काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा एक्लै निर्वाचनमा होमिने दाबी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी स्थानीय तहमा निर्वाचनमा एक्लै जाने र जित्ने दाबी गर्दै नेता कार्यकर्तालाई तयारीमा जुट्न अपिल समेत गरिरहेका छन् । तर, के माओवादी केन्द्रले एक्लै चुनावमा जाने धरातल पुनः तयार गरेकै हो त ?
यस अघिका चुनावमा कतै न कतै तालमेल वा गठबन्धन गर्दै चुनावमा होमिने गरेको माओवादी केन्द्रको जनमत ओरालो यात्रामा छ । मतदाताको संख्या बढेपनि माओवादी केन्द्रको मत घटिरहेको छ । यसको पहिलो कारण हो, हरेक निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवार नहुनु । उम्मेदवार नहुँदा मतदाताले विकल्प रोज्छन् ।
आफ्नो मत इच्छाअनुसार हालिदिन्छन् । अझै, पार्टी विचार, सिद्धान्त र केहिपनि नमिल्ने दलका नेताहरुलाई समेत भोट हाल्नुपर्ने बाध्यतामा हेलिदिएका प्रचण्डले अब भने एक्लै निर्वाचन जित्ने जिकिर गर्न थालेका छन् ।
अहिले प्रमुख प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरोधी कदम चाल्दा बाहिरिनु परेको जिकिर गरिरहेको छ ।
अझ कतिसम्म भने माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटा त उनलाई लेनिनसँग समेत जोड्न थालेका छन् ।
भक्तिगानले भरिपुर्ण अभिव्यक्ति दिदै सापकोटाले उनलाई प्रचण्ड विश्वब्राण्ड बनिसकेको जिकिर गरिरहेका छन् । उसोतः प्रचण्डले पनि आफूलाई प्रधानमन्त्रीभन्दा प्रचण्ड नै ठूलो भएको ठान्छन् ।
सार्वजनिक रुपमै प्रचण्डले आफुलाई विश्वले प्रधानमन्त्रीभन्दा माथि राखेर हेर्न थालेको जिकिर पनि गरिरहन्छन् । जनमतको खास ख्याल नगरी आफैलाई माथि राख्न खोज्ने प्रवृत्ति घातक त बन्दछैन ? माओवादी केन्द्रभित्रै चल्ने बहस पनि हो यो । तर, पनि माओवादी केन्द्रभित्र प्रचण्डको भक्तिगान गर्ने र उनलाई फुर्क्याएर पद लिनेको कमी छैन ।
यस्तोमा अब प्रचण्डले पार्टीलाई एक्लै चुनावमा लैजाने दाबी गर्न थालेका छन् । के उनले यसलाई व्यवहारिक रुपमै कार्यान्वयनको बाटोमा लैजालान् ? शंका भने व्याप्त छ ।
माओवादी केन्द्रको बाध्यता
प्रमुख दुई ठूला प्रतिष्पर्धी दलले सत्ता स्वार्थ मिलेसम्म सत्ताको स्वाद लिने नै देखिन्छ । कतिपयले र सत्ता सहकार्यमा गडबडी शुरु भएको दाबी गर्न भने थालिसकेका छन् ।
बाढीपहिरोको विपत्तिका समय तत्कालीन कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई मन्त्रिपरिषद्को बैठक डाक्न र निर्णय लिन प्रधानमन्त्री केपी ओलीबाटै अवरोध सिर्जना भएको टिप्पणी भइरहेका छ्न । यद्यपी यी दुई ठूला दलले पनि एक्लै निर्वाचन लड्ने रटान लगाइरहेका छन् ।
कांग्रेसले निर्णय नै गरेर निर्वाचनमा एक्लै जाने भनेको छ भने एमालेमा ओलीले नचाहेसम्म एक्लै निर्वाचनमा जाने स्थिति बलियो छ ।
यस्तो स्थितिमा प्रचण्डले मिलेर जाँदा फाइदा हुने दल र नेता नभेट्टाएपछि एकपटक निर्वाचनमा एक्लै जाने गरि अघि बढ्ने जमर्को गर्ने बताइन्छ । यद्यपी स्थानिय तहको उपचुनावको नतिजाले समेत दलीय हैसियत, आकार र शक्तिमा धेरै फेरबदल हुने अपेक्षा गरिएको छ ।
उपचुनावले सबै दलको साइज र हैसियतसहित निर्णयमा समेत फरक पार्ने विश्लेषण चलिरहेको छ ।