News 24 Television
सरकारीकरणको संघारमा एनसेल : खुल्न बाँकी काला पाटा !

काठमडौं । एनसेल सरकारीकरणको बहससँगै कम्पनीको अर्बौँको सम्पत्ति र हजारौ कर्मचारीको भविष्य लगायत चर्चामा छ । तर सरकारीकरणअघि नै १४ पटकको स्वामित्व परिवर्तन, ६६ अर्बभन्दा बढी विदेशिएको लाभांश, २५ करोड डलरको एस्क्रो रकम र वास्तविक लगानीकर्ताको पहिचानमाथि गम्भीर प्रश्न उठेका छन् । 

 
एनसेलको २५ वर्षे अनुमतिपत्र अवधि २०२९ मा सकिँदैछ । दूरसञ्चार ऐनअनुसार कम्पनीका दूरसञ्चारसम्बन्धी सम्पत्ति सरकारको स्वामित्वमा आउने व्यवस्था छ । तर सरकारीकरणसँगै एनसेलको स्वामित्व इतिहास, अर्बौँको लाभांश विदेशिएको विवरण, कर, वास्तविक लगानीकर्ता, सेयर कारोबार र लाखौँ ग्राहकका सिमकार्डको भविष्यबारे प्रश्न उठ्न थालेको छ । 

नेपालमा दूरसञ्चार सेवा सञ्चालन गरेर अर्बौँको कारोबार गर्ने एनसेल सरकारी स्वामित्वमा आउने चर्चा चुलिँदै गर्दा यो प्रक्रिया कम्पनीको सम्पत्ति राज्यमा ल्याउने विषयमा मात्रै सीमित छैन । दुई दशकदेखि विभिन्न विदेशी कम्पनी र लगानीकर्ताको हातमा पुगेको एनसेलको स्वामित्व, कारोबार मूल्य, विदेशिएको लाभांश, कर दायित्व र वास्तविक लाभग्राहीको पहिचानसमेत स्पष्ट पार्नुपर्ने चुनौती राज्यसामु छ । 

सरकारी छानबिन समितिले नै एनसेलको सेयर खरिद–बिक्रीमा नियामक निकायहरूको निगरानी कमजोर रहेको, कारोबारका पूर्ण विवरण सरकारी कार्यालयमा नरहेको र विदेशिएको रकमको वास्तविक प्रयोजनबारे थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तो अवस्थामा सरकारीकरणको प्रक्रिया अघि बढाउँदा राज्यले सम्पत्ति प्राप्त गर्ने मात्र होइन वर्षौँदेखि उठिरहेका वित्तीय तथा कानुनी प्रश्नको जवाफसमेत खोज्नुपर्ने देखिन्छ ।

एनसेल कसरी सरकारी स्वामित्वमा आउँछ ?

एनसेल सरकारीकरणको बहसको मुख्य आधार दूरसञ्चार ऐन, २०५३ को दफा ३३ हो । उक्त व्यवस्थाअनुसार ५० प्रतिशतभन्दा बढी विदेशी लगानी रहेको दूरसञ्चार कम्पनीको अनुमतिपत्र अवधि समाप्त भएपछि कम्पनीसँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा नेपाल सरकारको स्वामित्व कायम हुने व्यवस्था छ । 

एनसेलमा ८० प्रतिशत विदेशी लगानी रहेको भनिएकाले यसको २५ वर्षे अनुमतिपत्र अवधि समाप्त भएपछि दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति सरकारी स्वामित्वमा आउने कानुनी व्यवस्था आकर्षित हुने देखिन्छ । एनसेलको मूल अनुमतिपत्र सन् २००४ सेप्टेम्बर १ मा जारी भएको थियो । यसको २५ वर्षे अवधि सन् २०२९ मा समाप्त हुँदैछ । 

त्यसैले अहिले भइरहेको सरकारीकरणको बहस तत्काल कम्पनीको सेयर राष्ट्रियकरण गर्ने विषयभन्दा अनुमतिपत्र अवधि सकिएपछि दूरसञ्चार पूर्वाधार राज्यको स्वामित्वमा आउने प्रक्रियासँग जोडिएको छ । अनुमतिपत्र अवधि समाप्त भएपछि पहिलो चरणमा कम्पनीका जग्गा, भवन, टावर, नेटवर्क उपकरण, फाइबर, स्विचिङ प्रणालीलगायत सम्पत्तिको विवरण संकलन र मूल्यांकन गर्नुपर्ने हुन्छ । त्यसपछि सम्पत्ति हस्तान्तरणको प्रक्रिया अघि बढ्छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई अनुमतिपत्र अवधि समाप्त भएपछि सम्पत्ति व्यवस्थापन तथा हस्तान्तरणको कार्ययोजना तयार गर्न निर्देशन दिएको छ । सरकारी स्वामित्वमा सम्पत्ति आएपछि सेवा सरकारले आफैँ सञ्चालन गर्ने, नेपाल टेलिकममार्फत चलाउने वा छुट्टै सञ्चालन संरचना बनाउने भन्ने विषय पनि टुंग्याउनुपर्ने हुन्छ । कानुनले पूर्वअनुमतिपत्र प्राप्त कम्पनीलाई तोकिएको मूल्य बुझाएर पुनः अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गर्न सक्ने विकल्पसमेत दिएको छ । त्यसैले सम्पत्ति सरकारको स्वामित्वमा आउँदैमा एनसेल कम्पनी स्वतः बन्द हुने वा नेपाल टेलिकममा तत्काल गाभिने छैन । 

लाखौँ सिमकार्डको भविष्य के हुन्छ ?

एनसेल सरकारीकरणको चर्चा चल्न थालेपछि ग्राहकको सबैभन्दा ठूलो चासो आफ्नो मोबाइल नम्बर र सिमकार्डको भविष्यबारे छ । तर दूरसञ्चार पूर्वाधार सरकारी स्वामित्वमा हस्तान्तरण हुँदैमा लाखौँ ग्राहकका सिमकार्ड स्वतः बन्द हुने, मोबाइल नम्बर परिवर्तन हुने वा नयाँ सिम लिनुपर्ने अवस्था सिर्जना हुन्छ भन्ने आधार छैन । 

मोबाइल नम्बर, सिम दर्ता, नेटवर्क र सेवा सञ्चालनलाई निरन्तरता दिन सरकारले तथा नियामकले आवश्यक व्यवस्था मिलाउन सक्छन् । त्यसैले एनसेलका ग्राहकले प्रयोग गरिरहेका मोबाइल नम्बर, बैंकसँग जोडिएका नम्बर, मोबाइल बैंकिङ, डिजिटल वालेट, सामाजिक सञ्जालका ओटीपी र फोन सम्पर्क तत्काल परिवर्तन गर्नुपर्ने अवस्था देखिँदैन ।

आठ करोड लगानी, ६६ अर्बभन्दा बढी लाभांश विदेशिएको प्रश्न

एनसेलको सरकारीकरण बहसलाई सबैभन्दा गम्भीर बनाउने विषय कम्पनीमा आएको विदेशी लगानी र विदेशिएको लाभांशबीचको असमानता हो । सरकारी छानबिन समितिको प्रतिवेदनअनुसार एनसेलमा सुरुदेखि करिब ८ करोड १ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको देखाइएको छ । तर कम्पनीले २०८० सम्ममा १ खर्ब १३ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको र ९३ अर्ब ५० करोड रुपैयाँ लाभांश घोषणा गरेको विवरण प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये ६६ अर्ब १५ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको भनिएको छ । 

विदेशी लगानीको तुलनामा विदेशिएको लाभांश ८२० गुणाभन्दा बढी रहेको समितिको विवरण छ । यसका अतिरिक्त प्राविधिक तथा व्यवस्थापकीय सेवा सम्झौता अर्थात् टीएमएसएअन्तर्गत करिब २ करोड ४८ लाख ५० हजार अमेरिकी डलर विदेशिएको विषयसमेत अनुसन्धान गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ । 

नेपालमा व्यवसाय सञ्चालन गरेर ठूलो नाफा कमाउने कम्पनीले कति कर ति¥यो ? विदेशिएको रकमको वास्तविक लाभग्राही को हो ? रकम कुन प्रयोजनमा पठाइयो ? र यसको पूर्ण विवरण सरकारी निकायसँग किन छैन ? यी प्रश्नले एनसेलको वित्तीय पारदर्शितामाथि गम्भीर शंका पैदा गरेका छन् ।

डेढ खर्बको कम्पनी, साढे ६ अर्बमा ८० प्रतिशत सेयर बिक्री !

एनसेलको मूल्यांकन र सेयर बिक्रीबीच देखिएको अन्तर सरकारी छानबिन समितिको प्रतिवेदनको संवेदनशील पक्ष हो । समितिले एनसेलको न्यूनतम व्यावसायिक मूल्य १ खर्ब ४५ अर्बदेखि १ खर्ब ८० अर्ब रुपैयाँसम्म हुन सक्ने आकलन गरेको छ । तर आजियाटाले ८० प्रतिशत सेयर बिक्री गर्दा प्रारम्भिक खरिद मूल्य ५ करोड अमेरिकी डलर अर्थात् करिब साढे ६ अर्ब रुपैयाँ निर्धारण गरिएको थियो । 

सन् २०२३ मा सेयर खरिद सम्झौता हुनुअघि एक अमेरिकी डलर पुँजीमा स्थापना भएको स्पेक्ट्रलाइट युकेको पुँजी एक लाख डलर पु¥याइएको विवरण पनि समितिले औँल्याएको छ । यति ठूलो दूरसञ्चार कम्पनी खरिद गर्ने संस्थाको आर्थिक स्रोत, वित्तीय क्षमता, प्राविधिक अनुभव र लगानीको स्रोत के थियो भन्ने प्रश्न उठेको छ । कम्पनीको मूल्यांकन र प्रारम्भिक खरिद मूल्यबीच देखिएको अन्तरले वास्तविक कारोबार मूल्य, कर तथा सम्भावित वित्तीय चलखेलबारे थप अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

२५ करोड डलरको एस्क्रो रकम खोई ? 

एनसेलको स्वामित्व परिवर्तनका क्रममा सन् २०१६ मा टेलियासोनेरा र आजियाटाबीच १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलरको कारोबार भएको आजियाटाको विवरण छ । तर यस कारोबारसँग सम्बन्धित २५ करोड अमेरिकी डलर एस्क्रो खाताको रकम कहाँ गयो भन्ने विषयसमेत स्पष्ट नभएको समितिले औँल्याएको छ । कर, कानुनी दायित्व तथा अन्य भुक्तानी प्रयोजनका लागि छुट्याइएको भनिएको रकम कहाँ खर्च भयो ? 

नेपालमा आयो कि विदेशमै समायोजन भयो र कुन दायित्वमा प्रयोग भयो भन्ने यकिन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै २३ करोड अमेरिकी डलर विदेशी ऋणको वास्तविकता, उपकरण आयातमा अधिक वा न्यून बिजकीकरण, हुण्डी, हवाला तथा क्रिप्टोकरेन्सीमार्फत रकम विदेश पठाइएको हुन सक्ने जोखिमबारे पनि अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ ।

सरकारीकरणमा सातवटा मुख्य अन्योल !

एनसेल सरकारीकरणको चर्चा चुलिए पनि प्रक्रिया सहज छैन । राज्यको स्वामित्वमा सम्पत्ति आएपछि त्यसलाई सञ्चालन र व्यवस्थापन गर्नुपर्ने चुनौती उत्तिकै ठूलो छ । सरकारीकरणका लागि देखिएका मुख्य ७ चुनौति यस्ता छन् ः

सम्पत्तिको वर्गीकरण र मूल्यांकन ः जग्गा, भवन, टावर, नेटवर्क उपकरण, फाइबर र अन्य पूर्वाधारको वास्तविक मूल्य कसरी निर्धारण गर्ने ?

 कम्पनी कि सम्पत्ति मात्रै सरकारी हुने ? दफा ३३ ले मुख्यतः दूरसञ्चारसम्बन्धी सम्पत्तिको स्वामित्व सरकारमा आउने व्यवस्था गरेको छ । कम्पनीको सेयर, ब्रान्ड, ऋण, कर्मचारी तथा अन्य दायित्वको अवस्था छुट्टै स्पष्ट पार्नुपर्ने हुन्छ ।

 सेवा कसले सञ्चालन गर्ने ? सरकार आफैँ, नेपाल टेलिकम वा छुट्टै संरचनाबाट सेवा चलाउने भन्ने निर्णय महत्त्वपूर्ण हुन्छ ।

 कर्मचारीको भविष्य : हजारौँ कर्मचारी, प्राविधिक जनशक्ति, बिक्री तथा वितरण सञ्जाल र आउटसोर्सिङ कर्मचारीको रोजगारी कसरी व्यवस्थापन गर्ने ?

ऋण र अन्य दायित्व : बैंक ऋण, उपकरण भुक्तानी, आपूर्तिकर्ताको दायित्व र विदेशी मुद्रा सम्झौताको जिम्मेवारी कसले लिने ?

 ग्राहकको डेटा र नेटवर्क सुरक्षा : लाखौँ ग्राहकको व्यक्तिगत विवरण, कल विवरण, बैंकिङ ओटीपी तथा साइबर सुरक्षाको जिम्मेवारी कसले लिने ?

 विदेशी लगानी र अन्तर्राष्ट्रिय विवाद : विदेशी लगानीकर्ताले क्षतिपूर्ति वा अन्तर्राष्ट्रिय मध्यस्थताको दाबी गरे राज्यले कसरी प्रतिरक्षा गर्ने ?

यी विषयको स्पष्ट खाका तयार नभई सरकारीकरणको प्रक्रिया अघि बढाउँदा सम्पत्ति प्राप्त भए पनि व्यवस्थापनमा ठूलो अन्योल सिर्जना हुन सक्ने देखिएको छ । 

१४ पटक स्वामित्व परिवर्तन : राज्य मौन ! 

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा सरकारी छानबिन समितिले दूरसञ्चार प्राधिकरण, उद्योग विभाग, कम्पनी रजिस्ट्रार, नेपाल राष्ट्र बैंक र आन्तरिक राजस्व विभागबीच समन्वयको अभाव रहेको औँल्याएको छ । कम्पनीको स्वामित्व १४ पटक परिवर्तन हुँदा अधिकांश कारोबार नेपालबाहिर भएका कारण सरकारी निकायसँग कारोबारको पूर्ण विवरण नरहेको समितिको निष्कर्ष छ । 

नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्ने कम्पनीको वास्तविक लगानीकर्ता को हो, कुन मूल्यमा सेयर किनबेच भइरहेको छ, कति रकम नेपाल भित्रियो र कति रकम विदेशियो भन्ने जानकारी नियामकसँग हुनुपर्ने हो तर एनसेलको कारोबारमा आवश्यक कागजात प्राप्त नहुनु, सूचनाको आदानप्रदान कमजोर हुनु र सरकारी निकायबीच समन्वय नहुनुले राज्यको निगरानी प्रणाली नै कमजोर देखाएको छ । त्यसैले सरकारले एनसेल सरकारीकरणको प्रक्रिया अघि बढाउनुअघि विगतका कारोबारमा भएको कमजोरीको जिम्मेवारीसमेत निर्धारण गर्नुपर्ने देखिएको छ । 

एनसेलमा राज्यको अन्यौलता !

एनसेलले नेपालमा दूरसञ्चार व्यवसाय सञ्चालन गरेर विशाल बजार, ग्राहक, नेटवर्क, पूर्वाधार र व्यावसायिक लाभ हासिल गरेको छ । मोबाइल सेवाका लागि नागरिकले पैसा खर्च गरेका छन्, राज्यले फ्रिक्वेन्सी उपलब्ध गराएको छ र कम्पनीले नेपाली बजारबाट ठूलो कारोबार तथा मुनाफा कमाएको छ । तर त्यही कम्पनीको स्वामित्व परिवर्तन हुँदा कारोबारको पूर्ण विवरण राज्यसँग नहुनु, वास्तविक लाभग्राहीको पहिचानमाथि प्रश्न उठ्नु, लाभांश विदेशिएको रकमको अनुसन्धान गर्नुपर्ने अवस्था आउनु र करका विषयमा पटक–पटक विवाद सिर्जना हुनु सामान्य विषय होइनन् । 

नेपालको कानुन र नियामक प्रणाली कमजोर बनाउँदै, राज्यको निगरानी छल्दै वा अपारदर्शी संरचनाबाट कारोबार गरी राष्ट्रिय सम्पत्ति तथा राजस्वमा क्षति पु¥याइएको प्रमाणित भएमा यो आर्थिक अपराध मात्रै नभई राज्यको हितमाथिको प्रहारसमेत हो । तर सरकारीकरणको नाममा सबै विवाद ढाकछोप गर्नु वा दोषी पहिचान नगरी सम्पत्ति हस्तान्तरण गर्नु पनि यसको समाधान हुन सक्दैन । राज्यले एनसेलको सम्पत्ति प्राप्त गर्ने प्रक्रिया पारदर्शी बनाउनुपर्छ । 

विगतका सेयर कारोबार, कर, लाभांश, विदेशी लगानी, ऋण र वास्तविक लाभग्राहीबारे छानबिन पूरा गर्नुपर्छ । एनसेलको सेयर १४ पटक किनबेच हुँदा नियामक निकाय कहाँ थिए ? अर्बौँ रुपैयाँका कारोबार हुँदा राज्य किन जानकारीबाट विमुख रह्यो ? कम्पनीको वास्तविक मूल्य र बिक्री मूल्यबीच यति ठूलो अन्तर कसरी देखियो ? लाभांश विदेशिँदा वास्तविक लाभग्राही को थिए ? एस्क्रोमा राखिएको रकमको हिसाब किन स्पष्ट छैन ? यी प्रश्नको जवाफ नदिई एनसेल सरकारीकरणको प्रक्रिया अघि बढाउनु भनेको विगतको ठूलो वित्तिय अपराधमाथि आँखा चिम्लिनु हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update