News 24 Television
संघीयताको घोर विरोधी प्रचण्ड हुन् : मुख्यमन्त्री यादव

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संघीयताको घोर विरोधी भएको अरोप लगाएका छन् । 

सोमवार आ.व २०८०/०८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै उनले सञ्चारकर्मीहरुसँग यस्तो आरोप लगाएका हुन् । 

नेकपा एमाले सहितका राजनीतिक दलहरुले वर्तमान सरकार अल्पतमतमा रहेकोले दीर्घकालिन असर पर्ने खालका निर्णयहरु नगर्न/नगराउन ध्यानाकर्षण पत्र पेश गरेका थिए । ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर बिरोधी प्रधानमन्त्री प्रचण्ड नै देखिएको आरोप लगाए ।  उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट पारे ।

‘देशभर मधेस प्रदेशले संघीयता चाहेको हो, यो डेढ वर्षमा संघीयता चाहिन्छ भनेर बढी लड्ने म नै हो । पहिला हामी केपी ओलीलाई संघीयता बिरोधी भन्थ्यौँ । उहाँ त भन्दै हुनुहुन्थ्यो कि मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ,’ यादवले भने, ‘तर प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला तर अहिले संघीयताको घोर बिरोधी प्रचण्ड हो । प्रचण्डले संघीयता चाहेकै छैनन् । यो संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई ल्याएर सरकार बनाउनु हुँदैन थियो । रवि लामिछाने त प्रदेशमा अहिले पनि चुनाव लडेनन् । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ ।’ 

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेस प्रदेशमा पटक–पटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको आरोप पनि लगाए । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update