News 24 Television
चाडबाडमा गाउँमा छैन उत्साह, जेनजी आन्दोलन पछि झन सुस्त

कैलाली । विगतको तुलनामा यसबर्ष नेपालीहरुले धुमधामका साथ मनाउने ठूला चाडपर्व दशै र तिहारसमा समेत गाउँघरहरुमा चहलपहल घटेको छ । निरन्तरको आर्थिक मन्दी, बेरोजगारीको कारण युवा शक्ति विदेशीनु तथा देशमा विभिन्न समयमा भएका प्राकृतिक प्रकोपका कारण तथा राजनीतिक आन्दोलनको क्रममा भएको ठूलो जनधनको क्षतिले आम नागरिकमा निराशा छाएको छ । जसका कारण पनि दशै तिहारजस्ता ठूला चाडपर्वले सर्वसाधारणमा उल्लास ल्याउन सकेको छैन । 

यतिबेला नेपालीहरुको ठूलो पर्व बिजयादशमी सकिएलगत्तै दोस्रो ठूलो पर्व तिहार नजिकै आएको छ  । तर पनि गाउँघरका बजारहरुमा विगतका जस्तो चहलपहल देखिदैन ।

विगतका बर्षहरुमा यो समयमा चाडपर्व मनाउनेहरु गाउँघर फर्कने र विभिन्न मालसामान किनमेल गर्नेहरुको बाक्लो उपस्थितीले बजारमा निक्कै चहलपहल हुन्थ्योे । तर यो बर्ष चहलपहल निक्कै घटेको स्थानीयहरुको अनुभव छ ।

यतिबेला सुदूरपश्चिमकै मुख्य व्यापारीक केन्द्र रहेको धनगढी बजार, महेन्द्रनर, टिकापुर, अत्तरिया, लगायत पहाडी जिल्लाका बजारहरुमा समेत चहलपहल घटेको छ । नेपालीहरुको ठूलो पर्व बिजया दशमी तथा दोस्रो ठूलो पर्व दिपावलीलाई बिशेष महत्वको साथ मनाईने गरिन्छ । जसको लागी विभिन्न काम नोकरी, अध्ययन, व्यापार व्यवसाय गर्न बाहिर गएकाहरु समेत यतिबेला गाउँघर फर्कने गर्दछन् । विगतको तुलनामा चाडपर्वको समयमा गाउँघर फर्कनेको संख्यामा समेत कमी आएको छ । यहाँका फुटपाथ, खुद्रा पसल, सपिङ मल लगाएत सबैतिर किनमेल गर्ने ग्राहकहरूको संख्या न्युन छ । 

विगतमा लामो समयसम्म चलेको आन्दोलन र अहिलेको जेनजी आन्दोलनका साथै बाढीपहिरोको प्रभाव व्यापारमा देखिएको हो ।  

जेनजी आन्दोलनपछिको नागरिकमा उत्पन्न त्रास, सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गौरीफण्टाबाट यस क्षेत्रका व्यवसायीहरूको सामान सहज रुपमा आउन नसक्नुले व्यवसायीहरू निराश बनेका छन् । जेनजी आन्दोलन पछिक दशैं तिहारमा समेत व्यपारमा आएको मन्दीको कारण घरभाडा तिर्न पनि समस्या परिरहेको व्यपारीहरुको गुनासो छ ।

अहिले देशमा सृजना भएको राजनैतिक परिर्वतनको घटनाले समेत देशमा अन्यौलता छाएको छ । जसले गर्दा पहिलाको तुलनामा चलपहल र चाडपर्वको रौनकतामा कमी आउनु स्वभाविकै मान्न सकिन्छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update