News 24 Television
क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक

काठमाडौँ । साहित्यकार क्रान्ति पराजुलीको नवीनम् उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनालको प्रमुख आतिथ्यमा उक्त कृति सार्वजनिक गरिएको हो ।

मंगलबार मण्डला थिएटरमा आयोजित कार्यक्रममा कृतिमाथि अन्तरक्रिया समेत गरियो । लेखक तथा समीक्षक राजकुमार बानियाँ, उपन्यासकार क्रान्ति पराजुली र प्रमुख अतिथि खनालले कृतिबारे आफ्ना धारणा राखे । कवि महेश कार्कीले अन्तरक्रिया सञ्चालन गरेका थिए ।

       अन्तरक्रियामा प्रमुख अतिथि खनालले नेपाली साहित्यमा नौलो विषय, परिवेशमा नेपाली महिलाले लेखेको उपन्यास प्रिय स्वप्नद्रष्टा रहेको बताए । यो उपन्यास पढ्दा सबै खालका पाठक र विशेषगरी महिलावर्गले सकारात्मक ऊर्जा र उत्प्रेरणा प्राप्त गर्ने बताए । 

     समीक्षक बानियाँले राजनैतिक विषयमा लेखिएको उपन्यासमा प्रेमको आदर्श स्वरुप चित्रण गरिएको बताए । कृतिको भाषाशैलीले आफूलाई प्रभाव पारेको र पाठकले पढ्दा आनन्द आउने उनको भनाइ थियो ।

        उपन्यासकारले आफूले युवालाई स्वदेशमा नै बस्ने प्रेरणा मिल्नेगरी उपन्यास लेखेको र आफू सदैव आशावादी रहेको कुरा बताइन् । 

स्वप्निल परिवेशमा रचना गरिएको उपन्यासले देशको वर्तमान बेथिति, विसंगति चित्रण गरेको छ । देशको मुहार फेर्न युगपुरुष (स्वप्नद्रष्टा)को परिकल्पना गरिएको उपन्यासमा साहस र आदर्श प्रेमको कथा छ । शिखा बुक्सले बजारमा ल्याएको उपन्यासको मूल्य ४७५ रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update