News 24 Television
देउवाले देखाए खतराको संकेत ! सांसद र पार्टी दुवै धरापमा !

काठमाडौं । नेपाली कांग्रेस दुई सांसदका कारण तनावमा परेको छ । कांग्रेसका सांसदहरु अनेक आरोपमा मुछिने र ती आरोपमाथिका प्रश्नहरुको जवाफ दिनै कठिन हुने स्थितिले पनि कांग्रेसमा केहि तनाव र विचलन स्वभाविक जस्तो बन्न पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा गरेको ब्रिफिङका अनुसार कांग्रेसमा विस्तारै विचलन आउने त होइन भन्ने चिन्ता बढाएको छ ।

कांग्रेस अहिले सत्तामै भएपनि कांग्रेसभित्रको माहोल चिढचिढाहटपूर्ण देखिन्छ । कांग्रेस सांसद माया राई र मोहन बस्नेतमाथि लागेको आरोप र सांसदको गरिमामाथि उनीहरुको व्यवहारले कस्तो स्थिति सिर्जना गर्ला ? यो चिन्ता र चासोको विषय बन्न पुगेको छ । भ्रष्टाचार र सहकारी ठगी जस्तो गम्भीर आरोपमा सांसदहरु डामिदा सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिले भने कांग्रेसमा विचलन आउन थालेको संकेत गरिरहेको छ । 

सभापति देउवाले सांसदहरुमाथि लागेको आरोपलाई राजनीतिक रुपमा पूर्वाग्रहको रुपमा लिएका छन् । देउवाले नेताहरुमाथि आरोप लागेको विषयलाई पहिले आफू पनि जेल बसेको विषयसंग दाँजेका छन् । 

कांग्रेस सांसदद्वय माया राईमाथि सहकारी ठगी र मोहन बस्नेतमाथि टेरामक्स प्रकरणमा मुद्दा चलिरहेको छ । सांसद बस्नेतमाथि भ्रष्टाचार आरोप लागेपछि उनको सांसद पद नै निलम्बनमा परिसकेको छ, भने माया राई १० लाख धरौटीमा रिहा भएकी छन् । यसले पनि सांसदको गरिमा र ओजमाथि प्रश्न उठिरहेकै बेला कांग्रेसले भने राजनीतिक विषयजस्तो बनाउन खोजेको छ ।

जुन विषय लोकतान्त्रिक र संवैधानिक दृष्टीकोणको खिलाफमा  देखिन्छ । सहकारी ठगी र भ्रष्टाचारजस्तो गम्भीर विषयको आरोपलाई जेल जानै परेपनि सामान्य रुपमा लिनुपर्ने भन्दै कांग्रेसले गरेको टिप्पणीमाथि आलोचना र विरोध भने शुरु हुन थालेको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update