News 24 Television
सातौँ टाइगर कपको संयोजकमा वकिल केसी,  ७ लाख ७७ हजार ७०० रुपैयाँ व्यक्तिगत सहयोग गर्ने

पोखरा । सातौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८३ को संयोजकमा वकिल केसी मनोनयन भएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले केसीलाई सातौँ संस्करण सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी सुम्पिएको जानकारी दिएका हुन् । बिहीबार बसेको संस्थाको बैठकले केसीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको उनले जानकारी दिए ।

केसीलाई संयोजकको जिम्मेवारी सुम्पिएको जानकारी दिंदै विगतको लामो अनुभवले सातौँ संस्करण सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष शर्माले बताए । 

“प्रतियोगितालाई सफल र सहजरुपमा सम्पन्न गर्नु आफैमा महत्व रहन्छ’, शर्माले भने,‘यो चुनौतीलाई उहाँले आफ्नो क्षमता प्रदर्शन गर्दै विगतका संस्करण जस्तै टाइगर कपको शाखलाई माथी उठाउने गरी सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नेमा कार्यसमिति विश्वस्त छ ।”
संस्थाका संस्थापक सदस्यसमेत रहेका केसीले यसअघि पोर्चुगल संयोजकको जिम्मेवारीमा समेत् छन् । विगत १६ वर्षदेखि पोर्चुगलमा व्यवसाय गर्दै आएका उनी खेलकुद तथा सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।

संयोजकको जिम्मेवारी पाएसँगै केसीले प्रतियोगितालाई भव्य र सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । पोखरा स्पोर्ट्ससँगको कुराकानीमा उनले टाइगर कप नेपाली भलिबलको प्रतिष्ठित ब्रान्डका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसको गरिमा अझ उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताए ।

प्रतियोगिताको सफलताका लागि आफूले व्यक्तिगत रूपमा पुरुषतर्फको विजेता टोलीलाई प्रदान गरिने प्रथम पुरस्कारबापतको ७ लाख ७७ हजार ७०० रुपैयाँ सहयोग गर्ने घोषणा समेत् गरेका छन् ।

‘प्रतियोगिता सफल बनाउन म आफैँबाट सुरुवात गरेको छु । संस्थाले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सबैको सहयोग र साथ आवश्यक छ । सबैको सहकार्यमा चुनौतीहरू पार गर्दै सातौँ संस्करणलाई भव्य बनाउने प्रतिबद्धता व्यक्त गर्दछु’, केसीले भने ।

करिब दुई करोड रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगिता सम्पन्न गर्न आर्थिक, नैतिक तथा भौतिक सहयोग आवश्यक पर्ने उनको भनाइ छ । ८० सदस्यीय टाइगर ग्रुपको समर्पित टिम रहेकाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आफू विश्वस्त रहेको उनले बताए । 

प्रतियोगिताको तयारी तथा व्यवस्थापनका लागि एक महिनाभित्र नेपाल फर्कने तयारीसमेत उनले गरेका छन् । अन्तर्राष्ट्रिय सहभागिताका विषयमा चर्चा गर्दै केसीले यस संस्करणमा श्रीलंकाका टोलीको सहभागिता रहने जानकारी दिएका छन् । 

बंगलादेशको सहभागिताबारे पनि तयारी भइरहेको छ भने थाइल्यान्डको महिला टोलीलाई समेत सहभागी गराउने अपेक्षा गरिएको छ ।
यसअघि चौथो संस्करणमा दीपक कार्की, पाँचौँ संस्करणमा रामकृष्ण ज्ञवाली र छैटौँ संस्करणमा राजकुमार गुरुङले प्रतियोगिता संयोजकको जिम्मेवारी सम्हालेका थिए । छैटौँ संस्करणमा डोलराज पोखरेल (डीआर) सहसंयोजक थिए ।

माघ १६ देखि २४ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने सातौँ टाइगर कपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबलमा पोखराको पहिचान र प्रतिष्ठा थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । प्रतियोगितामा महिला तथा पुरुष गरी १२ टिमको सहभागिता हुनेछ

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update