काठमाडौं । सरकारले विभिन्न स्थानबाट उठाएका सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको छ। सरकारले सुकुम्बासीलाई व्यवस्थापन नगरी होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि बढ्दै गएको चिसोमा उनीहरुले कसरी जीवन चलाउलान ? प्रश्नहरु उठेका छन्। मानव अधिकारका विषय समेत तिखो बन्न पुगेका छन् ।
काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाएपछि होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएका सुकुमवासीलाई सरकारले शनिवारसम्म सेन्टर छाड्न निर्देशन दिएको छ। बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र (बोडे)मा व्यवस्थापन गरिएका सुकुम्बासीको हकमा सरकारले शनिबारसम्मको म्याद दिएको हो ।
जिल्ला प्रशासन कार्यालयको टोलीले सेन्टरमा सूचना टाँस गर्दै सेन्टर छाड्न भनेको हो। उसोतः प्रशासनले सेन्टरमा बस्ने ७ परिवारको नाममा जग्गा फेला परेको दाबी समेत गरेको छ ।
‘भूमि समस्या समाधान समिति, काठमाडौंको च.न. ४८ मिति २०८३\५\९ को प्राप्त पत्र अनुसार काठमाडौं उपत्यका नदी किनारका जोखिमयुक्त बस्तीमा रहेका परिवारहरू विस्थापित भई कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा रहेका तपसिलमा उल्लेख भएका घरमूली वा निजका परिवारका सदस्यहरूको नाममा भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा स्थानीय पालिकाबाट प्राप्त विवरण अनुसार जग्गा रहेको देखिएकाले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार भूमिहीन नरहने भएका ७ (सात) परिवार होल्डिङ सेन्टर खाली गर्नू’ सूचनामा भनिएको छ ।
उसोतः जग्गा नभएका सुकुम्बासीको हकमा समेत सरकारले सूचना जारी गर्दै भनेको छ, ‘जग्गा नभएका १२ (बाह्र) परिवारको हकमा सम्बन्धित पालिकाको जग्गा उपलब्ध गराउने प्रयोजनको लागि कारवाही अगाडि बढी निस्सासमेत प्राप्त भएको हुँदा सोको निस्सा लिन भई यस होल्डिङ सेन्टरमा रहेका उपरोक्तानुसार भूमिहीन नरहने भएका र जग्गा खोजिएका सम्पूर्ण व्यक्तिहरूलाई यही मिति २०८३÷०५÷११ गते १६ः०० बजेभित्र होल्डिङ सेन्टर खाली गर्नु हुन सूचित गरिन्छ। जग्गा नभएका परिवारहरूको हकमा नेपाल सरकारले घरभाडा खर्च उपलब्ध गराएको सुविधा समेत बुझिलिन हुन अनुरोध छ ।’ अहिले सेन्टरमा ५९ जना बसोबास गरिरहेका छन्।
चिसो बढ्दै, सुकुम्बासी के गर्लान ?
चिसो मौसम बढ्न थालेको छ। उनीहरु होल्डिङ सेन्टरमा बसोवास गरिरहेका छन्। सरकारले जग्गा भेटिएका परिवार र जग्गा नै नभएका परिवारलाई पनि उनीहरुको सम्बन्धित पालिकामा जग्गा दिने भनेको छ। यस्तोमा उनीहरु अब आ–आफ्नो स्थानीय तहमा फर्किनुपर्ने बाध्यता देखिन्छ ।
जुन कुरा उनीहरुले सहजै स्वीकार गर्ने स्थिति भने देखिन्न। यस्तोमा सरकार र सुकुम्बासीबीच तनावको संकेत देखिन्छ । यद्यपी चिसो मौसम पनि बढ्न थालेकाले जीवनयापन कसरी हुन्छ भन्ने कुराको ग्यारेन्टी नहुँदा समेत सुकुम्बासीमा त्रास बढेको देखिन्छ ।
जग्गा बाँड्ने कि अवसर ?
सरकारले अहिले पनि एक पटकलाई भन्दै उनीहरुलाई जग्गा नै दिने योजना अघि सारेको छ। तर, सरकारले सुकुम्बासीलाई जग्गा भन्दा अवसर प्रदान गर्नुपर्ने आवाज समेत उठ्ने गरेको छ ।
जग्गा निश्चित समयपछि फेरि शून्यमा नै आउने भएकाले अवसर दिदा उनीहरुले स्वतन्त्र रुपमा सम्पत्ति आर्जन गर्न सक्ने बाटो खुल्ला रहन्छ। सरकारले विभिन्न क्षेत्रमा सुकुम्बासी र बेरोजगार नागरिकलाई व्यवस्थापन गर्ने योजना नबनाउदासम्म यस्ता विषयका विवादहरु बढ्ने नै देखिन्छन् ।
अझं, सुकुम्बासीहरुलाई सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने निर्णयमा उनीहरु सहजै उपत्यका छाड्न तयार होलान? अवसर, शिक्षाट र अन्य हिसावले समेत उपत्यका सहज भएकाले यो विषय सहजै हल हुने स्थिति भने देखिन्न।
उठ्न सक्छ मानव अधिकारको विषय
सुकुम्बासीलाई जग्गा उपलब्ध गराएर सम्बन्धित पालिकामा जाउ भन्दा तत्काल मानव अधिकारको कुरा समेत उठ्न सक्ने खतरा रहन्छ ।
पहिले जग्गा उपलब्ध गराउने र सुरक्षित आवासका निम्ति सरकारले ल्याएको योजनाभित्र पहिलो प्राथमिकता दिदै विस्तारै होल्डिङ सेन्टर खाली गर्ने योजना अघि सार्दाबाहेक यसले सहज स्थिति निर्माण हुने देखिन्न। सरकारले निश्चित समयको कार्यादेश नै निर्माण गरेर उनीहरुको व्यवस्थापन गर्ने योजना भने आवश्यक बनिसकेको छ ।


