काठमाडौं । के नेपालमा कानुन र अदालतका नजिरहरू केवल सर्वसाधारण नागरिकका लागि मात्रै हुन ? या शक्ति, सत्ता र अरबौंको पुँजीका अगाडि न्याय निरुपण यस्तै–यस्तै हुन्छ ? ठमेलको ऐतिहासिक कमलपोखरी मासेर ठड्याइएको छाया सेन्टरको विवादले न्यायिक सक्रियता, सर्वोच्च अदालतको क्षेत्राधिकार र न्यायिक मनमाथिका प्रश्नहरु सतहमा ल्याइदिएको छ ।
काठमाडौंको केन्द्रमा छ ठमेल, अहिले अग्लो बिल्डिङ, धेरै मानिसको आवतजावत हुने र व्यापारिक केन्द्रको रुपमा उभिएको यो बिल्डिङ छाया देवी कम्प्लेक्स अर्थात छाया सेन्टर । कुनै बेला पोखरी थियो। पोखरीमा कमल फुलेर मानिसलाई मोहित पाथ्र्यो। तर, अहिले कमल फुल्ने पोखरीको नामोनिसान नै छैन, छ त केवल कमल पोखरी भएको ऐतिहासिक प्रमाण र पोखरी व्यूताउनुपर्छ भन्ने माग– त्यो पनि सर्वोच्च अदालतमा ।
सार्वजनिक सम्पत्ति र धार्मिक गुठीको जग्गा हडपिएको भन्दै अवैध कामविरुद्ध २०७१ सालमै सर्वोच्च अदालतको ढोका ढकढक्याइयो । अधिवक्ता दीपकविक्रम मिश्र र रामहरि श्रेष्ठलगायतले दायर गरेका १५ थान मुद्दाको अन्तिम किनारा १२ वर्ष पुगिसक्दा पनि टुंगो लाग्ने छाख्ट देखिएको छैन ।
सुन्दा पत्याउन मुस्किल पर्छ, यो विवाद सर्वोच्च अदालतको इजलासमा एक–दुई पटक होइन, ५२ पटक पुगिसकेको छ । तर ढिलो न्याय दिनु, न्याय नदिनु सरह हो भन्ने न्यायिक मान्यतालाई नै गिज्याउँदै न्यायको तराजु कता ढल्कियो भन्न सकिने अवस्था नै छैन्।
१० वर्षसम्म एकल र संयुक्त इजलासमा मात्रै यो मुद्धा ४० पटकभन्दा बढी पेसीमा चढ्यो । कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याउने बहानामा फाइल थन्क्याइयो । संयुक्त इजलासको यो १० वर्षे घुम्तीमा १४ पटक हेर्न नमिल्ने भनियो, ५ पटक हेर्न नभ्याउने सूचीमा राखियो अनि पटक–पटक सुनुवाइ स्थगित गरियो ।
गत पुस ४ गते न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले पाँचवटा जटिल कानुनी प्रश्न निरूपण गर्नुपर्ने भन्दै मुद्धालाई पूर्ण इजलासमा पठायो ।
माघ १३ गते पूर्ण इजलासमा गएको यो विवाद त्यसयता पनि १२ पटक पेसीमा चढिसकेको छ । तर तीमध्ये आठ पटक इजलासमा पुग्दा पनि पाँचभन्दा बढी पटक फेरि हेर्न नमिल्ने, न्यायाधीशकै इजलासमा पर्यो, र दुई पटक त छायाँदेवी कम्प्लेक्सकै पक्षबाट सुनुवाइ सारियो ।
कति मूल्यको छ विवादित जमिन ?
ठमेलको प्रमुख व्यापारिक केन्द्रमा रहेको १२ रोपनी १३ आना जग्गाको बजार मूल्य भवनबाहेक नै करिब ३ अर्ब रुपैयाँ आँकलन गरिन्छ । ऐतिहासिक अभिलेखले यो जग्गा श्री सिंहसार्थ गरुड भगवान गुठी अन्तर्गतको राजगुठी र कमलपोखरी भएको प्रस्ट देखाउँछ । तर सत्ता र शक्तिको आडमा नक्कली मोही खडा गरियो, पोखरीलाई निजी दाबी गरियो र बैंकर पृथ्वीबहादुर पाण्डेले आफ्नी आमा छायाँदेवी पाण्डेका नाममा यो व्यापारिक साम्राज्य खडा गरे ।
अझ चाँखलागदो कुरा के छ भने, तत्कालीन पुनरावेदन अदालत पाटनको जुन फैसलामा टेकेर छाया सेन्टरको जग हालियो, त्यही फैसलालाई पछि सर्वोच्च अदालतले नै त्रुटिपूर्ण भनेर खारेज गरिसकेको छ ।
तल्लो अदालतले दिएको आदेशलाई नै मान्ने हो भनेमात्रै पनि, जग नै त्रुटिपूर्ण ठहरिएपछि त्यो संरचना भत्काएर ऐतिहासिक पोखरी ब्युँताउनुपर्ने हो । तर यहाँ त ठीक उल्टो भएको छ । सर्वोच्चमा मुद्धा अनिर्णित हुँदा छाया सेन्टरको व्यापार भने निर्वाध चम्किरहेको छ ।
के यो विवाद कानूनी रूपमा त्यति नै जटिल छ त ?
देशको प्रचलित कानुन र सर्वोच्च अदालतका आफ्नै पुराना नजिरहरूले त त्यस्तो भन्दैनन् । गुठी संस्थान ऐन, २०३३ को दफा २५ को उपदफा ४, दफा २६ को ४ र दफा २७ ख ले धार्मिक, सार्वजनिक पर्ती तथा सहरबजारको गुठी जग्गामा मोही हक नलाग्ने र व्यक्तिका नाममा दर्ता भए पनि बदर हुने स्पष्ट व्यवस्था गरेको छ ।
यस्तै भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा ५ र मालपोत ऐन, २०३४ को दफा २४ ले पनि सरकारी, सामुदायिक र सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता वा आवाद गर्न पूर्ण निषेध गरेको छ ।
यति मात्रै होइन, सर्वोच्च अदालतले नै यसअघि बलिया नजिरहरू स्थापित गरिसकेको छ । २०६५ मंसिर २३ गते तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद गिरी र न्यायाधीश अनुपराज शर्माको इजलासले सूर्यप्रसाद धितालविरुद्धको मुद्दामा दर्ता नै नभएको जग्गा अदालतको मिलापत्रमा उल्लेख गर्दैमा स्वामित्व सिर्जना नहुने फैसला सुनाएको थियो ।
त्यस्तै २०७३ चैत १० गते न्यायाधीशद्वय जगदीश शर्मा पौडेल र केदारप्रसाद चालिसेको इजलासले भागवतनरसिंह प्रधानको गुठी रैतानी निर्णय बदर मुद्यामा अम्बिका राणाको पक्षमा भएका जिल्ला र पुनरावेदनका फैसला त्रुटिपूर्ण ठहर गर्दै गुठी जग्गामा मोही हक कायम नहुने नजिर स्थापित गरिसकेको छ ।
यस्ता नजिरलाई ओभररुल गर्ने गरि अन्य नजिरहरु समेत स्थापित नभएको अवस्थामा सर्वोच्चले किन न्याय निरुपणलाई जटिलतातर्फ धकेलिरहेको छ? यो भने चाखलाग्दो विषय बनेको छ।
हुनतः सर्वोच्चमा विराचाधिन रहेको मुद्दामा बोल्दा कन्टेम्प्ट अफ कोर्ट अर्थात अदालतको मानहानीदेखि धेरै मुद्दाहरु आउन सक्छन तर, न्यायिक सक्रियता नै हराउने र सार्वजनिक हितको विषय ओझेलमा पर्ने स्थितिमा यस्ता विषयमा किन फैसला हुँदैन भनेर सामान्य प्रश्न गर्नु राज्यको चौथो अंगको जिम्मेवारी पनि हो।
कानुन यति स्पष्ट छ, ऐतिहासिक प्रमाण र अभिलेख छर्लङङ्ग छन्, अनि सर्वोच्चका आफ्नै नजिरहरू पनि तयार छन् । तैपनि १२ वर्ष र ५२ पेसी बितिसक्दा समेत न्याय किन बन्धक छ ? बुधबार पूर्ण इजलासमा चढेको पेसीले के अब निरन्तर सुनुवाइको बाटो समाउला, कि फेरि हेर्न नमिल्ने र स्थगितकै पुरानो खेल दोहोरिएला ? के हाम्रो न्याय प्रणालीले ३ अर्बको व्यावसायिक साम्राज्य भत्काएर ऐतिहासिक कमलपोखरी फिर्ता ल्याउने आँट देखाउला, कि पावर र पैसाको छायामुनि सार्वजनिक सम्पदा र न्याय सधैं थिचिइरहने छन् ? यि प्रश्नहरुको जवाफ बुधबारको पूर्ण इजलासको निर्णयले प्रष्ट पार्ने छ ।


