
काठमाडौँ । प्रगतिशील लेखक संघ (प्रलेस) बागमती प्रदेश कमिटीको आयोजनामा विचार गोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ । आइतबार आर आर क्याम्पसमा आयोजित उक्त कार्यक्रममा कार्यक्रममा प्रगतिवादी साहित्यमा अपाङ्गता सवाल, वर्तमान सन्दर्भमा मार्क्सवाद र मार्क्सवादी साहित्य विषयमा कार्यपत्र प्रस्तुति एवं अन्तरक्रिया गरिएको थियो ।
गोष्ठीका प्रमुख वक्तामा प्रलेसका पूर्व केन्द्रीय अध्यक्ष तथा हालका सल्लाहकारहरु डा. अमर गिरी, प्रा.डा. जीवेन्द्र देव गिरी सल्लाहकार गोपी रमण उपाध्याय, सीता शर्मा, रामप्रकाश पुरी लगायत रहेका थिए । डा. गोविन्दप्रसाद आचार्यको कार्यपत्र प्रस्तुति तथा टिप्पणीकर्ता निमग्ना घिमिरे रहेका थिए ।
आफुनो विचार राख्ने क्रममा डा. अमर गिरीले प्रगतिशील र प्रगतिवादी साहित्य लेखनका निम्ति गहिरो अध्ययन, विचारमा स्पष्टता र विश्व परिवेशको वस्तुपरक ज्ञान हासिल गर्नुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै डा. गोविन्द आचार्यले अपाङ्गता भएका व्यक्तिलाई प्रगतिवादी साहित्यमा पूर्ण मानवीय दृष्टिले हेरिने गरिएको भए पनि व्यवहारमा लागु गर्न भने अझै धेरै काम गर्नुपर्ने बताए ।
प्रलेस केन्द्रीय कमिटीका अध्यक्ष डा. मधुसूदन गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रलेस बागमती प्रदेशका अध्यक्ष डा. हरिप्रसाद सिलवालको अध्यक्षता रहेको थियो ।