News 24 Television
वीरमा ब्रेन ट्यूमरको शल्यक्रिया कहिलेसम्म निःशुल्क ? 

काठमाडौं । वीर अस्पतालले गत आइतवारबाट ब्रेन टयूमरको निःशुल्क शल्यक्रिया सेवा दिइरहेको छ ।           

ब्रेन ट्युमरको उपचार महँगो हुने भएकाले विपन्नलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले अस्पतालले निशुल्क उपचार सेवा प्रदान गरेको हो । 

अस्पतालले असार १६ गतेसम्म निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने जनाएको छ । अस्पतालमा निःशुल्क ब्रेन टयुमरको शल्यक्रिया सेवा पाउँदा विपन्न समुदायका विरामीलाई ठूलो राहत मिलेको छ । 

मस्तिष्कमा कोशिकाहरु चाहिने भन्दा बढि पलाउने र फैलिने अवस्था नै ब्रेन टयुमर हो । यदि बे्रन टयुमर भएको अवस्थामा यसको औषधी उपचार निकै महंगो हुने गर्दछ । तर नेपालकै पुरानो वीर अस्पतालले अहिले ब्रेन टयुमर भएका बिरामीहरुको निःशुल्क उपचार सेवा थालेको छ । गत आइतबारबाट निःशुल्क अप्रेसन शुरु गरेको हो । 

यो अस्पतालले असार १६ गतेसम्म २२ दिनका लागि वीर अस्पतालमा शल्यक्रिया गर्नुपर्ने ब्रेन ट्युमरका सबै बिरामीको निः शूल्क शल्यक्रिया गर्न पाउने छन् । 

अहिले अस्प्तालले दैनिक २ देखि ३ वटासम्म बिरामीको निःशुल्क शल्यक्रिया गरिरहेको छ । जसको आधारमा २२ दिनको अवधिमा करिब १ सय जना ब्रेन टयूमरको शल्यक्रिया हुने अपेक्षा अस्पतालको न्यूरो सर्जरी विभागले गरेको  छ । 

वीर अस्पतालमा शुल्क तिरेर ब्रेन टयुमरको शल्यक्रिया गर्नुपरेको अवस्थामा २५ हजार रुपैयाँ लाग्छ । तर यहि शल्यक्रिया निजी अस्पतालमा गर्नु परेमा भने एकदेखि तीन लाख रुपैयाँसम्म खर्च हुने गर्छ । 

वीर अस्पतालमा निजी अस्पतालको तुलनामा निकै सस्तोमा शल्यक्रिया हुने भएता पनि विपन्न वर्गलाई यहि रकम समेत महंगो पर्ने र स्वास्थ्य उपचार सरकारले निःशुल्क गर्नुपर्ने सन्देश दिन विश्व ‘ब्रेन ट्युमर दिवस’को अवसर पारेर निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको हो । अस्पतालको यो सेवाबाट विपन्न वर्गका सेवाग्राहीलाई ठूलो राहत मिलेको छ । 

अहिले पनि ब्रेन ट्युमरबारे जनचेतना कम हुदाँ बिरामीहरु समयमा अस्पताल पुग्दैनन् । ब्रेन टयुमरको सुरुवाती लक्षण टाउको दुख्नु हो । तर प्रायः मानिसमा टाउको दुखाई सामान्य लाग्ने भएका कारण पनि विरामी हत्तपत्त अस्पताल पुग्दैनन् । 

जसले गर्दा जटिलता निम्तने गर्दछ । चिकित्सकहरुका अनुसार टाउको दुख्ने क्रम दिनहुँ बढ्दै जानु, औषधि खाँदा पनि ठीक नहुने तथा अचानक बिहान उठ्ने बित्तिकै आँखामा अँध्यारो हुने, चक्कर लाग्ने, बान्ता हुने जस्ता लक्षण देखिएमा तत्कालै अस्पताल पुग्नुपर्ने चिकित्सकहरुको सुृझाव छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update