News 24 Television
व्यापार घाटाले नेपाल चुर्लुम्मै, नुनदेखि सुनसम्म आयातमै निर्भर

काठमाडौँ । पछिल्लो समय खाद्यान्न सहितका दैनिक उपभोग्य वस्तुदेखि हरेक सामान आयातमै निर्भर हुन थालेसँगै मुलुकको व्यापार घाटा निरन्तर बढेको छ । १ सय ६८ देशसँग व्यापारिक सम्बन्ध रहेको नेपालको १ सय ३३ देशसँग ब्यापार घाटा छ । मुख पुछ्ने टिस्यु पेयरदेखि दाँत कोट्याउने सिन्कासमेत विदेशबाटै आयात गर्दा अर्थतन्त्र भने रेमिट्यान्समा निर्भर छ । 

पछिल्ला दशकहरूमा नेपालको व्यापारको ग्राफ कहालीलाग्दो बन्दै गएको छ । नेपालले १ सय ३३ देशसँग घाटाको व्यापार गरेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार वैशाखसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको कूल आयात भएको छ भने १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ । व्यापार साझेदार देशमध्ये ३६ देशमा नेपालको निर्यात ‘शून्य’ रहेको छ । 

निर्यात शून्य रहेका देश

अल्जेरिया, अमेरिकी सामोआ, अन्डोरा, अन्टार्कटिका, आर्मेनिया, अजरबैजान, बार्बाडोस, बेलारुस, बेलिज, बेनिन, बुर्किना फासो, क्यामरुन, इक्वेडर, गाबोन, घाना, होन्डुरस, लिकटेन्स्टाइन, मलावी, मार्शल टापु, मोन्टसेराट, निकारागुआ, पिटकेर्न टापु, रुवाण्डा, सान मारिनो, सर्बिया, सर्बिया युरोप, सुरिनाम, इस्वातिनी, टोगो, टोकेलौ, ट्रिनिडाड र टोबागो, ट्युनिसिया, तुर्कमेनिस्तान, टर्क र काइकोस टापु, भानुअतु, वालिस र फुतुना, जाइरे

सबैभन्दा बढी व्यापार घाटा भएका देश

अर्जेन्टिना, भारत, अष्ट्रेलिया, बंगलादेश, ब्राजिल, क्यानाडा, चीन, हंगकंग, इजरायल, कोरिया, मलेसिया, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड, युक्रेन, अमेरिका । 

नेपालले वर्षेनी भारतसँग सबैभन्दा ठूलो व्यापार घाटा व्यहोरिरहेको छ । चालु आर्थिक वर्षमा पनि नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँगै छ । वैशाखसम्ममत्रै नेपालले भारतसँग सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरिसकेको छ । 

नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार घाटा चीनसँग रहेको छ । चीनसँग नेपालको व्यापारघाटा २ खर्ब ३८ अर्ब ५५ करोड बराबर भइसकेको छ । वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । सोही अवधिमा २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको तथ्यांक छ । नेपाल कृषिप्रधान देश भनिएपनि युक्रेनबाट सूर्यमुखी तेल, अस्ट्रेलियाबाट मुसुरो दाल र भारतबाट चामल र गहुँ आयात हुँदै आएको छ । 

भारत, इन्डोनेसियादेखि अफ्रिका र युरोपबाट भित्रिने जिरा, धनियाँ, ल्वाङ र सुकमेलको ठूलो बजार नेपालमा छ । मुख पुछ्ने टिस्यु पेयरदेखि दाँत कोट्याउने सिन्कासमेत विदेशबाटै आयात गर्नु अवस्था छ । वस्तु व्यापारमा धरमराएको देशको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६ लाख नाघेको छ । 

स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्न भन्दै सरकारले पाँचवर्षे राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको थियो । तर, त्यसको प्रभावकारीता अलिकति पनि देखिएको छैन । व्यापार घाटा कम गर्न नेपालभित्रै उत्पादन हुनसक्ने खाद्यवस्तुको आयात घटाउने नीति लिइनु पर्ने सुझाव अर्थविद्हरूले दिने गरेका छन् । तर राजनीतिक अस्थिरता, सत्ता संघर्ष जस्ता अनेक कारण योजनाहरु बनेपनि त्यसलाई कार्यान्वयमा लैजान सरकार चुकिरहेको छ 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update