
काठमाडौं । वामपन्थी एकताको विषयमा नेताहरु विभाजित देखिन्छन् । वामपन्थी एकता आवश्यकता र वैचारिक समानताको आधारमा हुनुपर्नेदेखि तत्काल आवश्यक नरहेको भन्दै नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । यस अवस्थाका बीच के नेपालमा वामपन्थी एकता र नेताहरुको एकैस्वर बन्ने सम्भावना देखिन्छ त ?
नेपालमा वामपन्थी दलहरु लामो समयसम्म एकतामा टिक्नै सक्दैनन् । सामान्य विवादमा पार्टी विभाजनमा जाने र नेतृत्वको होडमा चम्किने गर्छन् । नेतृत्व लिने विषयकै विवादले वामपन्थी भनिएकाहरु यत्रतत्र छुट्टिएका देखिन्छन् ।
तत्कालीन माओवादी र एमालेको एकता समेत लामो समय टिकेन । झण्डै दुई तिहाई मत पाएपछि नेकपा बनाएपनि शक्ति होडका कारण विभाजन भयो । यतिमै नरोकिएका उनीहरु अन्ततः एमाले विभाजनसम्म पुगे ।
यस्तोमा अहिलेको संसदीय शक्ति छिन्नभिन्न रहेको बेला समेत आफै शक्तिशाली भएको दाबीसहित वामपन्थी एकतालाई विचारको लेप लगाएर निषेधको बाटो अवलम्बन गर्ने व्यवहारमा देखिन्छन् नेताहरु ।
ओलीले वामपन्थी एकताको नाममा गलत विचारलाई स्थान नदिने भनिरहेको बेला प्रचण्ड र माधव नेपालप्रति पनि कटाक्ष गरिरहेका छन्। तर, माधव नेपाल भने वामपन्थी एकता र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने समय आएको भन्न थालेका छन् ।
एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बौरिने संकेत देखा परेको छैन् । पार्टी छाड्नेहरुको लर्को नै लागेको देखिन्छ भने, अब पनि ध्यान पु¥याइएन भने स्थिति बिग्रिन सक्छ भन्नेमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि पर्छन् । त्यसैले उनले एकतामा जोड दिदै आएका छन् ।
वामपन्थी एकता र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने भन्दै चलिरहेका दुई धार पछिल्लो समय अलमलमा देखिन्छन् । यता, माओवादी केन्द्र पनि विप्लव नेतृ्त्वको नेकपासँगको एकतालाई आलटाल गरिरहेको छ भने, एकताका लागि ठिक्क परेका नेपाल समाजवादीका महिन्द्र राय यादवलाई समेत एक प्रकारले विचल्लीमा पारिएको स्थिति छ ।
अझ अहिलेत प्रचण्डले २०८४ को निर्वाचनअघि वामपन्थी एकताको सम्भावना नरहेको भन्न थालेका छन् । यता, राजनीतिक रुपमा विप्लवले तत्काल एकताको आवश्यकता औल्याइरहेका छन् भने महिन्द्र राय यादव नेतृत्वको टिम समेत अलपत्र परिरहेको छ । तर, प्रचण्डले एकता होइन पार्टी प्रवेशको माहोल सिर्जना गर्नकै लागि एकतालाई टार्दै आएको भन्न थालिएको छ ।
यसरी वामपन्थी भनिएकाहरु एकताको झिल्को बल्न लाग्दा विमति राख्ने र माहोल नबन्दा एकताको रटान लगाउनेमै समय खर्चिने गर्नाले उनीहरुको मत संरक्षित र सुरक्षित बन्नै सकेको देखिन्न । यि सबै कुरा गर्दैगर्दा कम्युनिस्ट विचारकहरुले आफुभित्रको कमजोरी समीक्षा गर्नुपर्ने दिनका रुपमा लिइन्छ, मदन—आश्रित स्मृति दिवस । धुरन्धर छविका कम्युनिस्ट नेताहरु मदन भण्डारी र जीवराज आश्रितको रहस्यमयी दुर्घटना र मृत्युका पाना अझै खुलेका छैनन् ।
कम्युनिस्टभित्र सयौं वेकारतत्वहरु छरपष्ट छन् । आचरण सुधारदेखि विचारअनुसारको व्यवहार कहिकतै तालमेल छैन । तरपनि, अहिले कम्युनिस्ट नेताहरु मदन—आश्रित स्मृति दिवसलाई समीक्षा र सुधारको विचारविमर्शका लागि अवसरका रुपमा लिन सकिरहेका छैनन् ।
बरु, कसरी ? कता ? कसलाई कतिसम्म घोचपेच गर्न सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित गरिरहेका छन् । मुलुक समृद्धिभन्दा सत्ता र शक्तिको चास्नीका लागि कम्युनिस्टहरुको होड झन्–झन् भयानक बन्दैगएको छ ।