News 24 Television
फेवातालको कस्तो विजोग, ढलको फोहोर र दुर्गन्धले पर्यटन हैरान 

कास्की । केही दिन अघिमात्र प्रधानमन्त्रीले  तामझामका साथ पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरे । तर, फेवातालको किनारबाट गरिएको त्यो घोषणाले पोखरालाई गिज्याएको देखिन्छ । पर्यटकको राजधानी क्षेत्रकै ताल फेवामा देखिएको फोहर र अव्यवस्थितपनले यो अवस्था देखिएको हो । 

यो दृश्य देख्दा तपाईलाई लाग्ला यो कुनै डम्पिङ साइडको हो । तर नझुक्किनुहोस् यो डम्पिङ साइड होइन । यो त भर्खरै पर्यटकीय राजधानी घोषणा गरिएको पोखराको प्रमुख आकर्षण मध्येको एक फेवाताल हो । फेवातालको दक्षिणी भाग जसलाई गाइघाट भनेर चिनिन्छ । यही गाइघाटमा पोखराको ढलमति अर्थात् फिर्के खोलाको ढल लिएर फेवातालमा मिसिन्छ । 

फेवाको कन्चन पानीलाई ढलमा परिणत गरिदिएको छ फिर्केखोलाले । बर्षेनी खोलाले बगाएर ल्याएको फोहोरका कारण गाइघाट स्थित फेवातालको झण्डै २० रोपनी भुभाग पुरिएको मात्रै छैन फोहोरका कारण अत्यन्तै दुर्गन्धित समेत बनेको छ । फिर्के किनार सँगै रहेर वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी गणबाट निस्कने शौच समेत यहि फिर्के मार्फत फेवामा हालिन्छ ।

 फिर्केखोलाले बगाएर ल्याएको फोहोर तालमा मिसिन नदिन जाइकाको सहयोगमा बनाइएको चेक ड्याम बाढीले बगाएको बर्षौ भयो । तर त्यसको मर्मतगरि फेवा जोगाउन कुनैपनि निकायको ध्यान गएको छैन । 

ताल प्राधिकरणमा फेवा जोगाउने भनेर ५० लाख रकम विनियोजन भएपनि प्राधिकरणको तत्कालिन नेतृत्वले काम अगाडी नबढाउदा त्यो रकम फ्रिज भएको छ । फेवाको सौन्दर्य बेचेर ब्यापार गर्नेहरुदेखि तालको गुनगान गाएर नथाक्ने सम्वन्धित निकायकै गैह्र जिम्मेवारपनका कारण फेवाको अस्तित्व संकटमा परेको छ ।  

त्यसो त नागरिक समाजदेखि पर्यटन व्यवसायी सबैले फेवाको यो दुर्दशा प्रति पोखरा महानगरपालिका र अन्य सरकारी निकाय सामु खबरदारी नगरेका पनि होइनन् तर यसतर्फ कुनैपनि निकायले खासै चासो देखाएको पाइदैन  । पर्यटकीय नगरि घोषणा सभामा पोखराको विकासमा चन्द्रमानै झारेर ल्याउने आश्वासन बाडियो तर फेवातालको यो पीडा प्रति छलफल त भयो, त्यसलाई निचोडमा पुर्याउन भने  सकीएको छैन ।  

फेवाताल संरक्षणमा निकै कठोर भएर लाग्ने बताउँदै आएका पोखराका मेयर धनराज आचार्य पनि आजकाल सेलाएका छन् । यता, पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइड अर्थात पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई यस्तो बताउँछन् ।

हो, फेवातालको कुरुपताबारे प्रश्न गर्दा सबै निकै चिन्तित देखिन्छन् तर बर्षौ भयो त्यो चिन्ताले पोलेर ताल जोगाउन भने कोहीपनि लागेको देखिदैन । 
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update