News 24 Television
नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो ! 

काठमाडौं । कांग्रेस–एमालेसहितको सरकारमाथिका प्रश्नहरु पेचिला बन्दै गइरहेका छन् । कांग्रेसकै केहि नेताहरुले एमालेसँगको सहकार्यलाई पुर्विचार गर्नुपर्नेदेखि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्न थालेका छन् ।

सरकारले सुशासन कायम गर्न नसकेको आरोप लागिरहेका बेला सत्ता सहकार्य र नेताहरुबीचको जुहारीले तनाव सिर्जना गर्ने स्थिति बन्न पुगेको भन्दै चिन्ता व्यक्त गर्न थालिएका छन् । 

कांग्रेस–एमालेबीचको सत्ता समीकरणपछि बलियो सरकार त बन्यो तर, सुशासनको पक्षमा ठूलो विरोध र आलोचना चलिरहेको छ । सरकारले सेवा प्रवाहमा ध्यान दिन नसकेको कुरामा कांग्रेसभित्रैबाट प्रश्न उठाउन थालिएको छ । प्रश्नको चाङमा रहेको सरकारलाई कांग्रेस नेताहरुले भनिरहेका छन, सुशासन कायम गर्ने सवालमा सरकार चुक्यो, संविधान मिच्ने काम भयो ।

कांग्रेसमा यस्ता आवाज सामान्य प्राय बनिरहेका छन् । कांग्रेसमा सरकारलाई लिएर ठूलो असन्तुष्टि देखिन्छ । नेताहरुले सरकारमाथि प्रश्नमात्रै गरिरहेका छैनन्, सरकारबारे पुर्विचार गर्नुपर्ने समेत भन्न थालेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानका कारण बहुमत आउन कठिन रहेको भन्दै एमालेसँग मिलेर सरकार बनाउनुपरेको जिकिर गरिरहेका छन् ।

 उसोतः देउवाले सरकार निर्माण र एमालेसंगको सहकार्यलाई जेलभित्रका सहयात्रीको रुपमा ब्याख्या गर्ने गरेका छन् । प्रधानमन्त्री केपी ओली र आफू जेलभित्रको जेलमा रहेकोबाहेक सरकार निर्माणका बलिया तर्क भने देउवाले दिने गरेका छैनन् । 

सत्ता सहकार्य र अन्य विषयको उल्झनबारे कांग्रेसले विमर्श गर्दै गर्दा प्रधानमन्त्री केपी ओली भने नेपालमा कुनैपनि समस्या नरहेको भनिरहेका छन् । 

कांग्रेस एमालेको सहकार्यमा यस्ता अवरोध र दाबीहरु चलिरहेपनि सुशासनको सवालमा उठेका प्रश्नको जवाफ भने खोज्ने प्रयास गर्नुपर्नेे आवाज उठिरहेका छन् । कांग्रेसले ओलीसंगको सत्ता सहकार्यलाई अनेक कोणबाट विश्लेषण गरेपनि देउवा एक्लैले ओलीको पक्षमा वकालत गर्दै आफू पक्षिय नेताहरुलाई रोक्ने प्रयास गरिरहेका छन् । कांग्रेसको आन्तरिक राजनीति र महाधिवेशनको सम्मुख पनि चलिरहेकाले कांग्रेसको तरलतासंगै सत्ता समीकरणमा उठेका प्रश्नको जवाफ भेटिन थाल्ने विश्वास गर्न थालिएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update