News 24 Television
केपी ओलीको डण्डा अब को माथि ? सम्भावित परिदृष्य कस्तो ?

काठमाडौं । सरकारको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही तथा नियुक्ति प्रक्रियालाई चौतर्फी रुपमा अघि बढाएका छन् । आफ्ना मान्छे सेटल गर्न सिपालु ओलीले प्रतिपक्षीमाथि खरो टिप्पणी गर्ने र आफ्नालाई च्याप्ने प्रवृत्तिलाई थप आक्रामक बनाएको टिप्पणी भइरहेको छ । 

ओलीले आफ्नालाई च्याप्ने गरेको भन्दै गरिएका टिप्पणीलाई बल पुग्ने आधार के–के देखिन्छन् त ? प्रधानमन्त्री ओलीले पछिल्ला केही दिनमै के–के गरे ?

एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा दुई तिहाई बढि सांसदहरुको साथले प्रधानमन्त्री पदमा आसिन छन् । ओलीले आफूले देशको नेतृत्व सम्हालेपश्चात सकारात्मक परिवर्तन हुन थालेको भन्दै सेयर बजारमा देखिएको उछाललाई उदाहरण दिन थालेका छन् । 

हुन पनि, अहिले सेयर बजारमा रेकर्ड ब्रेक कारोबार भइरहेको छ । उच्च अंकको वृद्धिले सेयर लगानीकर्ता हौसिएको बेला ओलीले यसको जस लिन खोजेका मात्रै छैनन्, उनले तल्लो तहसम्मै पुगेर जोरी खोज्ने काम पनि गरिरहेका छन् । 

यस पहिले प्रधानमन्त्री हुँदा धरहरा निर्माणाधिन अवस्थामै रहेका बेला उद्घाटन गरेका ओली अहिले पुनः यस कार्यकालमा पनि उद्घाटन गर्ने मुडमा छन् । मान्छे धरहरा चढ्न आतुर भएको भन्दै मन्त्री र सचिवलाई निर्देशन दिनेक्रममा ओलीले काठमाडौं महानगरपालिकाले धरहराको पार्किङलाई निशुल्क खुलाउदै गर्न खोजेको कामप्रति समेत व्यङ्ग्य कसेका छन् भने, स्थानीय तहले केहि गर्न नसक्ने भन्दै कर्मचारी र मन्त्रीमा आफ्नो विचार राखिसकेका छन् । 

विभिन्न विषयमा टिप्पणी गर्न माहिर ओली सामाजिक सञ्जालमा समेत उत्रिकै सक्रिय  छन् । साथै, उनले आफ्ना विरोधी ठेगान लगाउने प्रवृत्ति अहिले पनि त्याग्न सकेको  देखिन्न । कमजोरीका पाटाहरुमा अर्घेल्याई गर्दै आफ्नो पालो आएपछि अनेक डण्डा चलाउनेदेखि पुरस्कृत गर्ने ओलीले पछिल्लो केही समय यता कस्ता–कस्ता कार्य गरे त ?

१. विद्युत प्राधिकरणसँग पौठेजोरी

नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच चलेको विद्युत बक्यौतासम्बन्धि विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङविरुद्ध संसदमै आक्रोश पोखे । प्रतिनिधिसभा बैठकमै ओलीले विदयुत प्राधिकरणले अटेरी गरेको भन्दै आक्रोश पोखेका हुन् । 

प्रधानमन्त्रीका रुपमा संसदमा आफ्नो पहिलो प्रश्नउत्तर कार्यक्रमकै दिन ओलीले उद्योगीबाट बक्यौता नउठाउने कसले भन्यो भन्दै प्रश्न मात्रै गरेनन्, उर्जामन्त्रीलाई समेत यसमा स्पष्ट रुपमा लाग्न निर्देशन दिए । त्यसपछि विवाद लम्बिएपनि सरकारले बक्यौता नतिर्ने उद्योगीको लाइन भने जोडेरै छाड्यो । निर्देशन र दबाबले प्राधिकरणलाई थिलोथिलो पारेका ओलीले अब कारबाहीको डण्डा समेत चलाउने देखिन्छ । 

विद्युतको बक्यौता उठ्ने निश्चितता नभई लाइन जोड्न नहुने भन्दै फरक मत राखेका प्राधिकरणका दुई जना बोर्ड सदस्यलाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण नै सोधेको छ । 

विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोधिएको छ, जसमा पुन माओवादी केन्द्र निकट हुन् भने आचार्य एकीकृत समाजवादी निकट हुन्।

२. प्रहरीमा पनि उस्तै

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि अनुसन्धान थालिएको छ । तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग निकट रहेर काम गरेका ज्ञवालीमाथि प्रहरीले आन्तरिक अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएर छानविन थालिएको छ ।

ज्ञवालीको नागरिकता, सुन प्रकरणमा अस्वभाविक कनेक्सन लगायत थुप्रै आरोपहरु थिए । त्यहिबेला पुर्वगृहमन्त्री रवि लामिछानेले किरण बज्राचार्यलाई सरुवा गर्दै ज्ञवालीलाई सीआइबीमा ल्याएपछि सहकारी ठगी प्रकरणको अनुसन्धानमा समेत प्रहरीले गोलमाल गर्न खोजेको आरोप लागेको थियो । तर, उनै ज्ञवाली सरकार फेरिएपछि कारबाहीको सिकार बन्ने खतरामा परेका छन् । यस्तोमा कांग्रेस सांसद हृदयराम थानीले त विरोध नै गरेका छन् । 

प्रहरीमा गोलमाल देखिनु र कार्यसम्पादनमा असर पर्ने कामको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने भन्दै एमाले सांसद रघुजी पन्तले पनि घुमाउरो ढंगले आलोचना गरेका छन् । 

प्रहरीमा देखिएको गन्जागोललाई पूर्वगृहमन्त्री रवि लामिछानेले राजनीतिक नेतृत्वले भन्दा पनि मिडियाबाट खतरा हुने जिकिर गरेर सफ्ट कर्नर राख्न खोजेको देखिन्छ । 

उसोतः कुनैबेला ओली आफै रविमाथि सहकारी ठगीको आरोपमा कडा शब्दले प्रतिरोध गर्ने गर्थे । तर, पछिल्लो समय सत्ता समिकरण फेरिएपछि ओलीले बोलि फेरेका छन् । 

रविलाई एमाले सांसद सुर्य थापा नेतृत्वको संसदीय विशेष छानविन समितिले बयानका लागि बोलाउने तयारी समेत गरिसकेको छ । यस्तोमा प्रहरी गिजोल्ने राजनीतिक नेतृत्व र ओलीले अब आफूअनुकुलको निर्णयमा कडा कदम चाल्ने सम्भावना छ । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update