News 24 Television

काठमाडौं । पछिल्ला केहि समय प्रहरीले पक्राउ गर्नेबित्तिकै बिरामी भएको भन्दै अस्ताल भर्ना हुने क्रम मौलाएको देखिन्छ । 

सोमबार सुन तस्करी प्रकरणमा पक्राउ परेका सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि पक्राउ पछि बिरामी भन्दै अहिले नर्भिक अस्पतालमा बसेर हिरासत कटाउँदैछन् । 

यसरी विभिन्न आरोपमा प्रहरीले पक्राउ परेका आरोपी तथा अभियुक्त पक्राउ पछि बिरामी भएको भन्दै अस्पताल भर्ना हुनेको नाममा राजनितिक दलका नेता, व्यवसायीदेखि कलाकार तथा साधुसन्त सम्म देखिन्छन् । 

पछिल्लो समय एउटा अनौठो संक्रामक रोग देखापरेको छ । त्यो रोग हो, प्रहरीले पक्राउ गरेपछि तत्तकाल अस्पताल नै भर्ना गर्नुपर्ने रोग । यस्तो प्रकारको रोगबाट पछिल्लो समय धेरै संक्रमित समेत बनिसकेका छन् । यही रोगबाट सोमबार ग्रसित बने सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा । 

सुन तस्करी प्रकरणमा पक्राउ पर्नु अघिसम्म महरा ठीकठाक नै थिए । उनी निकटका अनुसार विहान मर्निङ वाक समेत भ्याइसकेका थिए । तर तीनै महरा पक्राउ परेपछि भने नराम्रोसँग थलिए । 

त्यसपछि उनलाई काठमाडौँ जिल्ला अदालतले अस्पतालमै ४ दिनसम्मको हिरासतमा बस्ने आदेश दियो । महराले आफूलाई टीभी, युरिक एसिड, प्रोस्टेड लगायतका स्वास्थ्य समस्या रहेको भन्दै अहिले नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

सुन प्रकरणमा पक्राउ परेका महरा मात्र हैन गत माघमा बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरी तथा छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई पनि प्रहरीले पक्राउ गर्नेबित्तिकै यस्तै संक्रमणले छोएको थियो । 

जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई पनि ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दियो । थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै चिरायु अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले पक्राउ गरे पछि स्वास्थ्य अवस्था विग्रेर अस्पताल भर्ना हुनुपर्ने विरामीको सूचीमा कलाकार अनमोल केसी पनि थपिए । 

गत असोजमा आर्थिक विश्वासघात गरेको आरोपमा कलाकार केसीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको केहि समयमै उनको स्वास्थ्य अवस्था यस्तरी बिग्रियो कि केसीलाई चिरायू अस्पतालमै भर्ना गर्नु प¥यो । कृष्णदास गिरी सिद्धबाबा पनि प्रहरीले पक्राउ गरेपछि हिरासत छल्न स्वास्थ्य समस्या देखाउँदै अस्पताल पुगे । 

बलात्कारको आरोपमा गिरीलाई प्रहरीले २०७६ मंंसिरमा पक्राउ गरेको थियो । जेलको हिरासत छल्न उनी लामै समय अस्पताल बसे । प्रहरीको हिरासत छल्न अस्पताल भर्ना भएका यी माथिका केही नामहरु प्रतिनिधि पात्र मात्रै हुन् । 

यस्ता कैयौ छन् जसले पहुँच वा सेटिङको आधारमा पक्राउ पर्ने बित्तिकै हिरासत छल्न अस्पताल पुग्ने सुत्र प्रयोग गरेका छन् । पक्राउ पर्ने बित्तिकै विरामी हुने र अस्पताल पुग्नेहरु हिरासत बाहिर जाने दिन भने अचानक ठीक हुने गरेका छन् । 

त्यत्रो दिन चिकित्सकको निगरानीमा अस्पताल बसेका उनीहरु बाहिर निस्कने दिन भने डिस्चार्ज लगायतका प्रक्रियाहरु पुरा गरेको देखिदैन । त्यसो त पक्राउ परेकाहरु अस्पताल जानै नपाउने भन्ने होइन । 

प्रहरीको हिरासतमा रहेका जोकोही लाई स्वास्थ्यमा समस्या आएको अवस्थामा उपचारका लागि सरकारी अस्पताल लैजानुपर्ने नियम छ । तर त्यही नियम कानुनलाई माध्यम बनाएर स्वास्थ्यमा कुनै नआए पनि हिरासत छल्न लागि स्वास्थ्य समस्या देखाएर अस्पताल भर्ना हुने प्रवृत्ति भने आश्चर्यलाग्दो तरिकाले मौलाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update