News 24 Television
मेडिकल शिक्षाको नतिजाः ५० प्रतिशत बढी लाइसेन्स परीक्षामै फेल 

काठमाडौं । चार वर्ष सैद्धान्तिक र एक वर्ष प्रयोगात्मक पढाइपछि चिकित्सा शिक्षातर्फ स्नातक तहको पढाइ पूरा हुन्छ । ५ वर्षको पढाइ पास गरेपछि चिकित्सक तयार हुन्छन् । तर ती चिकित्सक बिरामी जाँच्नुअघि मेडिकल काउन्सिलमा दर्ता हुनुपर्छ । दर्ताका लागि काउन्सिलले लाइसेन्स परीक्षा लिन्छ । 

लाइसेन्स परीक्षामा भने ५० प्रतिशतभन्दा बढी फेल हुँदै आएका छन् । यसले चिकित्सा शिक्षाको स्तरमाथि नै प्रश्न उब्जिएको छ । 

नेपाल मेडिकल काउन्सिलले गत जेठ ७ गते देखि ९ गतेसम्म चिकित्सक दर्ता प्रमाणपत्र –लाइसेन्स) परीक्षा लियो । 

परीक्षामा एमबीबीएस र बिडिएस परीक्षामा १ हजार ६ सय ५७ जना सहभागी भएका थिए । जसमा ५४ प्रतिशत अर्थात ९ सय ४ जना उत्तीर्ण भए ।

७ सय ५३ जना फेल भए । एमबीबीएस तर्फ सबै भन्दा बढी बंगलादेश पढेका १ सय ६१ जना विद्यार्र्थी तथा नेपालका मेडिकल कलेज पढेका २ सय २३ जना फेल भएका छन् । 

काउन्सिलले गत माघमा लिएको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक पास भएका थिए । एमबीबीएस र बिडिएसका २ हजार २२ विद्यार्थी सहभागिमा १ हजार १ सय ४६ जना मात्र उत्तीर्ण भएका थिए । यस्तै, गत असोज र जेठमा सञ्चालन भएको परीक्षाको नजिता त झनै खराव थियो । असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएका थिए । 

अझ गत वर्षको जेठमा भएको परीक्षामा ३८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । 
एमबीबीएस र बिडिएस उर्तिणहरुकालागि काउन्सिलले बर्षको ३ पटक लाइसेन्स परीक्षा सञ्चालन गर्छ । ५ बर्ष यता ५० प्रतिशत भन्दा बढी पास हुन सकेका छैनन् । 

गत बर्षको जेठमा सञ्चालित परीक्षामा ६२ प्रतिशत फेल भएका थिए । लाईसेन्स परीक्षामा फेल हुने मध्ये बंगलादेश, चीन, फिलिपिन्समा अध्ययन गरेका बढी छन् । 

साथै निजी मेडिकल कलेजमा पढेकाहरुको फेल हुने संख्या बढी छ । विद्यार्थी कति पटकसम्म सामेल हुन पाउने स्पष्ट नीति नहुदा एक विद्यार्थी १८ पटकसम्म लाईसेन्स परीक्षामा सामेल हुने गरेको पाईएको छ । 

चिकित्सक शिक्षा पढेकाहरुले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्था २३ बर्षदेखि गरिएको हो । काउन्सिलले लिने परीक्षामा पास हुन ५० अंक ल्याउनु पर्छ । काउन्सिलमा हाल एमबीबीएस र बिडिएसका ३४ हजार ९ सय १० जना चिकित्सक दर्ता छन् । चिकित्साशिक्षामा विद्यार्थीले २३ विषय पढ्नु पर्छ । 

एमबीबीएस र बिडिएस पास भएका विद्यार्थी काउन्सिलको परीक्षामा फेल हुनुले विश्वविद्यालयको शिक्षा प्रणालीमाथि नै प्रश्न उब्जिएको छ । झन् काउन्सिलले लिने सामान्य परीक्षामा ५० अंक समेत ल्याउन नसक्ने विद्यार्थीको प्रयोगात्मक परीक्षा सञ्चालन हुने हो अवस्था के हुन्छ सोझै अनुमान लगाउन सकिन्छ । 

नेपालमा अहिले २६ वटा मेडिकल कजेल छन् । ती मध्ये २० वटा निजी क्षेत्रबाट सञ्चालित छन् । मेडिकल काउन्सिलले लिने परीक्षामा आधा भन्दा बढी चिकित्सक फेल हुनुले विश्वविद्यालयले दिने शिक्षा र निजी मेडिकल कलेजहरुको अवस्था र कस्ता विद्यार्थी चिकित्सा शिक्षा पढ्न सामेल हुदैछन् भने प्रष्ट बुझाउछ । चिकित्सा शिक्षालाई नियमन गर्न नसक्ने हो जनस्वास्थ्यमा ठूलो समस्या निम्त्याउने देखिन्छ । 

 


 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update