News 24 Television
बालुवाटारको जग्गामा गरिमा बैंकको सेटिङ, ३५ करोड बढी मूल्य

काठमाडौं । खराब कर्जा बढ्दै र नाफा घट्दै गएको गरिमा विकास बैंक बालुवाटारको घरजग्गा खरिद प्रकरणमा विवादित बनेको छ । बजार मूल्यभन्दा ३५ करोड बढीमा घरजग्गा खरिदको पेचिलो प्रश्न उठिरहँदा नियमनकारी राष्ट्र बैंक भने मौन देखिएको छ । 

बैंकको खराब कर्जा बढिरहेको छ अनि नाफा घटिरहेको छ । अर्कोतिर जनताको निक्षेपबाट चलेको गरिमा विकास बैंकले काठमाडौंको बालुवाटारमा घरजग्गा खरिद गर्दा बजार मूल्यभन्दा ३५ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको आरोपले बैंकिङ सुशासनमाथि नै प्रश्न उठेको छ । 

बैंकको वित्तीय अवस्था कमजोर हुँदै गएको संकेत देखिइरहेका बेला यस्तो महँगो खरिद किन गरियो ? सञ्चालक र व्यवस्थापनको निर्णयमा कसको स्वार्थ जोडिएको छ ? र, सबैभन्दा महत्वपूर्ण प्रश्न बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक रूपमा प्रश्न उठिसकेको यस्तो कारोबारबारे किन चासो देखाएको छैन ? 

यी धेरै प्रश्नहरु अनुत्तरित रहेका छन् । अब सुरुमा बैंकको खराब कर्जाको चर्चा गरौँ । आर्थिक वर्ष २०८१\८२ को अन्त्यमा ४.६९ प्रतिशत रहेको गरिमा विकास बैंकको खराब कर्जा आर्थिक वर्ष २०८२\८३ मा बढेर ४.७६ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्ष २०८३\८४ को पहिलो त्रैमासिकमा अझ बढेर ४.८१ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढ्नुको अर्थ हो बैंकले प्रवाह गरेको ऋण समयमै असुल गर्न नसक्नु । यस्तो हुँदाँ यसले बैंकको आम्दानी, नाफा र वित्तीय स्थायित्वमा ठूलो दबाब सिर्जना हुन्छ । यो त भयो खराब कर्जाको कुरा । बैंकको ओरालो यात्रा यतिमै रोकिदैन । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकको खुद नाफा पनि घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको बैंकले यसपटक २४ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । नाफा ४.१७ प्रतिशतले घटेको छ । 

खुद ब्याज आम्दानी ७.७९ प्रतिशतले घटेर ९२ करोड ८ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा पनि ४.३४ प्रतिशतले घटेर ३४ करोड २१ लाख रुपैयाँ कायम भएको छ । एकातिर खराब कर्जाको दबाब र अर्कोतिर आम्दानी तथा नाफामा गिरावट । 

यस्तो अवस्थामा बैंकको वित्तीय अनुशासन र व्यवस्थापन क्षमतामाथि प्रश्न उठ्नु स्वाभाविक हो । तर अहिले गरिमा विकास बैंक यो भन्दा ठूलो विवादमा तानिएको छ र त्यो हो बालुवाटारको घरजग्गा खरिद प्रकरण । 

जग्गा किन्दा बजार मूल्यभन्दा ३५ करोड बढी  !

काठमाडौं महानगरपालिका–४, बालुवाटारमा रहेको कित्ता नम्बर ४९ को २ रोपनी ५ आना १ पैसा अर्थात् ३७.२६ आना जग्गा र त्यसमा बनेको ४७ हजार ६ सय २१ वर्गफिटको भवन गरिमा विकास बैंकले खरिद गरेको थियो । मालपोत कार्यालय डिल्लीबजारको अभिलेखअनुसार उक्त सम्पत्तिको धनी शिखर इन्स्योरेन्सका पूर्वअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ हुन् । 

स्थानीय घरजग्गा व्यवसायी तथा स्वतन्त्र मूल्यांकनकर्ताहरूका अनुसार उक्त क्षेत्रको चलनचल्तीको मूल्य प्रतिआना ८० देखि ९० लाख रुपैयाँ हाराहारी छ । तर बैंकले भने प्रतिआना १ करोड ५६ लाख १४ हजार ९२२ रुपैयाँका दरले जग्गाको मूल्य कायम गरेको देखिन्छ । 

९० लाख प्रतिआनाका दरले हिसाब गर्दा जग्गाको मूल्य करिब ३३ करोड ५३ लाख रुपैयाँ हुन्छ । तर बैंकले जग्गाका लागि मात्रै ५८ करोड १८ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको छ । यसरी तुलना गर्दा जग्गामा मात्रै करिब २४ करोड ६५ लाख रुपैयाँ बढी खर्च भएको देखिन्छ । भवनको मूल्यांकनमा पनि यस्तै प्रश्न उठेको छ । 

बैंकले ४७ हजार ६ सय २१ वर्गफिटको भवनलाई ३९ करोड ३१ लाख ८८ हजार रुपैयाँ मूल्यांकन गरेको छ । यो हिसाबले प्रतिवर्गफिट करिब ८ हजार २५६ रुपैयाँ । 

निर्माण व्यवसायीहरूका अनुसार सामान्य गुणस्तरको भवन निर्माणमा प्रतिवर्गफिट ३ हजार २ सयदेखि ३ हजार ६ सय रुपैयाँ र उच्चस्तरको निर्माणमा ४ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको छ । प्रतिवर्गफिट ६ हजार रुपैयाँलाई आधार मान्दा भवनको मूल्य करिब २८ करोड ५७ लाख रुपैयाँ हुन्छ । तर बैंकले ३९ करोडभन्दा बढी तिरेको छ । 

यसरी भवनमा मात्रै करिब १० करोड ७४ लाख रुपैयाँको मूल्य अन्तर देखिन्छ । जग्गा र भवन दुवैको मूल्य तुलना गर्दा बजार मूल्यको अनुमानभन्दा करिब ३५ करोड ४० लाख रुपैयाँ बढी भुक्तानी भएको देखिन्छ । त्यसैले पनि यति ठूलो मूल्य अन्तर देखिएपछि खरिद प्रक्रियाको निष्पक्ष छानबिन जरुरी देखिएको छ । तर बंैकका पदाधिकारीहरु यो घरजग्गा खरिद गर्दा सबै प्रक्रिया पु¥याएको दाबी गर्छन् । तर चलनचल्तिको मूल्यभन्दा निकै बढि मूल्य हालेर यो घरजग्गा खरिद भएपछि यो पुरै स्वार्थकेन्द्रीत खरिदविक्रि देखिएको छ । 

बैंकमा माधव प्रसाद उपाध्याय प्रमुख कार्यकारी अधिकृत सीईओ छन् भने अनिल रेग्मी डेपुटी सीईओ हुन् । त्यसैगरी यो बैंकमा बोर्ड अफ डाइरेक्टरर्स अन्तर्गत दिलिप प्रताप खाँण अध्यक्ष र निर्देशकहरुमा श्याम प्रसाद बस्याल, दीपेन्द्र श्रेष्ठ, मुकुन्दराज आचार्य, विमल पाण्डे, शोेभाकान्त ढकाल र लुश्मा कोइराला रहेको छन् ।

राष्ट्र बैंकको नियमन कहाँ पुग्यो ?

यहाँ सबैभन्दा गम्भीर प्रश्न नेपाल राष्ट्र बैंकको भूमिकामाथि देखिएको छ । बैंक तथा वित्तीय संस्थाको नियमन, निरीक्षण र सुपरिवेक्षण गर्ने जिम्मेवारी राष्ट्र बैंकको हो ।

 बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ५० ले बैंक तथा वित्तीय संस्थालाई आफ्नै प्रयोजनका लागि आवश्यक पर्नेबाहेक अचल सम्पत्ति खरिद गर्न रोक लगाएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशनले पनि आफ्नै प्रयोजनका लागि सम्पत्ति खरिद गर्दा निश्चित सर्त, पुँजीको सीमा र लेखांकनसम्बन्धी व्यवस्था गरेको छ । तर बैंकले आफ्नै प्रयोजनका लागि सम्पत्ति खरिद गर्ने कानुनी सर्त पूरा गरेको छ कि छैन, पुँजी पर्याप्तताको सीमाभित्र छ कि छैन, सम्पत्तिको मूल्यांकन र खरिद प्रक्रिया उचित छ कि छैन तथा सञ्चालक र व्यवस्थापनले संस्थागत हितविपरीत निर्णय गरेका छन् कि छैनन् भन्ने विषयमा नियामकीय निकाय भएकाले राष्ट्र बैंकले निगरानी राख्ने पर्ने हो । तर राष्ट्र बैंकले यी सबै गरेको पाइन्न । कुनै उजुरी आए छानविन गर्न सक्ने भन्दै राष्ट्र बैंक यसमा पन्छिने गरेको छ । नियमनकारी निकायको मौनताले थप आशंका जन्माएको छ ।

मिलेमतो थियो कि संस्थागत निर्णयमा कमजोरी ?

यति ठूलो रकमको कारोबारमा बैंकका निर्णयकर्ताहरूको जिम्मेवारीबाट पन्छिन मिल्दैन । सञ्चालक र व्यवस्थापनबीच मिलेमतो भएको, जग्गाधनी र बैंकका अधिकारीबीच अस्वाभाविक सम्बन्ध रहेको, मूल्यांकन प्रभावित पारिएको वा बढी भुक्तानीबाट कसैले व्यक्तिगत लाभ लिएको हो कि होइन भन्ने विषय छानबिनबाट स्पष्ट हुनुपर्छ । 

यदि खरिद प्रक्रिया पूर्ण रूपमा पारदर्शी थियो भने बैंकले स्वतन्त्र मूल्यांकन प्रतिवेदन, खरिदसम्बन्धी सञ्चालक समितिको निर्णय, भुक्तानी विवरण र सम्पत्ति खरिदको औचित्य सार्वजनिक गर्न कुनै अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन ।  

एकातिर बैंकको खराब कर्जा बढिरहेको छ भने अर्कोतिर नाफा घटिरहेको छ । त्यसमाथि जनताको निक्षेपबाट संकलित रकम प्रयोग गरेर बजार मूल्यभन्दा करोडौँ बढी तिरेर सम्पत्ति खरिद गरिएको विषयबाट गरिमा विकास बैंक भाग्न सक्दैन । 

बैंकिङ क्षेत्रको अभिभावक राष्ट्र बैंकले यसको जवाफ खोज्न किन अग्रसरता देखाएको छैन ? गरिमा विकास बैंकको बालुवाटार जग्गा खरिद प्रकरणले अब यी सबै प्रश्नहरुको जवाफ खोजिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update