News 24 Television
१० औँ खेलुकद–कर्णालीको गौरव !

नेपाली खेलकुद इतिहासमा एउटा स्वर्णिम अध्याय थपिएको छ । लामो प्रतीक्षा, अनेकौँ अन्योल र पटक–पटकको मिति हेरफेरपछि अन्ततः देशकै सबैभन्दा ठूलो खेलकुद महाकुम्भ अर्थात् ‘१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता’ मंगलबारबाट कर्णाली प्रदेशमा सुरु भएको छ । औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित कर्णाली प्रदेश रंगशालामा हुने तय भए पनि आजैबाट महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी जस्ता खेलका प्रतिस्पर्धाहरू सुरु भइसकेका छन् । हिजोसम्म ‘दुर्गम’ र ‘अभाव’को बिम्ब बनाइएको कर्णाली आज देशभरका हजारौँ खेलाडीलाई स्वागत गर्दै खेलकुदमय बनेको छ भने कर्णालीको गौरव र १० औँ राष्ट्रिय खेलकुदको उत्साहले सिंगो कर्णाली गौरभान्वित नहुने कुरै भएन । 

कर्णालीको बारे हिजोसम्म बाटो, बत्ती र भोकमरीका कथा मात्र लेखिन्थे, आज त्यही कर्णालीको आँगनमा राष्ट्रिय गौरवको उत्सव सुरु भएको छ । संघीयता कार्यान्वयनमा आएपछि कर्णाली प्रदेशले पहिलोपटक देशको बृहत् खेलकुद महोत्सव आयोजना गर्ने ऐतिहासिक अवसरको शुभारम्भले आफ्नो पहिचानमा ठुलो फट्को मारेको छ भन्दा फरक नपर्ला । चुनौती भने कायम नै छन् । 

१ अर्ब ५९ करोड रुपैयाँको लागतमा निर्माण भएको सुर्खेतको अत्याधुनिक प्रदेश रंगशाला प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छ । यो रंगशाला कर्णाली खेलकुदका लागि एउटा मुटु हो । राष्ट्रिय खेलकुदले सिंगो कर्णालीको मुहार नै फेरिदिएको छ । १० हजार दर्शक अट्ने क्षेमताको रंगशालामा अघिकांश खेल हुनेछन् । चार पटकसम्म मिति सरेर निराश बनेका खेलप्रेमी र खेलाडीहरूमा मंगलबारको सुरुवातले नयाँ ऊर्जा र उमंगको सञ्चार गरिदिएको छ ।

१० औँ खेलकुद प्रतियोगिता केवल पदकको लडाइँ मात्र होइन कर्णालीको भूगोल, संस्कृति र पर्यटनलाई विश्वसामु चिनाउने महाअभियान पनि हो । कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा केन्द्रित हुँदा बाँकी खेलहरू सल्यान, दैलेख, कालिकोट, जुम्ला, रुकुम पश्चिम र छिमेकी लुम्बिनी प्रदेशका नेपालगञ्ज तथा बर्दियामा सञ्चालन हुँनेछन् । जुम्लाको हाई–अल्टिच्युडमा हुने फुटबलको सेमिफाइनल र फाइनल होस् या कालिकोटको बुद्धिचाल, कर्णालीका डाँडाकाँडा आज खेलकुदको रङ्गमा रङ्गिएका छन् । 

सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३ सय ८४ इभेन्ट्समा १ हजार ३ सय ३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । कर्णाली अब गुनासो गर्ने होइन, अवसर सिर्जना गर्ने थलो बनेको छ । मंसिर २७ गतेसम्म चल्ने यो खेलकुदको महाकुम्भले कर्णालीमा खेल पूर्वाधारको जग मात्रै बसाल्ने छैन, सिङ्गो देशलाई एकताको सूत्रमा बाँध्ने सन्देशसमेत दिनेछ । अभावबाट उठेर गौरवको शिखर चुम्दै गरेको कर्णालीलाई १० औँ राष्ट्रिय खेलकुदको भव्य सफलताको शुभकामना ! 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update