
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । मोदीले अमेरिकाको दुई दिने भ्रमण गर्ने भनिएको छ । यस्तोमा किन मोदी ट्रम्पको नजरमा परे त ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विभिन्न कार्यकारी आदेशले विश्वमै तरङ्ग पैदा गरिरहेको छ । ट्रम्पले लगाउने भनेका कर र छिमेकी राष्ट्र क्यानडा र मेक्सिकोसँगको सम्बन्धदेखि चीनसँग ट्रम्पले गर्न खोजेको व्यापार युद्धले नयाँ संकेत देखा पर्न थालेको छ ।
ट्रम्पले चिनियाँ सामाग्रीमा १० प्रतिशत कर लगाएका छन भने चीनले पनि जवाफ दिदै अमेरिकी सामानमा १० देखि १५ प्रतिशत जवाफी कर लगाउने घोषणा गरेको छ । यसरी चीन र अमेरिका आमनेसामने हुँदा ट्रम्पले चीनसँग सीमा जोडिएको भारतलाई प्राथमिकतामा राखेका छन् । मोदीलाई अमेरिकामा न्यानो स्वागत गरेर चिनियाँलाई घेराबन्दीमा पार्ने ट्रम्पको योजना सफल होला ? यो धेरै ठूलो चासोको विषय बनेको छ ।
मोदीको अमेरिका भ्रमण
ट्रम्पले मोदीलाई फेब्रुअरी अन्तिम साताका लागि अमेरिका भ्रमणको औपचारिक निमन्त्रणा दिएको बताइएको छ । ट्रम्पले मोदीसँग जनवरी २७ तारिखमा टेलिफोन सम्वाद गरेका थिए । त्यसमा उनीहरुले दुई देशको पारस्परिक हितको विषयमा कुराकानी गरेको बताइएको छ ।
यस्तोमा मोदीलाई अमेरिकामा बोलाएर ट्रम्पले अवैध आप्रावासीलाई भारतले जिम्मा लिने र दक्षताको आधारमा भारतीयलाई अमेरिकाले धेरै भीसा दिने विषयमा कुराकानी हुने ठानिएको छ । ट्रम्पले १८ हजार बढी अवैध आप्रवासीलाई भारत फर्काउने गरि गरेको तयारीमा मोदी तयार भएको भनिएको छ भने २०५ जना आप्रवासीलाई अमेरिकाले गरेको डिपोर्टलाई भारतले स्वीकार गरिसकेको बताइएको छ । यसले पनि मोदीको अमेरिका भ्रमणको नयाँ सन्देश के हुने भन्ने विषयमा चर्चा चल्न थालेको छ ।
ट्रम्पको नजर
ट्रम्पले चिनियाँ पक्षसँग व्यापार युद्ध शुरु गर्ने गरि आफ्ना कदमहरु अघि बढाएका छन् । ट्रम्पका यस्ता योजनाले अमेरिका चीन आमनेसामने भइसकेका छन भने ब्यापार युद्ध शुरु भएको छ ।
यसले बजारमा सुस्सता आउनेदेखि विश्व अर्थतन्त्रमा नै संकट आइपर्ने विश्लेषण हुन थालेको छ । ट्रम्पले चीनसँग सीमा जोडिएको भारतलाई विश्वासमा लिएर चीनलाई एक्ल्याउने रणनीति अख्तियार गर्न खोजेको देखिन्छ । भने, रुससँग भारतले खरिद गरिरहेको सुरक्षा सामाग्रीमा पनि अमेरिकाले हिस्सेदारी खोज्ने ठानिएको छ ।
यो विषयमा अमेरिका र भारतले सुरक्षा सामाग्री खरिद गर्ने विषयमा शुरुवाती सम्झौता नै गरेको बताइन्छ । यस्तोमा अमेरिकाले चीनलाई एक्ल्याउनका लागि भारतलाई साथ लिने र रुससँग भारतको बढ्दो व्यापारलाई कम गर्ने र मोदीलाई साथ लिने तयारीस्वरुप अमेरिका भ्रमणको औपचारिक निमन्त्रणा दिएको बताइन्छ ।
चीन क्रुद्ध
अमेरिकाले चिनियाँ सामाग्रीमा लगाएको करविरुद्ध चीनले पनि कर लगाउने घोषणा गरेको छ । चीनले जवाफी कदम चालेपछि अवको विश्व व्यापार युद्धमा धकेलिने विश्लेषण हुन थालेको छ भने अमेरिकामा अनेक मुद्दा र स्वामित्वको सवालमा संकट व्यहोरिरहेको टिकटकलाई न्याय दिलाउने सोचमै चीनले पनि गुगलविरुद्ध छानविनको आदेश दिएको बताइन्छ ।
गुगलविरुद्ध व्यापारिक प्रतिष्पर्धाविरोधि काम गरेको आरोप चीनले लगाएको छ । यसले पनि ठूलो मात्रामा असर पार्ने बताइन्छ । उसोतः गुगल चीनमा प्रतिबन्धित छ । तर, छानविनपछि चिनियाँ कम्पनीसँगको व्यापारदेखि सहकार्यमा भने ठूलो संकट देखा पर्ने ठानिएको छ ।
यस्तै, उच्च गुणस्तरको प्राविधिक वस्तु उत्पादनमा प्रयोग हुने केही महत्वपूर्ण दुर्लभ खनिज पदार्थहरूको अमेरिका निर्यातमा पनि चीनले प्रतिबन्ध लगाउने भएको छ । यसरी आक्रामक बनेको चीनले आफ्नो निर्णय ट्रम्पको निर्णयअनुसार गर्दै जाँदा द्वन्द्ध थप बढ्ने खतरा देखिन्छ ।
निर्णय गर्दै ब्याक हुँदै
मेक्सिको र क्यानडाविरुद्ध २५ प्रतिशत करको धम्कीबाट ट्रम्प ३० दिनका लागि पछि सरेका छन् । ट्रम्पले गरेको निर्णयमा दुई देशले विरोध जनाउदै जवाफी करको निर्णय लिएको बताएका थिए । तर, अवैध आप्रवासी रोक्ने, अमेरिकीको ज्यान लिने फेन्टनिलमाथिको प्रतिबन्ध लगायतका विषयमा दुई देशका राष्ट्रप्रमुखले प्रतिबद्धता जनाएपछि तत्काल कर रोकिएको बताइन्छ । तर, यो स्थायी हुन्छ वा हुन्न भन्ने डर भने कायमै छ ।