
काठमाडौं । उच्च शिक्षा हासिल गरेपछि आत्मनिर्भर बन्ने, रोजगार हुने र परिवारमाथिको आर्थिक भार कम गर्ने नेपाली युवाहरूको सपना हो । तर, वास्तविकता के छ ? हजारौं युवाले स्नातक, स्नातकोत्तरको डिग्री हातमा लिएर पनि रोजगारीको खोजीमा भौतारिनु परेको छ ।
देशभित्र अवसर नपाएपछि उनीहरू विदेश जानु बाध्यता बनेको छ । आशा लाग्दा सपना बोकेर घर छाड्ने, तर अन्ततः ठगी, शोषण र असुरक्षित भविष्यको शिकार बन्ने क्रमले बेहाल बनाइदिएको छ ।
चर्चित चलचित्र निर्देशक तथा कवि उपेन्द्र सुब्बाले आफ्ना कवितामा लेखेका छन्, ‘बाबुले दुःख पाए नपढेर, मैले दुःख पाएँ पढेर ।’ हालको अवस्थामा यो भनाइ नेपाली युवाहरूका लागि कठोर यथार्थजस्तै बन्न पुगेको छ । उच्च शिक्षा हासिल गरेपछि आत्मनिर्भर बन्ने, राम्रो रोजगारी पाउने र आर्थिक रूपमा सम्पन्न हुने सपना बोकेका लाखौं युवा निराश भइरहेका छन् ।
शिक्षा अब भविष्यको सुनिश्चितता होइन, बरु अन्योलको कारण बन्दै गएको छ । देश अराजकताको भुमरीमा फसेको छ । दिनदिनै हजारौं युवा रोजगारीका अवसर खोज्दै विदेश पलायन भइरहेका छन् ।
कर्मचारीतन्त्रको प्रभाव बढ्दो छ, भ्रष्टाचार मौलाएको छ, राजनीतिक अस्थिरता कायम छ, र अर्थतन्त्र कुपोषणको चपेटामा परेको छ । विकल्पको अभावमा नेपाली युवाहरू आफ्नो श्रम, सीप र ज्ञान विदेशमा लगानी गर्न बाध्य भइरहेका छन् ।
युवाहरूको विदेशिने क्रम बढ्दो
मुलुकमा रोजगारको अवसर सीमित हुँदै गएपछि युवाहरू ठूलो सङ्ख्यामा विदेशिने क्रम बढ्दो छ ।
– चालु आर्थिक वर्षको पहिलो सात महिनामै ४ लाख ६५ हजारभन्दा बढी नेपालीले रोजगारीका लागि देश छाडे
– वैदेशिक रोजगार विभागका अनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो संख्या १४.७५ प्रतिशतले वृद्धि
गत वर्षको पहिलो सात महिनामा ३ लाख ९६ हजार ८ सय ११ जनाले श्रम स्वीकृति लिएका थिए भने यो वर्ष यो संख्या ६८ हजार ६ सय ९६ ले बढेर ४ लाख ६५ हजार ५ सय ७ पुगेको छ ।
रोचक के छ भने, पछिल्ला तथ्याङ्कहरू हेर्दा हरेक दिन औसतमा २ हजार २ सय ३ जना नेपाली विदेशिएका छन् । महिनाको हिसाबमा भने यो संख्या ६६ हजार ९२ पुग्छ ।
कुन महिनामा कतिले लिए श्रम स्वीकृति ?
– साउनमा ५९ हजार ५ सय ७५
– भदौमा ५७ हजार ४ सय ९३
– असोजमा सबैभन्दा कम ५३ हजार ४ सय २५
– कात्तिकमा ७० हजार ९ सय ९०
– मङ्सिरमा सबैभन्दा धेरै ८४ हजार २ सय २७
– पुसमा ६७ हजार १ सय ५३
– माघमा ७२ हजार ४ सय ४१
तर, लाखौंको संख्यामा नेपालीहरु विदेश पलायन हुँदैगर्दा ठगी धन्दा भने मौलाएको छ । विदेशमा सुनौलो भविष्य खोज्ने नेपाली युवाहरू दिनहुँ ठगीको शिकार भइरहेका छन् ।
आकर्षक तलब, सुरक्षित काम र उज्ज्वल भविष्यको आशामा घर छोड्ने धेरै युवा म्यानपावर कम्पनी, बिचौलिया र नक्कली कागजातको जालसाझमा परिरहेका छन् । हालै मात्र मलेसिया, दुबई, कतारलगायतका देशमा ठगीमा परेका सयौं युवा रित्तो हात स्वदेश फर्कन बाध्य भएका छन् । ठगिएका युवाहरूको साझा कथा उस्तै छ ।
भनिएको तलब नपाइने, कामका शर्त पूरा नहुने, रहनसहन अत्यन्त दयनीय हुने । कतिपयले त काम नै नपाएर अलपत्र परेका छन् ।
अवस्था यतिसम्मको नाजुक हुँदैगर्दा पनि देशभित्र नै रोजगारीका अवसर सिर्जना गर्ने नीति बनेन् भने वैदेशिक रोजगारी अझ तीव्र गतिमा बढ्दै जाने विश्लेषण हुने गरेको छ ।
सरकार, नीति निर्माताहरू र सरोकारवाला निकायले वैकल्पिक अवसरहरू सिर्जना गर्न गम्भीर ध्यान दिएनन् भने देशभित्र युवाशक्ति घट्दै जाने, विदेशी मुद्रा निर्भरता बढ्दै जाने, अनि नेपाल श्रम निर्यात गर्ने मुलुकका रूपमा खराब अवस्थाबाट गुज्रनुपर्ने परिस्थिति धेरै पर छैन ।