News 24 Television
ऊर्जामन्त्री खड्काको नियतप्रति सत्ता र प्रतिपक्षका सांसदले उठाए प्रश्न

काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बठैकमा सत्ता र प्रतिपक्ष दलका सांसदहरुले ऊर्जामन्त्री दीपक खड्कालाई जलविद्युत आयोजनाका विषयलाई लिएर प्रश्न गरेका छन् । शुक्रवार ऊर्जा मन्त्रालयको काम कारबाहीका विषयमा जानकारी लिन बसेको समिति बैठकमा ऊर्जा मन्त्रीलाई जलविद्युत आयोजनाहरुका विषयलाई लिएर प्रश्न गरेका हुन् ।

सांसदहरुले मन्त्री खड्कालाई जगदुल्ला जलविद्युत आयोजना ठेक्का र किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीका विषयमा प्रश्न गरेका छन् । समितिमा मन्त्री खड्कालाई सत्ता पक्षका सांसदहरुले समेत मन्त्रालयले गरेका कामको विषयमा आलोचना गरेका छन् । समिति बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद गोकर्ण बिष्टले किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीका विषयमा मन्त्री खड्काको नियत राम्रो नभएको बताए । उनले आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि बनाउँदा नै सेटिङ भएको देखिएको बताए । विद्युत उत्पादन कम्पनीका लगानीकर्ताहरुलाई जानकारी छ की छैन ? भन्दै प्रश्न गरे । 

नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको सेयर बेच्ने प्रक्रिया अगाडि बढाइनु नै शंकास्पद भएको बताए । उनले रणनीतिक महत्वका आयोजनामा निःशुल्क बिजुलीको विषयमा केही उल्लेख नगरी निजी कम्पनीलाई शेयर बेच्ने विषय निक्कै गम्भीर भएको बताए । ४४५ मेगावाटको किमाथांका अरुण र १९०२ मेगावाटको मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर विक्रीका लागि मंसिर २३ गते आशयपत्रमा शंका रहेको बताए । उनले मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर विक्री गरेर कति पुर्याउन खोजेको हो ? भन्दै प्रश्न गरे ।  

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले ऊर्जामन्त्रीले कुनै एउटा अमुक कम्पनीलाई शेयर बेच्ने सेटिङसहित आशयपत्र मागेको आरोप लगाए । उनले सरकारले कसैको स्वार्थका लागि आयोजना कसैको जिम्मा लगाउन नहुने बताए । जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा पनि मन्त्री खड्काको बद्नियत रहेको भन्दै उनले प्रश्न उठाए ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बेच्ने योजनाबाट किन पछाडि हटेकाे भन्दै भन्दै प्रश्न गरे । उनले मन्त्री खड्कामाथि दुई आयोजनाको शेयर सेटिङमा बेच्न खोजेको आरोप लगाए । कार्यविधि सेटिङमा बनाइएको पनि उनकाे भनाइ  छ । जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा निर्माण कम्पनीलाई मन्त्रालयमा बोलाएर निर्माण कम्पनी छनोटमा हस्तक्षेप गरेको आरोप लगाउँदै उनले उक्त ठेक्का पनि अख्तियारमा उजुरी परेपछि रद्द गर्न वाध्य भएको हो ? भनी प्रश्न गरे ।

एमाले सांसद ठाकुर गैरेले मन्त्री खड्काले समितिलाई छल्न खोजेको आरोप लगाए । उनले मन्त्रालयबाट भइरहेका गलत काममा समर्थन गर्न नसकिने बताए । सरकारले २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राम्रो भएको भन्दै काम गर्ने मनाशाय राम्रो नदेखिएको उनकाे भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पनि मुगु कर्णाली (१९०२ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जलविद्युत परियोजनाहरूको अनुमति बिक्रीका विषय सेटिङमा भएको देखिएको बताइन् । 

सांसदहरुले ऊर्जा मन्त्रालयले गरेका पछिल्लो गतिविधि विवादित हुँदा सांसदहरु समेत विवादित बन्नुपर्ने अवस्था रहेको भन्दै गलत काम सच्याउन मन्त्रीलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update