News 24 Television
२२ विगाहमा १० मेगावाटको सौर्य उर्जा सुरु,  सौर्य उर्जामा ठूलो उपलव्धि

झापा । झापामा कोशी प्रदेशकै ठूलो सौर्य परियोजना सञ्चालनमा आएको छ । झापा इनर्जीले उत्पादित बिजुलीको नमूना परीक्षण सकाएसँगै अहिले निरन्तर उत्पादन सुरु भइसकेको छ ।

सोलार प्यानलमार्फत उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ । सौर्य ऊर्जा परियोजनाले निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको विद्युत् उत्पादन झापामा सुरु गरेको हो ।

झापाको शिवसताक्षी नगरपालिका–४ सालमारामा निर्माण गरेको झापा इनर्जी सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको हो । 

पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २२ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ । सोही स्थानमा सौर्य प्यानल राखिएको छ । 

झापा क्षेत्र नं ४ का संघिय सांसद एलपी साँवाको नेतृत्वमा ८५ करोड रुपैयाँको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो ।

परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत र २५ प्रतिशत स्थानीयको वित्तीय साझेदारी छ । परियोजना स्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ । सबस्टेशनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले ९ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो । 

झापा इनर्जी प्रालि र प्राधिकरण बीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विद्युत प्राधिकरणले प्रति युनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ । 

दैनिक ५० हजार युनिट विजुली उत्पादन भइरहेको यो आयोजनाको सौर्य उर्जाबाट वार्षिक १२ करोड ८० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

विदेशमा जस्तै नेपालमा पनि सौर्य ऊर्जाको ठूलठुला परियोजनाहरु सञ्चालन गर्न सकिने जानकारहरु बताउँछन् । वातावरणमा कुनैपनि प्रतिकुल असर नगर्ने हुँदा नेपालमा सौर्य उर्जा उत्पादन बढाउनु पर्ने विज्ञहरुको सुझाव छ ।  

यो सौर्य ऊर्जा परियोजनाको शिलान्यास विसं २०७८ मा तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए भने उद्घाटन विसं २०८० साल माघ २३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update