News 24 Television
वित्तीय संस्थाले प्रयोगमा ल्याएका डिजिटल बैंकिङ सेवा 

काठमाडौँ । विश्वले प्रविधिमा फड्को मारेसँगै वित्तीय क्षेत्रमा पनि यसको प्रभाव राम्रै परेको  छ । अझ मोबाइल फोनको फिचरमा आएका सुविधासँगै वित्तीय संस्थाहरुले पनि आफ्नो सेवालाई बढी डिजिटलाइजेसन गरेका छन् । अर्थात, आफ्नै मोबाइलबाट लाखौं रुपैयाँको कारोबार गर्न सम्भव भएको छ । लाखौंको कारोबारको क्षमता राख्ने प्रविधिहरु नेपालमा के कस्ता छन् त ? 

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले आधुनिक प्रविधिको प्रयोग गरी वित्तीय कारोबार सहज र सरल बनाउँदै लगेका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न डिजिटल प्रविधिको प्रयोग बढेको छ । जसका कारण लामो समयसमम लाइन बस्नुपर्ने बाध्यता हटेको छ । 

भाइबर बैकिङ

केही बैंकहरुले भाइबर प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर भाइबर बैंकिङ सेवा दिइरहेका छन् । यसबाट घरमै बसेर आफ्नो मोबाइल तथा कम्प्युटरको प्रयोग गरी खातामा रहेको स्टेटमेन्ट हेर्न, क्रेडिट काड लिन, मुद्दती खाता खोल्न सकिने सेवा दिँदै आएका छन् । 

एटिएम मेसिन

एटीएम मेसिनको प्रयोगबाट रकम निकाल्न सकिन्छ । यसबाट कागजी प्रक्रिया पुरा गर्नुपर्दैन । नेपालका सबै बैंकहरुले एटीएम मेसिन प्रयोगमा ल्याएका छन् । 

क्रेडिट कार्ड

क्रेडिट कार्ड ग्राहकको बैंक खातामा पैसा नभएपनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधा हो । यस्तो कार्डमा खर्च भएको रकम निश्चित समयपछि सम्बन्धित बैंकलाई तोकिएको शुल्कसहित बुझाउनु पर्दछ ।

डेविट कार्ड

बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्नेगरी ग्राहकको नाममा जारी भएको कार्ड डेविट कार्ड हो । 

इन्टरनेट बैकिङ

इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा इन्टरनेट बैंकिङ हो । ग्राहकले आफ्नै मोबाइल तथा कम्प्युटरबाट ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्का राख्न अनुरोध गर्ने, रकम पठाउने, युटिलिटी भुक्तानी गर्ने लगायतका सुविधा पाउँछन् । 

एसएमएस बैकिङ

एसएमएस बैंकिङ मोबाइल बैंकिङको एउटा रुप हो । यो सेवाअन्तर्गत बैंकहरुले आफ्ना ग्राहकलाई एसएमएसमार्फत कारोबारको जानकारी गराउने गर्दछन् । 

मोबाइल बैकिङ

मोबाइल बैंकिङ एसएमएस बैंकिङकै विस्तारित रुप हो । बैंकहरुले सुरुमा मोबाइल एपबाट बैंकमा खाता खोल्ने, स्टेटमेन्ट हेर्ने सुविधा दिएका थिए । तर अहिले मोबाइल फोनको फिचर्समा व्यापक स्तरोन्नती भएसँगै मोबाइल एपमार्फत चौविसै घण्टा रकम भुक्तानी लगायतका सुविधा दिएका छन् । 

पस मेसिन

पस मेसिन खुद्रा ग्राहकबाट लेनदेन प्रक्रिया पुरा गर्न प्रयोग गरिने उपकरण हो । यस मेसिनमार्फट डेविट कार्ड तथा क्रेडिट कार्डको प्रयोग गरी रकम भुक्तानी गर्न सकिन्छ । 

क्यूआर कोड

यो एक विशेष प्रकारको बार कोड हो जसलाई विद्युतीय भुक्तानी उपकरणले स्क्यान गर्दा त्यसमा संग्रह गरिएका विवरणहरु प्राप्त गर्न सकिन्छ । यसमा भुक्तानी प्राप्त गर्ने मर्चेन्टको खाताको विवरण रहेको हुन्छ । क्यूआर कोडमार्फत भुक्तानी गर्दा ग्राहकलाई कुनै प्रकारको शुल्क लाग्दैन । 

नियो बैंक

केही बैंकले आफ्नो सेवालाई कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत गरी सेवा दिइरहेका छन् । यसलाई नियो बैंक भनिन्छ । यसलाई पनि मोबाइल बैंकिङकै विस्तारित रुपमा मान्न सकिन्छ । यसअन्तर्गत ग्राहकले आफ्नो साथमा रहेको मोबाइल फोनको सहायताले एपमार्फत खाता खोल्न, निक्षेप, ऋण, भुक्तानी सम्बन्धी सेवा सजिलै लिन सक्नेछन् ।

डिजिटल वालेट

वालेट भनेको नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त भुक्तानी सेवा प्रदायकले आफ्ना ग्राहकहरूको नाममा जारी गर्ने विद्युतीय खाता हो । वालेट प्रयोगकर्ताले तोकिएका बैंक तथा वित्तीय संस्था अथवा एजेन्टबाट वालेटमा रकम जम्मा गरी वस्तु तथा सेवा खरिदवापत रकम भुक्तानी गर्न सक्छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update