News 24 Television
भोटेकोशी जलविद्युतका कारण ५ सय घरपरिवार जोखिममा

सिन्धुपाल्चोक । भोटेकोशी–१,जलविद्युत आयोजनाका कारण पाँच सय घरधुरी जोखिममा परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ मा निमार्णाधीन ४० मेगावाटको इलेक्ट्रोपावर कम्पनी लिमिटेड, भोटेकोशी–१ जलविद्युत आयोजनाले वस्ती नै जोखिममा पारेको हो ।  सुरुङको निर्माणका लागि थालिएका कामले वरपरको जमिनमा धाँजा फाट्ने मात्रै होइन  घर नै चर्किन थालेपछि स्थानीयको ज्यानै जोखिमा परेको  छ । 

भुकम्प पछि बस्न अयोग्य भन्दै जोखिम पहिचान भएका क्षेत्रमा समेत जबरजस्ती काम गर्न थालेपछि अहिले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका वस्तीमा त्रास छाएको छ । भोटेकोशीवासीको ज्यानै लिने गरि जलविद्युत आयोजनाको काम थालिएपछि यहाँ त्रास छाएको हो ।

उनी सिन्धुपाल्चोक भोटेकोशी ४ हिन्दीकी पार्वती लामा हुन् । उनलाई हिजोआज निन्द्रा लाग्न छाडेको छ । श्रीमानले मलेसिया गएर कमाएको पैसाले उनिहरुले आफ्नै गाँउमा दुई तले पक्की घर बनाएका थिए । तर महिनादिन अघि घर माथिको भिरमा सुरुङ छेड्न ब्लास्टीङ गर्दा उनको ढलान घर चिरा चिरा भएर चर्किएको छ  । 

भुकम्प पछि भोटेकोशीको ४ नम्बर वडाका उच्च जोखिममा रहेका बस्तीहरु  झिर्पु, हिन्दी, पन्थली, लुकुसिङ, सार्गपु, थामीगाँउ, चाकु जस्ता क्षेत्रमा राष्ट्रिय विपद जोखिम तथा न्युनिकरण प्राधिकरण र खानी तथा भूगर्भ विभागले बस्ती स्थानान्तरण गर्नुपर्ने प्रतिवेदन दिएको थियो । अध्ययन समुहले चाकुबजार भन्दामाथी रहेको थाङ्वेल डाँडा भुकम्पले धाँजा फाटेकोले वर्षाको पानी धाँजाबाट भित्र छिर्दा जमिन चिरा परेको भनि उल्लेख गरेको थियो । सोहि अध्ययन समुहले थाङ्वेल भिरबाट ढुङ्गा झरी क्षती हुने गरेको भनि रिपोर्टमा उल्लेख गरेको छ । तर इलेक्ट्रोपावर जलविद्युत आयोजनाले यहि भिरबाट अहिले सुरुङ बनाउदै छ । भिरकै तल रहेको चाकुबजारका बासिन्दा स्थानीयहरु ज्यान बचाउन स्थानान्तरणको माग गरिरहेका छन् । 

तर आयोजनाले बास्तविक प्रभावितसँग विना छलफल सुरुङ खन्ने काम गरीरहेको छ । भोटेकोशी गाँउपालिका र आयोजनाबाट बनेका समितिहरुले क्षतीपुर्तीको बाहानामा घर सर्भे भन्दै फोटो खिचेर हस्ताक्षर गराएको तर हामीलाई मुआब्जा चाहिदैन उद्योगमा हाम्रो समर्थन छ भनि आयोजनालाई टेवा पुग्ने गरी कागज बनाएर झुक्याएको प्रभावितहरुको आरोप छ । आफ्नो थातथलो उच्च जोखिममा परेको भन्दै उनीहरुले विरोधका कार्यक्रमसंगै स्थानीय सरकारसँग समेत पटक–पटक छलफल गर्दै आईरहेका छन् । केहि स्थानिय ब्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर बास्तविक प्रभावितको आवाजलाई दबाउने काम भएको गुनासो पनि छ स्थानीयको ।  

प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु भने कुनै पनि हालतमा आयोजना बन्नुपर्ने पक्षमा छन् । जोखिमका बस्ती सार्ने र क्षती हुन नदिने भन्दापनि क्षती भई हालेमा क्षतीपुर्ती दिलाउने तयारी मात्र स्थानीय सरकारको देखिन्छ । 

सिन्धुपाल्चोकमा ९ जलविद्युत् आयोजना निमार्णाधीन अवस्थामा छ भने १६ साना ठुला आयोजना निमार्ण सम्पन्न भई संचालनमा छन् । तर यस्ता आयोजना टाठाबाठा लाई दुहुनु गाई झै भएपनि बास्तविक प्रभावित क्षेत्रको लागी उठिबास लगाउने र मानसिक तनाव बढाउने काममात्र भएको देखिन्छ । जिल्ला प्रशासन र सुरक्षाले समेत फिल्डमा गएर बास्तविकताको पहिचान गरी यस्ता आयोजनाले बहन गर्नुपर्ने सामाजिक दायित्वप्रति जिम्मेवार बनाउनु आवस्यक देखिन्छ । 


 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update