काठमाडौं । नेपाली कांग्रेस औपचारिक रुपमै विभाजन भइसकेको छ भन्दा फरक पर्दैन्। तर, उनीहरुले सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको मुद्दालाई देखाएर कार्यक्रम भने कांग्रेसको झण्डामै गरिरहेका छन्। यस्तोमा आधिकारिकता विवादमा सर्वोच्चको विलम्बकाबीच चलिरहेका तनावकाबीच शेरबहादुर देउवा पक्षको महाधिवेशनको रस्साकस्सी बढेको छ ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा संगठनात्मक गतिविधि, प्रचारप्रसार र नेतृत्व चयनको आन्तरिक कसरत एकसाथ अघि बढिरहेका छन्। महाधिवेशनको तयारीसँगै देउवा पक्षभित्र विभिन्न पदमा आकांक्षा राख्ने नेताहरू पनि खुल्न थालेका छन्। देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन गर्ने तयारी गरेको छ ।
महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँट गरिएको छ । जिल्ला र प्रदेश तहका अधिवेशनमार्फत नेतृत्व चयन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टरको शनिबार प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले उद्घाटन गरेका छन् । मिडिया सेन्टर सञ्चालनमा आएसँगै महाधिवेशनसम्बन्धी सूचना सम्प्रेषण र सञ्चार समन्वयलाई व्यवस्थित बनाउने समूहको तयारी छ। मिडिया सेन्टर उद्घाटनका क्रममा महतले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै पार्टीको नाम, झण्डा र चुनाव चिह्न रूख प्रयोग गर्न कसैले रोक्न नसक्ने बताएका छन् ।
१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको उनको जिकिर थियो। उसोतः महतले आफ्नो पक्ष एकीकृत कांग्रेस चाहने पक्ष भएको जिकिर समेत गरेका छन् । सामाजिक सञ्जालको प्रभाव तथा विभिन्न भ्रमका कारण पार्टीको मूलधारबाट अलग भएका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्किन पनि उनले आग्रह गरेका छन्। यता, महाधिवेशनमा सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने आफ्नो चाहना रहेको पनि महतले बताएका छन्। यद्यपि, पदाधिकारीका आकांक्षीहरू बढ्दै जाँदा सहमतिको प्रयास र आन्तरिक प्रतिस्पर्धा दुवैलाई व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ।
महामन्त्रीमा चर्को प्रतिष्पर्धाको संकेत
महाधिवेशनको तयारीसँगै देउवा पक्षमा महामन्त्री पदका आकांक्षीहरू खुल्न थालेका छन्। केही नेताले सार्वजनिक रूपमै उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले निकटस्थ नेता तथा महाधिवेशन प्रतिनिधिमार्फत आफ्नो दाबी अघि बढाइरहेका छन् । महामन्त्री पदका लागि पूर्वगृहमन्त्री रमेश लेखकले आन्तरिक तयारी अघि बढाएका छन् । त्यस्तै, पूर्वमन्त्री मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै बस्नेतले आवश्यक नेताहरूसँग परामर्श गरिसकेको र अब महामन्त्रीमा चुनाव लड्ने तयारीमा रहेको स्पष्ट पारेका हुन् ।
बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्ले पनि महामन्त्रीका आकांक्षीमध्ये एक हुन्। १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका काफ्ले जिल्ला तथा प्रदेश अधिवेशनमा सहभागी हुँदै महामन्त्रीका लागि मत मागिरहेका छन् । उनले प्रदेश अधिवेशन सम्पन्न भएपछि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बताएका छन्। त्यस्तै, केन्द्रीय सदस्य गुरु बरालले पनि महामन्त्री पदमा उम्मेदवारी दिने स्पष्ट पारेका छन् । राष्ट्रियसभा सदस्य तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेत पनि महामन्त्रीका आकांक्षी हुन्। पूर्वकेन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले पनि महामन्त्रीमा आकांक्षा प्रकट गरिरहेको बताइन्छ ।
युवा नेता भूपेन्द्रजंग शाहीले भने सामाजिक सञ्जालमार्फत नै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी विभिन्न जिल्लामा पुगेर प्रतिनिधिहरूसँग समर्थन मागिरहेका छन् । १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित उमाकान्त चौधरी पनि महामन्त्री पदका सम्भावित दाबेदारका रूपमा चर्चामा छन् । यद्यपि, उनले आफ्नो उम्मेदवारीबारे औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।
पदाधिकारी संख्या बढाउने तयारी
देउवा पक्षले महाधिवेशनलाई लक्षित गर्दै पार्टी विधान संशोधनको तयारीसमेत गरिरहेको छ। हालको पदाधिकारी संरचनामा परिवर्तन गर्दै उपसभापति र महामन्त्रीको संख्या बढाउने प्रस्ताव अघि सारिएको छ । उनीहरुले उपसभापति र महामन्त्रीमा दुई–दुई पद थप गर्ने गरी विधान संशोधनको तयारी भइरहेको नेताहरूले बताएका छन् ।
प्रस्तावअनुसार एक महिलासहित चार जना उपसभापति र एक महिलासहित चार जना महामन्त्री रहने व्यवस्था गर्न सकिने विषयमा छलफल भइरहेको छ । विधान संशोधनका लागि शिव हुमागाईंको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा रहेकी रंगमती शाहीले विधान संशोधनको काम भइरहेको र पदाधिकारी संख्या बढ्न सक्ने बताएकी छन्।
प्रदेश अधिवेशन र महाधिवेशनको व्यवस्थापनमा जोड
देउवा पक्षले महाधिवेशनअघि वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा अधिवेशन सम्पन्न भइसकेका छन् । गण्डकीमा मेखलाल श्रेष्ठ र लुम्बिनीमा रोज राणा प्रदेश सभापतिमा निर्वाचित भएका छन् ।
बाँकी प्रदेशमा पनि अधिवेशनको कार्यतालिका बनाएर तयारी अघि बढाइएको छ । कर्णालीमा मंसिर १३, मधेशमा १४, सुदूरपश्चिममा १५, कोशीमा १७ र बागमतीमा १८ मंसिरका लागि अधिवेशन तय गरिएको छ ।
महाधिवेशन व्यवस्थापनका लागि प्रचारप्रसार समितिको संयोजकमा डा. प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ। महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने तयारीसमेत गरिएको छ ।
सभापतिमा अधिकतम सहमतिको प्रयास
देउवा पक्षले १५ औं महाधिवेशनबाट सभापति समेत चयन गर्नेछ। जसमा सभापतिका आकांक्षीहरुको संख्या भने धेरै देखिन्छ। देउवाले डा. शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन भने अन्य नेताहरुले समेत चासो राखेपछि देउवाले निर्णय लिइसकेका छैनन् । जसकारण कोइरालासंगै सभापतिका लागि विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत र एनपी साउदले लगायतका नेताहरुले तीब्र आकांक्षा देखाएका छन्।
यता, यता निधिले शशांकसँग भेटेर सभापतिमा सहयोग मागेका छन् । १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका सिंह र सिटौला पनि आफ्नो दाबीबाट पछि हटेका छैनन् । देउवानिकट महत र पूर्वमन्त्री साउदले समेत नेतृत्वमा आकांक्षा देखाएका छन् । तर, अन्तिम समयसम्म सहमति खोज्ने प्रयास गर्ने नेताहरुले बताउने गरेका छन् ।


