सिन्धुपाल्चोक । वनमा खेर जाने सालका पात अहिले सिन्धुपाल्चोकका ग्रामीण महिलाको आम्दानीको स्रोत बनेका छन् । परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन हुन थालेपछि महिलाले घरायसी कामसँगै आम्दानी गर्न पाएका छन् । यसको अर्को सकारात्मक पक्ष, वनमा थुप्रिने सुक्खा पातको व्यवस्थापनमार्फत डढेलोको जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्नु हो ।
जंगलमा खेर जाने सालका पात सिन्धुपाल्चोकका महिलाका लागि अहिले आम्दानीको आधार बनेका छन् । विगतमा घरायसी तथा धार्मिक प्रयोजनका लागि मात्रै प्रयोग हुने दुना–टपरी बनाउने परम्परागत सीप अहिले व्यावसायिक उद्यममा रूपान्तरण हुँदै गएको छ ।
वनमा खेर जाने पात संकलन गरेर दुना–टपरी उत्पादन हुन थालेपछि महिलाको आयआर्जन बढेको छ भने वनमा थुप्रिने सुक्खा पातको व्यवस्थापनमा समेत सहयोग पुगेको छ ।
सिन्धुपाल्चोकको सुकुटेस्थित सामुदायिक दुना–टपरी उत्पादन साझा केन्द्रले २०८० देखि सालका पातबाट व्यावसायिक उत्पादन गर्दै आएको छ । स्थानीय महिलाले सामुदायिक वनबाट सालका पात संकलन गर्छन् । ती पातलाई बाँसका सिन्काले जोडेर लाफा तयार पार्छन् र उत्पादन केन्द्रलाई बिक्री गर्छन् । केन्द्रले एउटा लाफाको दुई रुपैयाँका दरले खरिद गर्दै आएको छ ।
पहिले घरघरमा अर्मपर्म गरेर बनाइने दुना–टपरी अहिले आधुनिक मेसिनबाट उत्पादन हुन थालेका छन् ।
बजारको मागअनुसार विभिन्न आकारमा उत्पादन गरिने दुना–टपरीको एउटा मेसिनबाट मासिक १० हजार पिससम्म उत्पादन हुन्छ ।
यहाँबाट उत्पादित सामग्री काठमाडौं, भक्तपुर र जिल्लाका स्थानीय बजारमा बिक्री हुँदै आएको छ । यसले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै ग्रामीण महिलाका लागि आंशिक रोजगारीको अवसर सिर्जना गरेको छ ।
उद्यम विस्तार गर्ने क्रममा करिब १० लाख रुपैयाँको लगानीमा बलेफी गाउँपालिका–२, नौबिसे ढाँडेमा समेत शाखा उत्पादन केन्द्र विस्तार गरिएको छ । अहिले केन्द्रसँग चारवटा उत्पादन मेसिन छन् । यो उद्यमको अर्को महत्त्वपूर्ण पक्ष वन संरक्षणसँग जोडिएको छ ।
वनमा झरेर थुप्रिने सुक्खा पात संकलन हुँदा प्रज्वलनशील पदार्थको मात्रा घटाउन मद्दत गरेको छ भने विवाह लगायतका धार्मिक कार्यमा प्लाष्टिक जन्य सामाग्रीको प्रयोग कम हुन थालेको छ ।
डिभिजन वन कार्यालय सिन्धुपाल्चोक र सुनकोशी गाउँपालिकाले महिला समूहलाई दुना–टपरी उत्पादनसम्बन्धी प्रयोगात्मक तालिम तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएका छन् ।
महिलाको आयआर्जन र वन संरक्षणलाई एकसाथ जोडिएको यो अभ्यासलाई थप व्यवस्थित बनाउन डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८३÷८४ मा भौतिक पूर्वाधार तथा भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
वनमा खेर जाने पातलाई उत्पादनको कच्चा पदार्थ बनाउँदै आम्दानीको स्रोतमा रूपान्तरण गर्ने यो प्रयासले स्थानीय सीप, महिला उद्यमशीलता र वातावरण संरक्षणलाई एउटै अभियानमा जोडेको छ ।
स्थानीय स्रोतको सदुपयोगबाट ग्रामीण अर्थतन्त्र बलियो बनाउने यो अभ्यास विस्तार हुन सके वन संरक्षणसँगै महिलाको आर्थिक सशक्तीकरणमा समेत थप योगदान पुग्न सक्छ ।


