काठमाडौं । सरकारविरुद्ध प्रतिपक्षी दलहरूले संसदमा कडा विरोधको तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरुले संसदको अधिवेशन शुरु भए लगत्तै सदन तताउने तयारी गरेका हुन् ।
प्रतिपक्षी दलहरूले उठाएका गम्भीर प्रश्न र अध्यादेशको चर्चाबिच अबको राजनीतिक दिशा कता जाँदैछ ?
के सरकार संसद छलेर अघि बढ्न खोज्दै छ, कि प्रतिपक्षले सदनलाई नै राजनीतिक टकरावको थलो बनाउने तयारी गरेको हो ? सरकारका पछिल्ला गतिविधि र निर्णयहरूमाथि गम्भीर प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा एमाले र नेकपालगायतका दलहरूले सदनमा संयुक्त मोर्चाबन्दी कस्ने तयारी थालेका छन् ।
छठपछि भीषण सडक संघर्षको तयारी थालेका विपक्षी दलहरुले सडक संघर्ष भने शुरु गर्न सकेका छैनन् । तर अबको संसद अधिवेशनमा भने सरकारको गतिविधिको ब्यापक भण्डाफोर गर्ने तयारी गरेका छन् । सरकारका हरेक कामकारबाहीको संसदबाटै स्पष्ट जवाफ माग्ने उनीहरुको भनाई छ । प्रतिपक्षी दलहरूले सरकारलाई सदनमा घेर्ने मुद्दाहरुको लामो सूची नै तयार पारेका छन् । खासगरी प्रधानमन्त्रीको भारत भ्रमणको मुद्दाका साथै जनजीविकाका मुद्दा प्राथमिकतामा छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादको संवेदनशील विषय नउठाएकोदेखि बाढीपीडितको विचल्ली बनाएको विषय प्रमुख मुद्दा बनाइदैछ । त्यस्तै सुनकोसी–मरिण आयोजनाका प्रोजेक्ट म्यानेजरमाथि गरिएको धरपकड, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बर्खास्ती, न्यायालयको मर्यादामाथिको प्रश्नलाई विपक्षीले प्रमुख एजेण्डा बनाउदैछन् ।
यसअघि सरकारलाई सक्दो सहयोग गरेको दाबी गर्दै आएको कांग्रेसले अब भने सहनशीलताको सीमा नाघेको चेतावनी दिएको छ। सरकारका हरेक कामको संसदमा जवाफ माग्ने र यदि जवाफ नदिए आफूहरू पनि चुप लागेर नबस्ने कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बताउँछन् ।
उता यसअघि सडकबाटै सरकार ढाल्ने र आन्दोलन चर्काउने बताउँदै आएका नेकपा एमाले र नेकपाले पनि अब संसदमा सशक्त विरोध गर्ने रणनीति अख्तियार गरेका छन् । तर सदन बोलाएर प्रतिपक्षको सामना गर्नुको साटो सरकारले संसद छलेर केही अध्यादेश ल्याउने तयारी थालेको भन्दै प्रतिपक्षी दलहरू थप सशङकित छन् ।
उसोत मन्त्रिपरिषदको १७ कात्तिकको निर्णयबाट सिफारिस गरेका प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी केही नेपाल ऐन र जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३ राष्ट्रपतिले होल्ड गरेका छन् । यस बाहेक सरकारले अझै केही अध्यादेश ल्याएर मात्रै संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।
अध्यादेशबाट सरकार चलाउन खोजिएको भन्दै विपक्षी दलहरु सशंकित छन् । सरकार लोकतान्त्रिक बाटोमा हिड्न नचाहेको उनीहरुको आरोप छ ।
अन्य प्रतिपक्षी तथा मधेसकेन्द्रित दलहरूले पनि आ–आफ्ना एजेन्डासहित दबाब बढाएका छन् । मधेसकेन्द्रित दलहरूले संविधान संशोधन, निर्वाचन प्रणाली सुधार र जनजीविकाका सवाललाई मुख्य मुद्या बनाउँदै आन्दोलनको तयारी गरिरहेका छन् । चौतर्फी विरोध र मोर्चाबन्दीको तयारीकाबिच प्रतिपक्षी दलहरू सदन खुल्ने दिनको प्रतीक्षामा छन् । तर सरकारले संसद अधिवेशन कहिले बोलाउने भन्ने विषयमा अझै ठोस निर्णय गरिसकेको छैन ।
यही २३–२४ मंसिरमा काठमाडौंमा हुन लागेको पूर्वाधार सम्मेलनलाई लक्षित गरेर सरकारले अध्यादेश ल्याउने र त्यस त्यसलगत्तै संसद् अधिवेशन बोलाउने चर्चा भइरहेको छ । बढ्दो यो राजनीतिक ध्रुवीकरणले आगामी दिनमा संसदीय प्रक्रियालाई कता डो¥याउला ? के सरकारले प्रतिपक्षी दलहरूले उठाएका प्रश्नहरूको चित्तबुझ्दो जवाफ संसदबाटै दिन तयार होला, वा अध्यादेशको बाटो रोजेर थप राजनीतिक टकराव निम्त्याउला ? अब सरकार र प्रतिपक्षबिचको यो राजनीतिक रस्साकस्सी कसरी अघि बढ्छ, त्यो भने हेर्न बाँकी नै छ ।


