News 24 Television

काठमाडौँ । विभिन्न सूचांकलाई आधार मानेर हरेक वर्ष विश्वमा सबै भन्दा खुसी हुने मुलुकको सूची सार्वजनिक गर्ने गरिन्छ । सन् २०२४ को वल्र्ड ह्यापिनेस रिर्पोट अर्थात विश्व खुसी प्रतिवेदन पनि सार्वजनिक भइसकेको छ । १ सय ४३ देशमध्ये खुशी हुने देशको सूचीको पहिलो स्थानमा यसपटक पनि फिनल्याण्ड रहेको छ । यही सूचीमा नेपाल भने ९३ औँ स्थानमा छ ।

मानिसहरु खुशी हुनका लागि केही निश्चित आधार र सूचांकहरुको मापदण्ड बनाइएको छ । यीनै मापदण्डलाई आधार मान्दै वर्षेनी विश्वका खुशी हुने देशहरुको सूची सार्वजनिक हुँदै आएको छ । सन् २०२४ को वल्र्ड ह्यापिनेस अर्थात विश्व खुशी प्रतिवेदनमा यसपटक पनि युरोपेली राष्ट्र फिनल्याण्डले बाजी मारेको छ । १ सय ४३ देशमध्ये खुशी राष्ट्रको पहिलो सूचीमा फिनल्याड छ । 

यसपटक समेत गरी फिनल्याण्ड सातपटक उत्कृष्टको सूचीमा परिसकेको छ । उत्कृष्ट १० को सूचीमा फिनल्याण्डपछि क्रमशः डेनमार्क, आइसल्याण्ड, स्वीडे्न, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीटजरल्याण्ड र अष्ट्रेलिया रहेका छन् । 

यो प्रतिवेदनको उत्कृष्ट १० राष्ट्रको सूचीमा अधिकांस युरोपेली देशहरुकै दबदबा हुने गर्छ । यसपटक पनि उत्कृष्ट १० मा स्वीटजरल्याण्ड, इजरायल र अष्ट्रेलिया बाहेक अन्य ७ राष्ट्र युरोपकै छन् । 

विश्वभरका खुशी राष्ट्रहरुको सूचीमा पाँचौ स्थानमा रहेको इजरायल एसियाली देशहरुभित्र भने पहिलो स्थानमा छ । 

एसियाबाट विश्वकै खुशी राष्ट्रको सूचीमा १३ औँ स्थानमा कुवेत, २२ औ स्थानमा यूएई, २८ औँ स्थानमा साउदी अरेयिबा र ३० औँ स्थानमा सिंगापुर रहेको छ । यो सूचीमा अफ्रिकन देशहरुको अवस्था दयनीय देखिने गरेको छ । 

यसपटकको पहिलो लहरमा ३० देशहरुको सूचीमा एउटा पनि अफ्रिकन राष्ट्र छैन । प्रतिवेदनको खुशी हुने देशको सूचीमा नेपाल ९३ औँ स्थानमा छ । चीन ६० औँ स्थानमा छ भने भारत १ सय २६ औँ स्थानमा छ । खुशी हुने राष्ट्रको सूचीमा भारतभन्दा नेपाल ३४ स्थानले अगाडि छ । 

त्यस्तै वल्र्ड हयापिनेसको सूचीमा माल्दिभ्स र भुटानलाई समावेश गरिएको छैन । यो सूचीमा सबैभन्दा पुछारमा अफगानिस्तान रहेको छ । अफगानिस्तान सन् २०१० देखि नै खुशी राष्ट्रको सबैभन्दा तल रहँदै आएको छ । 

खुशी राष्ट्रको सूची ग्लालप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिशर्च सेन्टर, संयुक्त राष्ट्रसंघ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर एडिटोरियल बोर्डले तयार गरेको प्रतिवेदनका आधारमा तयार गरिन्छ । 

प्रतिवेदनमा उल्लेख भएको कुल गाहस्र्थ उत्पादन, प्रतिव्यक्ति आय, पारिवारिक सम्बन्ध, रोजगारीको सुरक्षा, स्वस्थ जीवन, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचारको अवस्था लगायतका आधारमा देशहरुको खुशीको अवस्थामा मापन गर्ने गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update