News 24 Television
प्रकट पंगेनीको अन्त्येष्टि पोखराको सेती नदीमा

कास्की । स्वर्गीय साहित्यकार प्रकट पंगेनी ’शिव’ को बुधबार पोखराको सेती नदीमा अन्त्येष्टि गरिएको छ । 

उनलाई श्रद्धाञ्जली दिन साहित्य क्षेत्रका दिग्गज व्यक्तित्वदेखि साहित्यप्रेमीहरू सेती नदी पुगेका थिए । साहित्यमा विशेषगरी गजल विधामार्फत् सबैका प्रिय बनेका स्वर्गीय प्रकटको जन्मभूमिमा यजस्वी कटेज सञ्चालन गरि साहित्य पर्यटनको विकास गर्ने सपना भने अधुरै रहन गएको छ । 

किन राख्यौं चोखो मुटु, तिखो चुलेसिमा ......यो र यो जस्तै चर्चित गीत अनि गजल, नाटकका सर्जक एबं लोकप्रिय साहित्यकार अर्थात् प्रकट पंगेनी ’शिव’ । 

जसले मंगलबार नेपाली साहित्य र साहित्यप्रेमी सबैलाई स्तव्ध बनाएर यो संसारबाट बिदा भएका छन् । 

पोखराको मनिपाल अस्पतालमा उपचारको क्रममा निधन भएका प्रकटलाई श्रद्धान्जली दिन सयौं साहित्यप्रेमी बुधबार अस्पताल परिसरमा भेला भएका थिए । 

बहुप्रतिभाका धनी स्वर्गीय प्रकटले जीवनको अन्तिम क्षणमा पनि नेपाली साहित्य कै लागि काम गरेका थिए । 

४० को दशकमा नाट्य विधाबाट कला यात्रा शुरु गरेका प्रकटले त्यसभन्दा अघि देखिनै कविता लेख्दै आएका थिए । 

त्यसपछि गितकार र गजलकारका रुपमा नेपाली साहित्य क्षेत्रमा उनले आफूलाई स्थापित गरेका थिए । उनको निधनले नेपाली साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको र आफूहरुले मिजासिला र असल मित्र गुमाएको बताउँछन् साहित्यकार सरु भक्त र तीर्थ श्रेष्ठ ।

स्वर्गीय साहित्यकार प्रकट पंगेनीको बुधबारै पोखराको सेती नदीस्थित भलाम घाटमा अन्त्येष्टि गरिएको छ । 

स्वर्गीय पंगेनीको जन्म विक्रम सम्वत २०१३ असोज २४ गते कास्कीको रुपा गाउँपालिकामा भएको थियो । रुपा गाउँपालिकाकै अर्का चर्चित सिने कलाकार माओत्से गुरुङ उनकै अभिभावकत्वमा आफू कला क्षेत्रमा लागेको भन्दै स्वर्गीय प्रकट पंगेनीलाई यसरी सम्झिरहन्छन् ।

स्वर्गीय पंगेनी कला तथा साहित्य क्षेत्रका धेरै विधामा अब्बल थिए । कविता, गीत, गजल तथा नाट्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ ।

निधन हुनुपूर्व पनि उनी होमस्टे र प्रेम सम्बन्धि उपन्यासको पाण्डुलिपि लेख्ने काममा व्यस्त थिए । उनका धेरै सिर्जनाहरुमध्ये  तप्प तप्प जलबिन्दु, तिम्रो हात समाई खोली तार्नु लगायतका गजल अहिलेका युवा पिढीमा पनि उत्तिकै चर्चित छ । 

विगत केही वर्ष यता कास्कीको रुपा गाउँपालिकाको बस्दै आएका पंगेनीले साहित्य पर्यटनको विकास गर्ने भन्दै आफ्नै निवासलाई यजस्वी कटेजको रुपमा होमस्टे सञ्चालनको तयारीमा जुटेका थिए, तर उनको निधनले त्यो सपना अधुरै रहन गएकोमा निकै चिन्ता व्यक्त गर्छन् उनलाई नजिकै बाट चिन्ने अर्का साहित्यकार कृष्ण मर्सानी ।

जुनसुकै विधामा किन नहोस् राष्ट्रका लागि योगदान गर्ने सर्जकको निधनमा हामी पीडा पोख्छौं । दिन बित्दै जान्छन् बिस्तारै ती सर्जकलाई पनि बिर्सिंदै जाने चलन हामीकहाँ छ, तर स्वर्गीय साहित्यकार प्रकट पंगेनीको अधुरो सपना अर्थात् यजस्वी कटेज निर्माण गर्नु उनी प्रतिको सच्चा सम्मान हुनेछ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update