News 24 Television
चक्रपथ विस्तारका लागि बल्ल तात्यो चीन, बजेट छुट्यायो, डिजाइन पठायो

काठमाडौँ । चीनले काठमाडौँको चक्रपथ विस्तार (सुधार) आयोजनाको दोस्रो चरणको काम अब छिटै अघि बढाउने छनक दिएको छ । सम्झौताको करिब ६ वर्षदेखि अलपत्र रहेको कलंकी–महाराजगन्ज चक्रपथ विस्तारको काम चाँडै अघि बढाउन चिनियाँ पक्ष तातिएको हो । चिनियाँ पक्षले उक्त खण्डको काम अघि बढाउन प्रारम्भिक डिजाइन नेपाल सरकारलाई पठाइसकेको जनाइएको छ भने सो आयोजनाका लागि बजेट समेत छुट्याएको बताइएको छ । यसअघि चक्रपथको उक्त खण्ड साइट क्लियरेन्स नभएको बहानामा चिनियाँ पक्षले विस्तारको काम रोकेको थियो । तर नेपाल सरकारले उक्त खण्डको साइट क्लियरेन्स अर्थात् रुख कटान र संरचना हटाउने काम गरिसकेको पनि ५ वर्ष बितेको छ । यसबीचमा चिनियाँ पक्षले उक्त काम अघि बढाउन जाँगर चलाएन । अहिले भने सक्रियता बढाएको छ ।

चक्रपथ विस्तारको काम चिनियाँ सरकारको अनुदानमा सम्पन्न गर्ने सहमतिअनुसार कोटेश्वरदेखि कलंकीसम्मको विस्तार कार्य (पहिलो खण्ड) २०७५ सालमै सम्पन्न गरिसकेको छ । दोस्रो चरणमा सम्पन्न गरिसक्नुपर्ने कलंकीदेखि महाराजगन्जसम्म (दोस्रो खण्ड)को काम भने लथालिंग अवस्थामा छ । यसैको खबरदारीस्वरुप केही दिनअघि काठमाडौँ महानगरपालिकाले सडकका विभिन्न ठाउँमा सूचना बोर्ड राखेको थियो । चक्रपथ विस्तारको काममा ढिलाइ भएको भन्दै महानगरले खबरदारी गर्न उक्त बोर्ड राखेको थियो । तर बोर्ड आयोजनाले उठाएर गायब पारिदिएपछि महानगर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी नै दर्ता गराएको थियो ।

खबरदारी बोर्ड हराएको भन्दै काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमा ‘बोर्ड हराएको सुचना’ नै टाँसेका थिए । चैत १४ गते बालेनले चक्रपथ छेउछाउका बासिन्दा र त्यो सडक प्रयोग गर्नेहरू मात्र नभई त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित भएको भन्दै स्थानीय र संघीय सांसदहरूले पटक–पटक आवाज उठाउँदा पनि निर्माणकर्ता र सरकारको ध्यान नगएको बताएका थिए । त्यत्रो आवाज नसुन्ने र जनताको त्यत्रो दुःख नदेख्ने निर्माणकर्ताले ती बोर्ड चैँ देखेछन् र गायब गरेछन् भनी उनले आक्रोश पोखेका थिए । आफ्नो देशमा १ दिनमै अस्पताल बनाउनेले नेपालमा भने ९ वर्ष अलपत्र पारेर कुटनैतिक नोट लेखेको भन्दै बालेनले चिनियाँ सरकारको आलोचना समेत गरेका थिए । 

 चक्रपथ विस्तारको दोस्रो खण्डको काम सन् २०२४ को जनवरीबाट सुरु गर्ने जानकारी चिनियाँ कम्पनीले अघिल्लो वर्ष नै दिएको थियो । तर अप्रिल लागिसक्दा पनि काम भने सुरु भएको छैन । अहिले आएर चिनियाँ पक्षले चक्रपथ विस्तारका लागि बजेट समेत छुट्याइसकेको बताइएको छ । चक्रपथ विस्तार सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाका अनुसार चीनले रोकिएका काम अघि बढाउन हालै नेपाललाई पत्र पठाएको र उक्त आयोजनाका लागि बजेट समेत छुट्याइएको छ । चक्रपथ विस्तारका क्रममा कुन ठाउँमा कस्तो संरचना बनाउने भन्नेबारे चिनियाँ पक्षले नै डिजाइन तयार पारिसकेको छ । डिजाइन नेपालले स्वीकृत गरेर पठाएपछि चिनियाँ पक्षले विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र त्यसपछि मात्र निर्माण कार्य अघि बढ्ने ओझाको भनाइ छ । 

कलंकी–महाराजगन्ज खण्डको करिब ८ किलोमिटर चक्रपथ ८ लेनको नै बनाउनेगरी सन् २०१८ जनवरीमा सम्झौता भएको थियो । सुरुमा कलंकीदेखि चाबहिल धोबिखोलासम्मका लागि सम्झौता भए पनि महाराजगन्ज क्षेत्रको आवासीय जटिलताका कारण पछि बसुन्धारासम्म मात्रै विस्तारको काम गरिने सम्झौता भएको बताइएको थियो । तर पनि कोभिड महामारी लगायत विभिन्न कारणले चिनियाँ टोली नेपाल आउन नसक्दा ढिलाइ भएको आयोजनाको दाबीे छ । सम्झौताअनुसार मुख्य लेन चिनियाँ अनुदानमा चिनियाँ पक्षले नै बनाउने छ । तर साइड लेन र ढलको काम भने नेपाल सरकारले नै सम्पन्न गर्नेछ । 

गत वर्ष फागुनमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, चिनियाँ राजदूत छन सोङसहितको टोलीले चक्रपथ विस्तारको बाँकी काम अघि बढाउन निरीक्षण भ्रमणसमेत गरेका थिए । सो क्रममा मेयर बालेन पनि उक्त निरीक्षणमा सहभागी थिए । मेयर बालेनले चक्रपथबाट सहरका विभिन्न शाखा सडकमा प्रवेश गर्ने सवारीसाधनका कारण चक्रपथको धूलो सहरका कुनाकुनासम्म पुग्ने गरेको र सोही कारण महानगरले सडकहरु सफा राख्न नसकेको गुनासो गर्दै आएका थिए र यसपाली खबरदारी बोर्ड नै राख्न लगाएका थिए । 

काठमाडौँ उपत्यकाका २ जिल्ला (काठमाडौँ–ललितपुर) जोड्ने २७ किलोमिटर लामो चक्रपथ सन् १९७७ मा चीनकै अनुदानमा निर्माण गरिएको थियो  । सन् २०१२ मा पहिलो चरण (खण्ड) कोटेश्वरदेखि कलंकीसम्म चक्रपथ विस्तार तथा सुधारका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो । पहिलो खण्डको काम २०७५ मै सकिए पनि दोस्रो खण्डको काम भने सम्झौताको ६ वर्ष बित्दा पनि सुरु भएको छैन । चक्रपथ विस्तारमा आर्थिक अनुदान तथा प्राविधिक सहयोग चीनकै रहने सम्झौता थियो । पहिलो खण्ड विस्तारको ठेक्का चिनियाँ सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले लिएको हुँदा दोस्रो खण्डको काम पनि सोही कम्पनीले गर्ने बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update