News 24 Television
सुहाङ जिताउन एमालेले दिन सक्छ कोशीमा यस्तो विकल्प (भिडियो)

काठमाडौं । कोशी प्रदेशको सत्ता जटिल मोडमा भएपनि नेतृत्वको लुछाचुडी शुरु भएको छ । केन्द्रको सत्ता समिकरण फेरिएसँगै प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा केन्द्रमा एउटा सहमति देखिएपनि प्रदेशमा यसले स्थायित्व पाउला ? प्रश्न पेचिलो बन्न पुगेको छ ।

कोशी प्रदेशमा उपचुनावको मिति नजिकिएसँगै दलहरु आन्तरिक तयारिमा जुटेका छन् । 

 

आन्तरिक तयारीमा उनीहरुले उम्मेदवार उठाउने विषयलाई केन्द्रमा राखेपनि यो विषय प्रदेशको सत्ता समिकरणमा आइपुगेर मिल्ने सम्भवाना छ । 

सबै दलले उम्मेदवार उठाउने निर्णय गरेपनि चुनाव एमालेका लागि शाखको विषय छ । यस्तो अवस्थामा एमालेले सुवास नेम्वाङमा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएपछि जित्नैपर्ने दबाबमा छ । तर, राजनीतिक तरलता र समिकरणमा मिलापको बिन्दुु पहिल्याउन नसकिएपछि यो विषय थप पेचिलो र संघर्षपूर्ण बन्ने निश्चित छ ।  यसकारण पनि कोशी सरकारको नेतृत्वका लागि रोचक हानाथाप हुने निश्चित देखिन्छ । 

कोशीको राजनीतिक दृश्य

कोशी प्रदेशमा कांग्रेसका केदार कार्की नेतृत्वको सरकार संविधानको अन्तिम विकल्पमा बनेको हो ।  संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार गैर दलीय भनिरहेको बेला फेरि सत्ता समिकरण फेरिएसँगै नेतृत्वको रस्साकस्सी चर्किएको छ । 

कोशीमा सबैभन्दा ठूलो दल नेकपा एमालेले सरकारको नेतृत्व स्वभाविक दाबी गरिरहेको छ । तर, मुख्यमन्त्री कार्कीले संविधानको अन्तिम विकल्पमा बनेको सरकार भएकाले अर्को विकल्प नभएको बताइरहेका छन् । 

उनले यतिमात्रै नभएर मध्यावधीको चेतावनी समेत दिदै आएका छन् । यस्तोमा एमाले–माओवादी केन्द्रले भने सर्वोच्चको आदेशकै कारण अर्को सरकार बन्ने दाबी गरिरहेका छन् । 

सर्वोच्चले सरकार बन्ने अन्तिम विकल्प भएसम्म संसद विघटन हुन सक्दैन भन्दै गरेको ब्याख्यालाई लिएर पछिल्लो समय बहस भरहेको छ । 

यस्तो अवस्थामा संसद विघटन होला  वा फेरि नयाँ सरकार बन्ला ? यो प्रतिक्षाको विषय बनिरहेको छ । तर, उपचुनावको समिकरणमा मिलाप खोजेर प्रदेश सरकारको नेतृत्वमा समेत सन्तुलन मिलाउने सम्भावना बलियो बन्दै गएको बताइन्छ ।

एमाले–माओवादी द्वन्द्ध

कांग्रेससहितको गठबन्धनको बेला मुख्यमन्त्रीका लागि बनेको सहमति एमालेले तोड्ने स्थिति सिर्जना गरिदियो । 

माओवादीमा इन्द्र आङ्बो मुख्यमन्त्री बन्ने अन्तिम समयमा आएर बाहिरिन बाध्य बने । यसको कारण थियो, एमाले । 

एमालेले माओवादी केन्द्रलाई मुखैमा आएको सत्ताको स्वाद चाख्न नदिएपछि माओवादी पनि नेतृत्व लिने पक्षमा लबिङ र दबाब गरिरहेको छ । तर, केन्द्रमा प्रचण्डले एमालेलाई ठूलो दलको नाताले सहजै सत्ता नेतृत्व दिने विषयमा सहमति जनाइसकेको बताइन्छ । यस्तोमा उपचुनाव कारण बन्ने देखिन्छ । 

उपचुनावमा माओवादी केन्द्रले पनि उम्मेदवार उठाउने निर्णय गरेपछि एमालेलाई दबाब बढेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीदेखि प्रायः पार्टीले उपचुनावमा सहभागीता जनाउने भएपछि पेचिलो बनेको कोशीमा अब सरकारको नेतृत्व माओवादीलाई दिने सहमति गरेर उपचुनावमा एमालेका उम्मेदवार सुहाङलाई माओवादीले सघाउने गरि मिलाउने सम्भावना बढ्दै गएको छ । तर, यस्ता प्राविधिक विषयमा मिल्न खोजिने बिन्दुहरु नै अस्पष्ट भएकाले एमाले–माओवादी द्वन्द्ध थप बढ्नेमा शंका छैन् ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update