News 24 Television
गण्डकी प्रदेशमा एमाले–माओवादी थचक्कै 

काठमाडौँ । गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् । एकल चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने कानूनी सुविधाको प्रयोग गर्दै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित देवकोटाले संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै मतदान गरेपछि अब के होला भन्ने चासो बढेको छ । 

गण्डकी प्रदेशमा सर्वोच्चको परमादेशबाट संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मतका लागि आवश्यक ३१ सांसदको समर्थन मिलेको छ । माओवादी केन्द्रसँग गएको निर्वाचनमा एकल चुनाव चिन्हबाट निर्वाचित भएका नेसपाका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेसँगै पाण्डेले विश्वासको मत पाएका हुन् । 

देवकोटा फरक दलको नेता भएकाले उनलाई माओवादी केन्द्रको ह्वीप नलाग्ने तर्क दलका नेताहरुले उठाइरहेका छन् । तर, राजनीतिक दल सम्बन्धि ऐनमा भने देवकोटामाथि कारबाहि हुने प्रष्ट आधार देखिन्छ । 

राजनीतिक दलसम्बन्धि ऐनको दफा ४९ को उपदफा ३ र ४ ले कारबाही हुने व्यवस्था गरेको छ । उपदफा ३ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम दुईवा दुईभन्दा बढी दल संयुक्त रुपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ र यसरी संयुक्त रुपमा निर्वाचनमा सहभागी भएका अन्य दलका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरु सोही संसदीय दलको सदस्य भएको मानिनेछ । तर उपदफा (१) बमोजिम नयाँ निर्वाचन चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता सबै दलबाट निर्वाचित सदस्यहरुको दफा २४ बमोजिम नयाँ संसदीय दल गठन हुनेछ । त्यस्तो संसदीय दलको नाम सोही संसदीय दलले निर्धारण गरे बमोजिम हुनेछ ।’

यस्तै उपदफा ४ मा उपदफा ३ बमोजिमको संसदीय दलका सदस्यले दफा २८ को उपदफा (१) विपरीतको कार्य गरेमा त्यस्तो सदस्यले दल त्याग गरेको मानिनेछ भन्ने व्यवस्था छ । यसरी हेर्दा नेसपाबाट एकजना देवकोटा मात्रै निर्वाचित भएकाले संसदीय दल पनि माओवादी केन्द्रकै हुने र दलीय ह्वीप देवकोटालाई लाग्ने प्रष्ट आधार छ । ह्वीप उल्लङ्घनको कसुर गरेकोमा देवकोटामाथि कारबाहीको डण्डा चल्ने प्रष्ट आधार देखिन्छ । यस्तो हुनाले देवकोटामाथि माओवादी केन्द्रको ह्वीप लाग्नेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update