News 24 Television
लोकप्रिय बन्दै डिजिटल बैंकिङ, कति छ सुरक्षित ?

काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । पछिल्लो समय, अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेका साना तथा मझौला व्यवसायहरुको आर्कषण पनि डिजिटल बैकिङतर्फ रहेको छ । 

डिटिल बैंकिङको प्रयोगले सर्वसाधारणको दैनिकीलाई सहज बन्दै गएको छ । अवैध कारोबारलाई निरुत्साहित गर्ने हुँदा नगदरहित कारोबार पारदर्शी पनि छन् ।  

सन् १९९० मा निजी स्तरबाट हिमालय बैंक र नबिल बैंकले क्रेडिट कार्डको माध्यमबाट डिजिटल भुक्तानी शुरु गरेका थिए । त्यस पछि क्रमशः कुमारी बैंक लगायतका बंैकहरुले डिजिटल कारोवारको विस्तार गरे । 

डिजिटल भुक्तानी शुरु भएको ३४ वर्षमा डिजिटल बैंकिङको प्रयोगले उत्साहजनक फड्को मारेको छ । अझ कोभिड–१९ महामारीले जनस्वास्थ्य र अर्थतन्त्रमा लामो समयका लागि गहिरो प्रभाव छोडे पनि नेपालमा डिजिटल कारोबारको प्रस्थान बिन्दु बन्यो । 

लामो समयको लकडाउनले भुक्तानीको तरिका फेरायो र नगदरहित डिजिटल कारोबारले व्यापकता पायो । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका विद्युतीय बैंकिङ (ई–बैंकिङ) उपकरणहरूमा आकर्षण बढ्दो छ । विद्युतीय वालेट, प्रिपेड कार्ड, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्डलगायतका प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । 

डिजिटल बैंकिङ प्रणाली प्रयोगकर्ताको स्थिति 

ss-1713399231.JPG
अझ यी उपकरणबाट क्यूआर कोड प्रयोगबाट भुक्तानी गर्ने ग्राहक पनि बढेका छन् । मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन् । 

साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेका जानकारहरू बताउँछन् । विद्युतीय भुक्तानी उपकरण पारदर्शी पनि हुने गरेका छन् । 

विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति÷समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठग्ने गुनासो पनि बढिरहेको छ । 

सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेभसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिट्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्याधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेका छ । त्यसैले विद्युतीय कारोबार गर्दा ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी छ । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update