काठमाडौं । वर्षौँदेखि खण्डहर बन्दै गएका सरकारी उद्योगमा फेरि मेसिन चल्ने संकेत देखिएको छ । हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएसँगै विराटनगर जुट मिलसहित सात ठूला उद्योगलाई निजी क्षेत्रसँगको साझेदारीमा आधुनिक बनाएर सञ्चालन गर्ने सरकारी तयारीले गति लिदै गएको छ ।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी निर्णयअनुसार अहिले परीक्षण उत्पादन भइरहेको छ । उद्योगका ४८८ मेसिनमध्ये नेपाली सेनाले मर्मत तथा सरसफाइ गरेपछि २० वटा लुमबाट कपडा बुन्ने परीक्षण सुरु गरिएको हो भने बाँकी मेसिन मर्मतको क्रममा छन् ।
यही परीक्षणकै क्रममा रहेको हेटौँडा कपडा उद्योगलाई पुराना मेसिन विस्थापन नगरी तिनको क्षमता पहिचान गर्दै नयाँ प्रविधि, स्वचालन र नवप्रवर्तन जोडेर पुनर्जीवित गर्ने योजना सरकारले अघि सारेको छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले उद्योगका पुराना उपकरणको प्राविधिक परीक्षण, मर्मत, स्तरोन्नति र आधुनिकीकरणमार्फत उद्योग पुनः सञ्चालनको सम्भावना खोजिने बताएका छन् । शुक्रबार उद्योगको अवलोकन गर्दै मन्त्री पुनले दशकौँ पुराना मेसिन भए पनि कतिपय अझै प्रयोगयोग्य अवस्थामा रहेको बताए । सबै मेसिन तत्काल विस्थापन गर्नुभन्दा तिनको अवस्था परीक्षण गरी आवश्यक प्रविधि थप्न सकिने मन्त्री पुनको धारणा छ ।
उद्योगमा प्रयोग हुने सानासाना पार्टपुर्जा तथा उपकरणसमेत स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना खोजिने उनले बताए । उद्योगमा २०३६ सालदेखि काम गर्दै आएका प्राविधिक तथा इन्जिनियरहरूको अनुभवलाई पनि पुनः सञ्चालनको आधार बनाइने मन्त्री पुनको भनाइ छ ।
मेसिनको डिजिटल निगरानी प्रणाली, उत्पादन प्रक्रियाको स्वचालन, ऊर्जा दक्षता र गुणस्तर परीक्षणजस्ता आधुनिक प्रविधि क्रमशः थप्न सकिए उद्योगलाई कम लागतमा प्रतिस्पर्धी बनाउन सकिने सम्भावना रहेको र यसका लागि प्राविधिक टोली गठन गरी विस्तृत अध्ययन गरिने मन्त्री पुनले बताए । मन्त्रालयले सबै आर्थिक स्रोत जुटाउन नसके पनि अनुसन्धान र नवप्रवर्तनमा सहयोग गर्न सक्ने उनले बताए ।
दक्ष प्राविधिक टोली र अनुसन्धानलाई प्राथमिकता दिँदै तत्काल पुरानै क्षमतामा नभए पनि चारदेखि सात सय जनालाई रोजगारी दिने लक्ष्यसहित उद्योगलाई पुनर्जीवन दिनुपर्ने मन्त्री पुनको जिकिर छ ।
२०५६ सालदेखि उत्पादन बन्द गरेको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । २०५९ सालमा सरकारले औपचारिक बन्द गर्ने निर्णय गरेको उद्योग बजार व्यवस्थापनको कमजोरी, प्रविधि आधुनिकीकरणको अभाव, लोडसेडिङ, राजनीतिक हस्तक्षेप, बढी जनशक्ति र कमजोर व्यवस्थापनका कारण धराशायी बनेको थियो ।
अरु उद्योगहरुमा पनि चासो
सरकारले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने प्रक्रिया केही समय अघिदेखि नै बढाएको हो । अर्थ मन्त्रालयले पहिलो चरणमा सात उद्योगको विस्तृत लेखापरीक्षण तथा मूल्यांकन सुरु गरेको छ । गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौँडा कपडा उद्योग र उदयपुर सिमेन्ट उद्योग सञ्चालनको सम्भावना खोजिँदैछ ।
सरकारले यी उद्योग सार्वजनिक–निजी साझेदारी पीपीपी मोडलमा सञ्चालन गर्ने लक्ष्य राखेको छ । योसँगै लामो समयदेखि बन्दै रहेको ९० वर्ष पुरानो नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा पीपीपी मोडलमा उद्योग सञ्चालन गर्न रणनीतिक लगानीकर्ताबाट आशयपत्र माग गरिएको छ । उद्योगमन्त्री इन्जिनियर दीपककुमार साहले जुट मिल पुनर्जीवनका लागि प्रक्रिया अघि बढाएका हुन् । विराटनगर जुट मिल लिमिटेडले मंसिर ९ गते सूचना जारी गर्दै उद्योगको पुनरुत्थान, आधुनिकीकरण तथा दीर्घकालीन सञ्चालनका लागि इच्छुक स्वदेशी तथा विदेशी लगानीकर्तालाई ३५ दिनभित्र आशयपत्र पेस गर्न आह्वान गरिसकेको छ ।


