
रुपन्देही । उज्यालो पर्व दिपवाली अर्थात् तिहार नजिकिँदै छ । तिहारलाई लक्षित गरी रुपन्देहीका भित्री बस्तीहरुमा माटोको पाला बनाउनेहरुलाई भ्याईनभ्याई छ । सिजनअनुसार माटोका भाँडाकुँडा बनाउँदै आएकाहरु अहिले तिहारको छेको पारेर पाला बनाउनमा व्यस्त छन् ।
हिन्दु धर्मावलम्बी नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्नै लागेको छ । तिहार नजिकिँदै जाँदा रुपन्देहीको मायादेवी गाउँपालिका–४, सेमरीका फौदार कोहारलाई माटोको पाला र अन्य भाँडाकुँडा बनाउन भ्याइनभ्याई छ ।
उनी अझै अन्य समयमा भन्दा तिहार नजिकिएसँगै बिहानदेखि साँझसम्म प्रत्येक दिन समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउन व्यस्त हुन्छन् ।
उनको यो बाउबाजेको पालादेखिको पुख्र्यौली पेसा हो । तर, उनको परिवारमा रहेका अन्य ८ जना कसैले पनि यो पेसा अँगाल्न रुचि देखाएनन् । तर फौदारले भने ३२ वर्षदेखि माटोको भाँडा बनाउने पेसा अँगाल्दै आएका छन् । तिहारमा माटाका पाला बढी विक्री हुने भएकाले उनले पहिल्यै अर्डर लिएर पाला बनाउँछन् । उनले सरदरमा मासिक १५ हजार हाराहारी आम्दानी गर्छन् र यहीबाट गुजारा समेत चलाउँछन् ।
फौदार मात्रै होइन्, अहिले रुपन्देहीमा माटाका विभिन्न भाँडाकुँडा बनाउने पेसा अँगाल्दै आएका कुमाल, कहाँर, प्रजापती लगायतका समुदायलाई नजिकिँदो तिहारले ब्यस्त बनाएको छ ।
रोहिणी–३, धकधईका रामकृष्ण कहाँर र बैजनाथ कोहाँरले पनि विगत १० वर्षदेखि माटोको भाँडा बनाउने काम गर्दै आएका छन् । सिजनअनुसार भाडाँ बनाउनेहरु उनीहरु दिपावली नजिकिएपछि भने सा¥है व्यस्त हुन्छन् । माटो सजिलैसँग नपाइने समस्याले भने उनीहरुलाई हरेक वर्ष पिरोल्ने गर्छ ।
लक्ष्मी पूजाको साँझ धनकी देवी लक्ष्मीलाई स्वागत गर्न घरका ढोका, आँगन, भान्सा र तुलसी मठमा पालामा तेल वा घिउको दीयो बाल्ने परम्परा छ । परम्परागत माटोका भाडाँको प्रयोग बढ्दा स्थानीय हस्तकलालाई प्रोत्साहन दिन्छ ।
आजकाल बिजुलीका बत्ती र मैनबत्ती पनि प्रयोग बढि हुन थालेपछि माटोको दीयोको प्रयोग कम भएपनि यसको छुट्टै सांस्कृतिक महत्व छ ।
दीयोले सामुदायिक एकता र उत्सवको भावनालाई पनि जोड्छ । रुपन्देहीका विभिन्न गाउँहरुमा बनाएका पालाहरु भैरहवा, बुटवल, लुम्बिनी, तिलोत्तमा लगायतका बजारमा विक्री हुँदै आएको छ । कतिपयले काठमाडौं, पोखरा लगायका सहरमा समेत विक्रीका लागि पठाउने गरेका छन् ।