकेट रंगशाला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो प्राथमिकतामा पर्न सकेनन् । मंसिर ५ का दिन नेपाल प्रिमियर लिग सिजन ३ को विजेता टोली सुदुपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले देशभर ८ वटा रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए । तर एनपिएलका सबै ८ वटा फ्रेन्चाइज टोलीका लागि फ्लडलाइट सहितका आधुनिक रंगशाला निर्माण गर्ने सरकारको महत्वाकांक्षी घोषणामा मूलपानीका रंगशाला अटाउन सकेनन् ।
प्रधानमन्त्री शाहले एनपिएलको छैटौँ संस्करणसम्म आइपुग्दा प्रतियोगितालाई ‘होम एन्ड अवे’ ढाँचामा लैजाने लक्ष्यसहित देशभरका ८ वटा मैदानको स्तरोन्नति र निर्माण गर्ने योजना सार्वजनिक गर्नु निकै सर्हानीय थियो । तर, काठमाडौँ उपत्यकाबाट एकमात्र घरेलु मैदानका रूपमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान छनोट हुँदा वषौँदेखि निर्माणाधीन अवस्थामा रहेको मूलपानी रंगशाला भने सरकारको विशेष सूचीबाट किन बाहिरियो भन्ने चासो बढेको छ ।
क्यानका सचिव पारस खड्काले माथिल्लो मूलपानीमा आगामी संस्करणको एनपीएल खेलाउने गरी शिक्षामन्त्री सस्मित पोखरेल समक्ष लविङ गरेका छन् । एनपीएल लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टियू मैदानले धान्न नसक्ने भन्दै सचिव खड्काले माथिल्लो मूलपानीलाई जोड दिएका हून् ।
प्रधानमन्त्री शाहले काठमाडौँ गोर्खाजको घरेलु मैदानका रूपमा कीर्तिपुरलाई रोजेका छन् भने अन्य सात टोलीका लागि मोफसलका मैदानहरू छनोट गरेका छन् ।
जसअनुसार विराटनगर किङ्गसका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण र स्तरोन्नति गर्ने घोषणा गरिएको छ ।
मूलपानीमा जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान (माथिल्लो) र निर्माणाधीन तल्लो मूलपानी रंगशाला गरी दुईवटा ठूला संरचना छन् । करिब २० हजार दर्शक क्षमताको आधुनिक रंगशाला बनाउने गुरुयोजनासहित वर्षौँअघि सुरु गरिएको तल्लो मूलपानी रंगशाला बजेट अभाव र सरकारी उदासीनताका कारण अझै पूर्णता पाउन सकेको छैन ।
माथिल्लो मैदानमा नियमितजसो घरेलु तथा उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुँदै आए पनि रात्रिकालीन खेलका लागि आवश्यक फ्लडलाइट र आधुनिक पूर्वाधारको अभाव छ ।
खेलकुद पूर्वाधार विकासमा आक्रामक देखिएका प्रधानमन्त्री शाहको ८ रंगशाला बनाउने घोषणाले मोफसलको क्रिकेटमा उत्साह थपे पनि राजधानीकै वैकल्पिक अन्तर्राष्ट्रिय मैदान मानिएको मूलपानी ओझेलमा पर्नुलाई खेलप्रेमीहरूले चासोका साथ हेरेका छन् ।
एक सहर वा एक क्लबका लागि एक घरेलु मैदानको अवधारणाका कारण मूलपानी छुटेको सरकारी पक्षको तर्क रहे पनि वर्षौँदेखि अलपत्र तल्लो मूलपानी रंगशालाले कहिले पूर्णता पाउँछ भन्ने प्रश्न अझै अनुत्तरित छ ।


