News 24 Television
विवाह र जन्म केन्द्रको ताल मिलन, योजना लथालिङ्ग !

रुपन्देही । लुम्बिनीलाई ‘जन्म केन्द्र’ अर्थात बर्थिङ हव बनाउने संघीय सरकारको योजनामा अहिले विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । 

आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेटमा जनकपुरलाई ‘विवाह केन्द्र’ र लुम्बिनीलाई ‘जन्म केन्द्र’ बनाइने अवधारणा अघि सारिएको  छ । तर, लुम्बिनीलाई बर्थिङ हव बनाउने योजना लुम्बिनीवासीका लागि नौलो होइन र यस पटक पनि कार्यान्वयनमा आउछ भन्नेमा विश्वास गर्ने आधार कमजोर छन् । 

गत जेठ १० गते प्रधानमन्त्री प्रचण्ड २५ सय ६८ औं बुद्ध जयन्ती एवंम् लुम्बिनी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगेका थिए ।

बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका थिए । 

साथै लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत् यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्ने सम्भावनाको चर्चा गरेका थिए । 

प्रधानमन्त्रीले लुम्बिनीमा आफ्नो सम्बोधनका क्रममा चर्चा गरेको विषयमै त्यसको पाँच दिन पनि संसदमा अर्थमन्त्रीले चर्चा गरे ।

तर, संघीय सरकारको बजेटमा समावेश लुम्बिनीलाई बर्थिङ् सेन्टर बनाउने विषय नौलो होइन । 

लुम्बिनी प्रदेश सरकारको स्थापनाकालदेखि नै यो योजनाले निरन्तर बजेटमा स्थान पाउदै आएको छ । तर हालसम्म बजेट तथा कार्यक्रममा राख्ने बाहेक कुनै ठोस योजना अघि बढ्न सकेको छैन । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बच्चा जन्माउन चाहाने विदेशी गर्भवती महिलाहरुका लागि बर्थिङ हबका रुपमा प्रवर्धन गर्ने र लुम्बिनीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यस कार्यक्रमलाई अगाडी सारिएको हो । 

पछिल्ला वर्ष नेपालमा विवाह गर्न आउने भारतीय लगायतका पर्यटकको संख्या बृद्धि हुँदै गएपछि यसैलाई आधार मान्दै अब जनकपुरलाई ’वेडिङ डेस्टिनेशन’ बनाइने र बुद्ध जन्मस्थल लुम्बिनीमा बच्चा जन्माउन चाहानेहरुका लागि लुम्बिनीलाई बर्थिङ हवको रुपमा बिकास गर्ने लक्ष्य राखिएको छ । 

जसका लागि आवश्यक पूर्वाधार विकास गर्ने योजना सरकारको छ । यसका लागि संघीय सरकारले रु. ५ अर्ब ४६ करोड विनियोजन गरेको छ । 

सरकारले यसपटक लक्ष्य अनुरुप काम गर्न सके पर्यटन प्रवद्धनबाटै आर्थिक विकास गर्न सक्ने प्रशस्त आधारहरु छन्  । तर विगतमा प्रदेश देखी केन्द्र सम्मकै सरकारले योजना कार्यक्रम मात्र बनाउने , कार्यान्वयनमा नल्याउने हो भने लुम्बिनीलाई बर्थिङ् हब बनाउने विषयको कुनै तुक देखिदैन । 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update