News 24 Television
सदाका लागि सकियो पुष्पाको भाइटीका

कैलाली । सन् २०२३ को अक्टुबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएको क्रममा मारिएका विपिनको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

महाकाली नदीको भुजेलाघाटमा अन्तेष्टि गर्नुअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली गर्नुका साथै सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।

हमासको अपहरणमा परेका विपिन लामो समयसम्म पनि जीवितै फर्किने प्रतिक्षाकाबीच कफनमा आइपुग्दा उनको परिवार भावविव्हल बनेको छ । 

सोेमवार दिउँसो इजरायलबाट काठमाडौं ल्याइ पु¥याएको विपिन जोशीको शव काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र धनगढीबाट सडक मार्ग हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित घर पु¥याइएको थियो ।

विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससहितका अधिकारी विपिनको घरमा पुगेका थिए । सोमवार राति करिब सवा ८ बजे विपीनको शव घर पु¥याइएको थियो । 

विपिन जीवितै फर्किने आशामा रहेको २ वर्षपछि कफनमा ल्याइँदा विपिनको परिवार भावविव्हल बन्यो भने भिमदत्त नगरपालिका ३ भाषी स्थित मालिका टोलमा सन्नाटा छायो । 

परिवारको साहार एक्लो छोरो गुमाएको असैय पिडामा आमा बुवा भावविव्हल थिए । तिहारको मुखमा दाजुको शव आइपुग्दा एक मात्र बहिनी पुष्पा मुर्छित बन्न पुगेकी छन् । 

मंगलबार विहान अन्त्येष्टिका लागि घरबाट शव महाकाली नदी किरारको भुजेलाघाटसम्म पुर्याइदा यहाँको वातावरण निकै स्तब्ध बन्न पुग्यो । घरदेखि आ¥याघाटसम्म पुग्दा  सडकको छेउमा विपीनको अन्तीम विदाईको लागी उभिएका हजारौं नागरिकले अन्तीम विदाईका हालहरु हल्लाएका देखिन्थे ।  

राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि 

हमासको बन्धक बनाएकै क्रममा मारिएका विपिनको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । सम्मानको क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालको राष्ट्रिय झण्डा ओढाए भने नेपालका लागी इजरायलका राजदुत श्मुमिक एरी बासले इजरायली झण्डा ओढाए । 

शसस्त्र प्रहरीको एक टुकुटीले अन्तीम सलामी दियो । सुन्दर भविष्यको कल्पना सहित दुई वर्ष पहिला लर्न एण्ड अर्न कार्यक्रममा कृषि विज्ञान अध्यायनको लागी इजरायल पुगेका विपीन हमासको अक्रमणमा मारिएपछि उनको पार्थिक शरिर कंकालको रुपमा कफनमा बेरेर आइपुगेको थियो । 

जीवितै फर्किने आशामा रहेका विपिन अन्ततः सिङ्गो नेपालीलाई  नै गहिरो शोकमा पारी महाकाली नदीबाट यो संसारमा कहिल्यै नफर्कने गरी धुँवाको मुस्लोसंगै विदा भएका छन् ।

परिवारमा ब्रजपात, सदाका लागि सकियो पुष्पाको भाइटीका

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए ।

हमासले सन् २०२३ को अक्टुबर ७ को दिन विपिनलाई अपहरण गरेको थियो । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।

विपिनकी आमा पद्मा र बहिनी पुष्पा उनको सकुशल रिहाइका लागि इजरायलदेखि अमेरिकासम्म पुगेका थिए । तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेन । 

केही दिनअघि मात्रै हमासले विपिन मारिएको भनी सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन । 

पछिल्लो पटक बाँकी रहेका बन्धकहरु जीवितै रहेको र बन्दी आदानप्रदान प्रदान गर्ने हमास र इजरायलबीचको सहमतिपछि बहिनी पुष्पा यसपालीको तिहारमा दाजुसँग भेट हुने आशामा रहेकी थिइन् । तर तिहारको मुखमा दाइको कंकाल कफनमा बाँधिएर आइपुग्दा पुष्पालाई झनै पीडा थपिएको छ । 

लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ । पुष्पाको भाइटीका सदाका लागि सकिएको छ ।  यसपटक पनि तिहारमा भाइटीका लगाउने ठूलो आशा बोकेर पुष्पा आमासँगै दाइको रिहाइका लागि इजरायल हुँदै अमेरिकासम्म पुगेकी थिइन् । 

विपिनको टाउकोमा गोली लागेर मृत्यु

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update