News 24 Television
रास्वपाका नेता–मन्त्रीको विदेश भ्रमण मोहप्रति पार्टीभित्रै असन्तुष्टि, भने– ‘कुरीकुरी’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा मन्त्रीहरूमा विदेश भ्रमण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै पार्टीभित्रै असन्तुष्टि चुलिन थालेको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनदेखि विभिन्न राजनीतिक दलका निमन्त्रणासम्मका कार्यक्रममा सहभागी हुन सत्तारुढ दलका नेता तथा सांसदहरू विदेश जाने क्रम बढिरहेका बेला रास्वपाभित्रै त्यसप्रति असन्तुष्टि देखिएको छ । सुशासन, पारदर्शिता, मितव्ययिता र राजनीतिक जवाफदेहितालाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको रास्वपाका नेता तथा मन्त्रीहरूको विदेश भ्रमण मोहप्रति पार्टीकै सांसदहरूले प्रश्न उठाउन थालेका हुन् । उनीहरूले विदेश भ्रमणको औचित्य, त्यसमा हुने खर्चको स्रोत तथा भ्रमणबाट देश र जनताले प्राप्त गर्ने उपलब्धिबारे स्पष्ट जवाफ मागेका छन् ।

रास्वपाकी केन्द्रीय सदस्य तथा सांसद टीका (ज्वाला) संग्रौलाले विगतमा अन्य दलका नेता तथा सांसदहरू सामूहिक रूपमा विदेश भ्रमणमा जाँदा आफूहरूले प्रश्न उठाउने गरेको स्मरण गराउँदै अहिले आफ्नै पार्टीका नेताहरूको भ्रमणलाई पनि त्यसैगरी हेर्नुपर्ने बताएकी छन् । विदेशी संस्थाले आफ्नै खर्चमा सांसद तथा विज्ञलाई निमन्त्रणा गरे त्यसलाई स्वाभाविक मान्न सकिने तर राज्यकोषको रकम खर्च गरेर विदेश जानु उचित नहुने उनको तर्क छ । उनले जनताको घरआँगनमा पुगेर काम गर्नुलाई विदेश भ्रमणभन्दा बढी जिम्मेवारीपूर्ण मानेकी छन् ।

सांसद संग्रौलाको धारणालाई समर्थन गर्दै अर्का केन्द्रीय सदस्य तथा सांसद गणेश कार्कीले पनि विदेश भ्रमणको खर्च सार्वजनिक गर्नुपर्ने बताएका छन् । विशेषगरी कोप–३१ मा सहभागी हुन टर्किए जानेहरूको खर्च कसले बेहोरेको हो भन्ने स्पष्ट हुनुपर्ने उनको माग छ । अन्तर्राष्ट्रिय सम्मेलनबाट सिक्ने अवसर महत्त्वपूर्ण भए पनि व्यक्तिगत इच्छापूर्तिका लागि सरकारी स्रोत खर्च गर्न नहुने उनको भनाइ छ ।

त्यस्तै, सांसद आशिका तामाङले एउटा सांसदले राज्यको ढुकुटीबाट कति पटक विदेश भ्रमण गर्न पाउने भन्दै प्रश्न गरेकी छन् । संसदीय समितिका नाममा हुने भ्रमणबारे समितिकै सदस्यहरूलाई जानकारी नहुने गरेको उनको गुनासो छ । भ्रमणबाट जनता र संसद्ले के उपलब्धि पाउँछन् भन्ने सार्वजनिक हुनुपर्ने उनको माग छ । अर्का सांसद राजु पाण्डेले पनि जिम्मेवारीमा पुगेपछि नेताहरूको प्राथमिकता विदेश भ्रमण बन्ने गरेको भन्दै व्यंग्य गरेका छन् ।

विदेश भ्रमणबारे प्रश्न उठाउने क्रममै सांसद श्रीराम न्यौपानेले कोप–३१ मा सहभागी हुने प्रस्ताव अस्वीकार गरेका छन् । उनले सम्मेलनमा नेपालको तर्फबाट ऊर्जा क्षेत्रसम्बन्धी कार्यक्रममा नेतृत्वदायी प्रस्तुति दिन पाउनुपर्ने र व्यक्तिगत खर्चमा सहभागी हुन पाउनुपर्ने सर्त राखेका थिए । औपचारिक सुनिश्चितता नहुनु र नवलपुरमा पूर्वनिर्धारित जनसंवाद कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले टर्किए नजाने निर्णय गरेको उनको भनाइ छ ।

यसैबीच, रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसदको टोली ११ दिने भ्रमणका लागि चीन पुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गएको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुलीलगायत छन् । टोलीले बेइजिङ, हाङचोउ र सिचुवान भ्रमण गर्नेछ । महामन्त्री आचार्यले भ्रमणको सम्पूर्ण खर्च चिनियाँ कम्युनिस्ट पार्टीले बेहोर्ने र नेपालको राज्यकोषबाट कुनै खर्च नहुने दाबी गरेका छन् ।

उता, टर्किएको अन्ताल्यामा जारी कोप–३१ मा नेपालका पाँच मन्त्री सहभागी छन् । परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, कृषिमन्त्री गीता चौधरी, शिक्षामन्त्री सस्मित पोखरेल र स्वास्थ्यमन्त्री निशा मेहता सम्मेलनमा पुगेका छन् । कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच सांसद पनि त्यहाँ सहभागी छन् । यसबाहेक सांसद रञ्जु दर्शना र शोभा खनाल मलेसियामा आयोजित एसियाली महिला सांसद ककसमा सहभागी भएका छन् भने सांसद तोसिमा कार्की फिलिपिन्समा हुने बालबालिकामाथिको हिंसा अन्त्यसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुँदैछिन् ।

यसरी विभिन्न उद्देश्य र निमन्त्रणामा विदेश भ्रमण भइरहेका बेला खर्चको स्रोत र उपलब्धिबारे भने सबै भ्रमणको विवरण सार्वजनिक भएको छैन । सुशासन र जवाफदेहिताको प्रतिबद्धता व्यक्त गर्दै आएको रास्वपाभित्रै प्रश्न उठेपछि भ्रमणमा जाने नेता तथा सांसदहरूलाई आफ्नो उद्देश्य र उपलब्धिबारे जवाफ दिनुपर्ने दबाब बढेको छ ।

यद्यपि विदेश भ्रमणलाई पूर्ण रूपमा अनावश्यक भन्न नमिल्ने मत पनि छ। कूटनीतिक सम्बन्ध विस्तार, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान, लगानी भित्र्याउने प्रयास, प्रविधि हस्तान्तरण तथा राष्ट्रिय हितका विषयमा अन्तर्राष्ट्रिय सहकार्यका लागि मन्त्री र नेताहरूको विदेश भ्रमण आवश्यक हुन सक्छ । तर यस्ता भ्रमण परिणाममुखी, उद्देश्यमा आधारित र सार्वजनिक रूपमा जवाफदेही हुनुपर्नेमा जोड दिइएको  छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update