News 24 Television
ओलीलाई मुख्यमन्त्रीको ठाडो चुनौती !

काठमाडौं । कोशी प्रदेशको राजनीति यतिबेला सत्तारूढ एमालेको आन्तरिक शक्ति संघर्षको रापले तातेको छ । स्थानिय तह चुनाव आउन अब केहि महिना बाँकी रहँदा आफ्नै पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गलहत्याउन एमालेकै एउटा शक्तिशाली खेमा र स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओली कम्मर कसेर लागेका छन् । तर अध्यक्षको हुकुम मान्न मुख्यमन्त्री कार्की भने तयार छैनन् । 

कोशी प्रदेश सरकार यतिबेला आफ्नै नेतृत्वको आन्तरिक शक्ति संघर्षको किचलोमा फसेको छ । एकातिर प्रदेश इन्चार्ज शेरधन राईको डिजाइन र पार्टी अध्यक्ष केपी शर्मा ओलीको ग्रीन सिग्नलमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने खेल चलिरहेको छ । तर अर्कोतिर मुख्यमन्त्री कार्की गुण्डुको एकपक्षीय निर्देशनको भरमा राजीनामा नदिने मूडमा पुगेका छन् । 

एक साताअघि काठमाडौँमा सम्पन्न एमालेको राष्ट्रिय भेलामा प्रदेश इन्चार्ज राई र प्रदेश अध्यक्षसहितको टोलीले अध्यक्ष ओलीलाई भेटेर कार्कीबाट पहिचानको मुद्दा स्थापित नहुने भन्दै तत्काल जनजाति समुदायबाट मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन ब्रिफिङ गरेका थिए । ओली पनि त्यसैमा सहमत हुँदै कार्कीलाई पद छाड्न दबाब बढाइरहेका छन् ।

मंगलबार विराटनगरमा राजनीतिक दृश्य एकाएक बदलियो । अध्यक्ष ओलीको राजीनामा दबाबपछि मुख्यमन्त्री कार्कीले सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टीका नेताहरूसँग परामर्श गरे । बैठकमा सहभागी नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र संयोजक हर्कबहादुर नेम्वाङले अहिले राजीनामा नदिन र सरकारलाई निरन्तरता दिन सुझाव दिएपछि कार्की झनै हौसिएका छन् । आफ्नै पार्टी अध्यक्षको निर्देशनविरुद्ध उभिन मुख्यमन्त्रीले अर्को दलको वैशाखी टेक्नुले एमालेभित्रको विवाद अब ‘वार कि पार’को अवस्थामा पुगेको स्पष्ट गर्छ । 

आत्मघाती खेलमा रुमलियो एमाले 

स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने चर्चा चलिरहँदा एमाले किन यस्तो आत्मघाती खेलमा रुमलिएको छ ? बाहिर संघीयता र प्रदेश सरकार बलियो बनाउने चर्को भाषण गर्ने, तर भित्र प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौँको रिमोट कन्ट्रोलबाट नचाउने प्रवृत्ति कहिलेसम्म ? पार्टी अध्यक्षको निर्देशन, प्रदेश नेतृत्वको घेराबन्दी र सत्ता साझेदार दलको समर्थन, यी तीन शक्तिबीच मुख्यमन्त्री कार्कीले कस्तो राजनीतिक बाटो तय गर्लान् ? के ओलीको अन्तिम अस्त्र कोशीमा फेल खाँदैछ ? या एमालेको आन्तरिक विद्रोहले कोशी सरकार नै ढल्नेछ ? यसको छिनोफानो आगामी केही दिनमै हुने निश्चित छ । तर चुनावी चर्चा, पहिचानको मुद्दा र संघीयतामा प्रदेशको स्वायत्तताजस्ता गम्भीर प्रश्नहरूका बीच एमालेभित्रको यो रस्साकस्सीलाई यतिबेला चासोका साथ हेरिएको छ । 

समग्रमा भन्नुपर्दा, यतिबेला कोशी प्रदेशको राजनीति नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार भनेझैँ जटिल दोसाँधमा उभिएको छ । पार्टी अध्यक्षको निर्देशन, प्रदेश नेतृत्वको प्रस्ताव र सत्ता साझेदार दलको समर्थन, यी तीन शक्तिबीच मुख्यमन्त्री कार्कीले कस्तो मध्यमार्गी बाटो तय गर्छन्, त्यो भने आगामी राजनितिक घटनाक्रमले बताउने छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update