News 24 Television
सुधन–सुनिलको वरीयता घट्दा सोविताको अर्थपूर्ण छलाङ, मन्त्रीको मानमर्दन कि शक्ति सन्तुलन ?

काठमाडौं । मन्त्रीहरुको वरियता हेरफेरपछि अनेक प्रश्नहरु तेर्सिएका छन्। प्रधानमन्त्रीको कार्यकारी अधिकारभित्र पर्ने विषय भएपनि हेरफेर गरिरहँदा मन्त्रीहरुको नैतिकता, कार्यसम्पादन र प्रतिष्ठामाथि आघात हुनसक्ने भन्दै चासोहरु बढेका हुन् ।  

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीहरुको वरियता हेरफेर गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको वरियता तलमाथि गरिएपछि केहि प्रश्नहरु उठेका छन्। जुन प्रश्नको जवाफ रास्वपाले प्रधानमन्त्रीको कार्यकारी अधिकारक्षेत्रको विषय भन्ने गरेको छ भने मन्त्रीहरुबीच भने नैतिकताको प्रश्न बन्न पुगेको छ ।

जसमा कानूनमन्त्री सोविता गौतम ७ औंबाट तेश्रो वरियतामा पुगेपछि यसबारेका प्रश्नहरु पेचिला बनेका छन् । रास्वपाको उपसभापति पदमा रहेकाले उनलाई माथि ल्याइएको दाबी गरिएपनि रास्वपामा केहि मनोनित पदमा वालेन्द्र शाहले दिनुपर्ने नाम दिएका छैनन्। यस्तोमा उनले दिने नाम नै नदिई मनोनयन रोकिएको बेला किन वरियता हेरफेर गर्ने स्थिति बन्यो ? यस्ता प्रश्नकाबीच प्रधानमन्त्रीले गरेको हेरफेरबारे अनेक चर्चाहरु पनि चल्न थालेका छन्। जसअनुसार सोविता गौतम तेस्रो, शिशिर खनाल चौथो र विराज भक्त श्रेष्ठ पाँचौँ स्थानमा पुगेका छन् । 

सुधन गुरुङ छैटौँ, सुनिल लम्साल सातौँ र महावीर पुन आठौँ स्थानमा रहेका छन् । बिहीबारसम्म वरीयतामा माथि रहेका गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि गौतमभन्दा तल परेका छन् । 

यसअघि तेस्रो वरीयतामा रहेका मन्त्री खनाल, चौथो वरीयतामा रहेका मन्त्री श्रेष्ठ, पाँचौँ वरीयताताका मन्त्री गुरुङ र छैटौँ  वरीयताका मन्त्री लम्सालको क्रमशः एक एक स्थान  घटुवा भएको हो । उसोतः केहिले पार्टीको वरियताअनुसार हेरफेर भएको समेत दाबी गरिरहेका छन् ।

मान मर्दनको प्रश्न

मन्त्रीहरुको वरियताक्रम यसअघि नेपाल सरकारका मुख्यसचिवको सहयोगमा निर्धारण गर्ने अभ्यास थियो। राजनीतिक सन्तुलनदेखि प्रधानमन्त्रीको तजबिजीमा गरिने भएपनि पटक–पटक वरियता हेरफेर गर्दै मन्त्रीहरुलाई डिमोरलाइज गर्ने कमै गरिन्छ ।

मन्त्रीहरुको वरियताक्रम हेरफेरले मन्त्रीहरुको नैतिक बल समेत कमजोर हुने स्थिति सिर्जना हुने गरि आधार कारण नै नदिई अघि बढ्दा कार्यसम्पादनमा समेत प्रभाव पर्ने विश्लेषण भइरहेको छ । 

प्रधानमन्त्रीले बर्खास्तसम्म गर्न सक्ने स्थिति भएपनि सामान्यतया एकल पार्टीको सरकारको नेतृत्व गरिरहेको बेला वरियताक्रमलाई अत्यन्तै ध्यानपूर्वक मिलाउनु पर्ने हुन्छ। तर, पार्टीको वरियता कि कार्यसम्पादन भन्ने कुरा खुल्न नसक्दा केहि प्रश्नहरु देखिन्छन् ।

यसअघि मन्त्री समेत भइसकेका महावीर पुनको वरियता अहिले ८ औं स्थानमा छ। यस्तो अवस्थामा वरियताक्रम निर्धारणको स्पष्ट आधार कारण नदेखिएका कारण पनि केहि प्रश्नहरु उठेको देखिन्छ । 

मनोनयन किन हुन सकेन ?

रास्वपाको प्रथम महाधिवेशनपछि रास्वपाको विधानतः केहि शीर्ष पदहरुमा मनोनयन बाँकी छ। उपसभापतिदेखि महामन्त्री हुँदै धेरै मनोनयन बाँकी रहेको बेला सुधन गुरुङ, सुनिल लम्साल जस्ता मन्त्रीहरुले विभिन्न पदमा मनोनयनको दाउ कुरिरहेको बेला मनोयन हुन नसक्नु र पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाहले मनोनयनका निम्ति दबाब नदिनुले पनि प्रश्नहरु जन्माएको छ ।

यस्तोमा किन प्रधानमन्त्री शाहले आफ्नो कोटाका नेताहरुलाई पार्टीको उपल्लो पदमा पठाउने चासो देखाएका छैनन ? के रवि एक्लैले मनोनयन रोकेका हुन्? चासो बढेपनि रविले नाम माग्दा वालेन्द्रले नै दिन ढिला गरेपछि रोकिएको मनोनयन पछिल्लो समय केहि नेताहरुको अदलीबदली चलिरहेको बताइन्छ । 

रविको पक्षमा रहेकाहरु वालेन्द्र र वालेन्द्रको पक्षमा रहेकाहरु रविको पक्षमा आउनेक्रम चलिरहेको छ। यसको पछिल्लो उदाहरण गृहमन्त्री सुधन गुरुङ समेत भएको चर्चा छ। गुरुङलाई तत्कालीन आइजीपी दानबहादुर कार्की हटाउदा मन्त्रिपरिषद्को बैठकमा मात्रै जानकारी पुगेको समेत दाबी गर्ने गरिन्छ । प्रहरीले गर्ने अधिकांश काम प्रधानमन्त्री कार्यालयबाटै हुने गरेको कारण पनि यस्ता अड्कलहरु बढ्न थालेका छन्। जसकारण पछिल्लो समय फेरिदै गएको रास्वपाको समिकरण पनि वरियता हेरफेरको कारण बनेको दाबी गर्ने गरिन्छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update